Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

वाम गठबन्धनबाट इलाममा दुवै क्षेत्र एमालेलाई, प्रदेशमा माओवादी केन्द्रको दाबी

वाम गठबन्धनबाट इलाममा दुवै क्षेत्र एमालेलाई, प्रदेशमा माओवादी केन्द्रको दाबी

  • नमिन ढकाल
  • सोमबार, असोज ३० २०७४


वाम गठबन्धनबाट इलाममा दुवै क्षेत्र एमालेलाई, प्रदेशमा माओवादी केन्द्रको दाबी

इलाम ।  इलाममा क्रियाशील राजनितिक दलले आगामी प्रतिनिधि एवं प्रदेशसभाको लागि उम्मेदवार तय गरी नाम केन्द्रीय कार्यालयमा पठाइसकेका छन्। माओवादी केन्द्रले गठबन्धनअघि नै पार्टीबाट सबैजसो उम्मेदवार सर्वसम्मत रूपमै सिफारिस गरेको थियो। तर, भर्खरै भएको वाम गठबन्धनका कारण जिल्लामा माओवादीको भागमा कुन निर्वाचन क्षेत्र पर्छ भन्नेबारे अझै अन्योल छ।

प्रतिनिधिसभाका लागि हुने निर्वाचनमा जिल्लाका दुवै क्षेत्र एमालेलाई छाडेको माओवादीले प्रदेशसभाका ४ मध्ये २ क्षेत्रमा आफ्नो उम्मेदवार उठाउनुपर्ने दाबी गरिरहेको छ।

आफ्नो भागमा पार्ने कसरतमा छौंः माओवादी

माओवादीका जिल्ला इन्चार्ज धीरेन्द्र शर्मा रमणले प्रदेशसभाको लागि २ नं क्षेत्रको २ तथा १ नं क्षेत्रको कुनै एउटा क्षेत्रमा माओवादीको दाबी रहेको बताए। उनले भने ‘उम्मेदवारका लागि त हामीभित्र रस्साकस्सी छैन तर निर्वाचन क्षेत्र आफ्नो भागमा लिन चाहिँ निकै प्रयास गर्नु परिरहेको छ,’ उनले भने, ‘केन्द्र तहले सबै निर्वाचन क्षेत्रमा भागबन्डा मिलाउने भएकाले इलामका लागि हामीले पार्टीको माथिल्लो तहमै यसका लागि प्रयास गरेका हौं।

’ एमालेले प्रदेशमा २ क्षेत्र दिएको खण्डमा माओवादीबाट जिल्ला इन्चार्ज धीरेन्द्र शर्मा ‌‍रमण र सह इन्चार्ज कान्छा लावती प्रत्यक्षतर्फको उम्मेदवार बन्ने सम्भावना रहेको उनले सुनाए।

काँग्रेसका संभावित उम्मेदवार केन्द्रिय नेताको ढोका ढक्ढक्याउन काठमाण्डौमा

निर्वाचनमा उम्मेदवार मनोनयनको मिति नजिकिँदै जाँदा टिकट हत्याउन जिल्लाका नेता–कार्यकर्ताले केन्द्रीय तहका नेताको ढोका ढकढक्याउन काठमाडौं नै पुगेका छन् भने कतिपय उम्मेदवार केन्द्रीय नेताहरुलाई बारम्वार फोन गरिरहेका छन । जिल्लामा आफ्नो पार्टीबाट उम्मेदवारको सिफारिसमा परेका कांग्रेसका सबैजसो आकांक्षी अहिले काठमाडौंमा छन् ।पार्टीले कार्यकर्ताको जनआधार, पार्टीमा सक्रियता र आवश्यकता हेरेरै टिकट दिने भए पनि आफ्नो वास्तविकता ठूला नेतालाई प्रत्यक्ष सुनाउन पाए हुन्थ्यो भन्ने लागेर उनीहरू काठमाडौं पुगेका हुन् ।

दलहरूका जिल्ला तहले माथिल्लो तहमा उम्मेदवार सिफारिस गर्दा सहमति हुन नसकेपछि सामान्य प्रक्रियाबाट नाम छनोट गरेका थिए । ३ उम्मेदवारको नाम पठाउनुपर्ने ठाउँमा ७ जनाभन्दा बढी आकांक्षी देखिएपछि दलहरूले जिल्लाबाट ती नाम जस्ताको तस्तै माथिल्लो स्तरको समितिसम्म पठाए ।

