इलाम ।अर्गानिक चिया उत्पादनमा सहयोग नभएको गुनासो बढेपछि सरकारले पहिलोपटक किसानलाई केन्द्रित गरी परियोजना सुरु गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामलाई केन्द्रित गरी चिया खेती भइरहेका जिल्लामा १७ करोड रुपैयाँ हाराहारीको परियोजना सुरु गरेको हो ।
अर्थोडक्स चियाको गुणस्तरीय उत्पादनका लागि चिया तथा कफि विकास बोर्डले ३ वर्षे परियोजना सञ्चालन शुरु गरेको छ । नेपालको चिया विश्व बजारमा स्थापित गराउनका लागि चिया खेतीमै सुधार ल्याउन किसानलाई सहयोग गर्ने गरी परियोजना चल्नेछ ।
तयारी चियामा गुणस्तर कायम राख्न उपभोक्तादेखि विक्रेता हुँदै किसानसम्मको मार्ग ‘ट्रेसिङ’ परियोजनाबाट हुनेछ । विश्वबजारमा पुगेको चिया उपभोग गर्दा कुनै कमजोरी देखिइहाले सिंगो नेपालको चिया बद्नाम हुनबाट बचाउन ट्रेसिङले काम गर्नेछ ।
गुणस्तरहिन चिया कुन व्यापारीमार्फत् त्यहाँसम्म पुगेको हो, कुन उद्योग, कुन किसानले उत्पादन गरेको हो भन्ने पत्ता लगाएर त्यसको उपचार खोज्न परियोजनाले सहयोग पुग्ने चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देसक डा बिष्णु भट्टराईले बताए ।
परियोजनाको अर्काे उद्देश्य अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने हो । नेपालको अर्गानिक चिया विश्व बजारमा प्रांगारिक उत्पादनका रूपमा स्थापित भएकाले त्यसलाई विश्वमै १ नम्बर गुणस्तरमा ल्याउनु,निरन्तरता दिन तालिम र प्राविधिक सहयोग परियोजनाबाट हुनेछ ।
किसानका लागि गुणस्तरको चिया उत्पादन गर्न मात्र नभएर अर्गानिक प्रमाणीकरण गर्न पनि उत्तिकै जटिल र महँगो छ । त्यसैले परियोजनाबाट अर्गानिक चिया उत्पादनका लागि आवश्यक सामग्री, तालिम, सचेतना, प्रोत्साहलगायत कार्यक्रम र गतिविधि सञ्चालन गर्ने चिया उद्यमी उदय चापागाईले बताए ।
परियोजनाले अर्गानिक उत्पादनमात्र नभई किसानको चिया अर्गानिक प्रमाणीकरणका लागि समेत सघाउने कार्यक्रम छ । उत्पादित अर्गानिक चियाको परिमाण–गुणस्तर दुवै बढाएर बाह्य तथा आन्तरिक बजारमा खपत बढाउने क्रियाकलाप गर्ने परियोजनाको मुख्य उदेश्य रहेको हो ।