कांग्रेसले प्रतिनिधिसभाका लागि इलाम क्षेत्र १ र २ बाट बेनुपराज प्रसाईं, केशव थापा र भेषराज आचार्यको नाम केन्द्रिय समितीमा पठाएको छ । कांग्रेसले प्रदेशसभाका लागि क्षेत्र १ को १ बाट हुकुमलाल थेबे, मिलन क्षेत्री र विक्रम पाण्डे, १ को २ बाट दुर्गा बराल, हेमकुमार कार्की लगायतको नाम सिफारिस गरेको छ । कार्की स्थानीय तह निर्वाचनमा माई नगरपालिकाको मेयरमा एमालेका दीपक थेबेसँग पराजित भएका थिए । कांग्रेसको इलाम क्षेत्र १ को क्षेत्रीय सभापति बरालले स्थानीय तह निर्वाचनमा सूर्याेदय नगरपालिकाको मेयरमा अन्तिम समयमा टिकट नपाएपछि १५ सदस्यसहित पदबाट राजीनामा गरेका थिए ।

कांग्रेसले प्रदेशसभाका लागि क्षेत्र २ को १ बाट डम्बर खड्का, केदार थापा, गोविन्द गिरी, राजेन्द्र शर्मा र पूर्णप्रसाद गौतम तथा क्षेत्र २ को २ बाट खगेन्द्र देवान र नगेन्द्र कुमालको नाम सिफारिस गरेको छ । कुमाल २०६४ को निर्वाचनपछि समानुपातिकतर्फको सभासद् थिए । गौतम नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष हुन् ।

शर्मा र देवान पार्टीका जिल्ला सचिव हुन् भने गिरी क्षेत्र २ को क्षेत्रीय सभापति । खड्का पार्टीको पछिल्लो जिल्ला अधिवेशनमा सभापतिमा पराजित उम्मेदवार हुन । जिल्लामा आफ्नो पार्टीबाट उम्मेदवारको सिफारिसमा परेका कांग्रेसका सबैजसो आकांक्षी अहिले काठमाडौंमै छन् ।

उनीहरूले पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलदेखि इलामका अगुवा नेता कुलबहादुर गुरुङसम्मलाई भेटेर आफ्ना लागि ‘लबिङ’ गरिरहेका छन् । आउँदो निर्वाचनमा जिल्लाको क्षेत्र १ र २ दुवैबाट  प्रतिनिधिसभातर्फ उम्मेदवारको सिफारिसमा परेका नेतात्रय केशव थापा, बेनुपराज प्रसाईं र भेषराज आचार्य पनि केही दिनयता काठमाडौंमै छन् ।

एमालेबाट प्रदेश सभाका आकांक्षी फोनबाटै  लविङ गर्दै

एमालेका उम्मेदवारका आकांक्षी भने काठमाडौं गएका छैनन् । तर, उनीहरूले जिल्लाबाटै आफू निकट प्रदेश र केन्द्रीय नेतालाई तारन्तार सम्पर्क गरी ‘टिकट मिलाइदिन’ आग्रह गरिरहेको स्रोतले जनाएको छ । एमालेमा उम्मेदवारका आकांक्षीले प्रदेश कमिटीदेखि केन्द्रीय कमिटीका नेता समेतलाई सम्पर्क गरिरहेको स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र १ मा झलनाथ खनाल र क्षेत्र २ मा सुवासचन्द्र नेम्बाङको नाम सर्वसम्मत छ । एमालेबाट सिफारिसमा परेका खनाल र नेम्वाङलाई माओवादी केन्द्रले समेत सर्मथन गरेको छ । क्षेत्र १ को २ मा काजीमान कागते र क्षेत्र २ को १ मा रामबहादुर रानाको नाम पनि सर्वसम्मत भइसकेको छ । अन्य क्षेत्रका उम्मेदवार जिल्लाबाटै टिकटका लागि लबिङमा छन् ।

एमालेले निर्वाचन क्षेत्र नम्बर १ को १ मा सात जनाको नाममा भक्त केशी, उमेश गुरुङ, कृष्ण श्रेष्ठ, खिनु लङवा, सिखरनाथ सापकोटा, जेवी लुङगेली  र याम अधिकारीलाई सिफारिस गरेको छ ।क्षेत्रीय स्तरमा उम्मेद्वार छनोटका लागि भएको मतदानमा मतपत्र च्याताच्यात भएपछि न्यायिक कमिटीमा परेको उजुरीलाई ध्यानमा राख्दै सबै आकांक्षीको नाम प्रदेशमा पठाएको एमालेले जनाएको छ ।

क्षेत्र नम्बर २ को २ का लागि ओमनारायण खनाल, जयप्रकाश राई र रिप्पल राईको नाम सिफारीस गरेको प्रचार विभाग प्रमुख उमेश गुरुङले बताए । एमालेले समानुपातीकमा १३ जनाको नाम सिफारिस गरेको छ । ‘काठमाडौं गए वा नगए पनि पार्टीले सिफारिसमा परेका उम्मेदवारको योग्यता, क्षमता, दक्षता, जनआधारलगायतलाई नै आधार बनाएर टिकट दिने हो,’ एमाले प्रचार विभाग प्रमुख गुरुङले भने, ‘टिकटकै लागि काठमाडौं धाउनुपर्छ भन्ने छैन, पार्टीले जे निर्णय गर्छ न्यायपूर्ण ढंगले नै गर्छ भन्ने लाग्छ ।’

गठबन्धनअघि सिफारिस गरेका उम्मेदवार प्रदेशमा उठाउने माओवादीको तयारी

माओवादी केन्द्रले वाम गठबन्धन हुनुअघि नै आफ्ना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको थियो। प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ को उम्मेदवारमा पार्टीका जिल्ला इन्चार्ज धीरेन शर्मा रमण र क्षेत्र २ मा सहइन्चार्ज कान्छा लावतीको नाम तय गरे पनि गठबन्धन भएपछि प्रतिनिधिसभाका उम्मेदवारलाई प्रदेशमा उठाउने तयारी गरिरहेको छ।

प्रदेशसभामा क्षेत्र १ को १ मा तेजबहादुर राई ( विजय) र १ को २ मा श्रीमान् राई ( पवन) को नाम छानेको छ। क्षेत्र २ को १ मा लक्ष्मण राई ( जनम ) र २ को २ मा अनिल बराइलीलाई उम्मेदवार छानिएको थियो। माओवादीले प्रतिनिधिसभाको समानुपातिकतर्फ टीका घिमिरे र सोममाया राई ( सिन्धु)  तथा प्रदेशको समानुपातिकमा राम राई, उर्मिला तामाङ, किरण सुनुवार, ओमबहादुर गुरुङ, शान्ता बस्नेत, प्रेम नाछिरिङ र पवन शंकरलाई उम्मेदवार छानेको जिल्ला इन्चार्ज शर्माले बताए।

जिल्ला इन्चार्ज रमण ०७० को निर्वाचनमा क्षेत्र ३ बाट तेस्रो स्थानमा पराजित थिए। क्षेत्र २ बाट उम्मेदवार बन्ने कान्छा लावती पनि ०६४ सालमा त्यही क्षेत्रबाट तेस्रो मत ल्याएर पराजित थिए। केन्द्रले समानुपातिकतर्फको उम्मेदवार बनाउने निधो गरेकी सोममाया राई २०६४ सालको निर्वाचनमा क्षेत्र ३ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा तेस्रो मत ल्याएर पराजित भइन्।

उनी गत असार १४ को स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्षमा पनि पराजित भएकी थिइन्। आउँदो निर्वाचनमा उम्मेदवार बन्न लागेका उम्मेदवार गत स्थानीय तह निर्वाचनमा पराजित भएका थिए। केन्द्रका राम राई देउमाई नगरपालिकाको प्रमुख पदमा र प्रेम नाछिरिङ सन्दकपुर गाउँपालिका अध्यक्षमा पराजित भएका उम्मेदवार हुन्।

यस्तो थियो इलाममा २०७० को निर्वाचन परिणाम

२०५१ सालको मध्यावधी चुनाव अघि २ वटा निर्वाचन क्षेत्र रहेको इलाममा २०५६ सालबाट ३ वटा निर्वाचन क्षेत्र बनाइएको थियो । स्थानिय तहको पुनः संरचनापछि हाल प्रतिनिधी सभाको निर्वाचनमा इलामलाई २ वटा र प्रदेश सभाको लागी ४ वटा क्षेत्र निर्धारण गरिएको छ ।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचन र २०७० को दोश्रो संविधानसभाको निर्वाचनमा  इलामबाट ३ मध्ये २ क्षेत्रमा एमालेले बिजय हासिल गरेको थियो । क्षेत्र नं १ बाट पुर्व प्रधानमन्त्री झलनाथ खनाल र क्षेत्र नं २ बाट पुर्वसभामुख सुवासचन्द्र नेम्वाङले दुवै निर्वाचन क्षेत्रबाट बिजय हासिल गरेका थिए भने क्षेत्र नं ३ मा क्रमश नेपाली काँग्रेसका कुलबहादुर गुरुङ र केशव थापाले बिजय हासिल गरेका थिए ।

२०७० को चुनावमा खनालले नेपाली काँग्रसका सभापती हिमालय कर्मचार्यलाई १८१८ मतले  पराजित गरेका थिए । खनालले १७३४२ र कर्मचार्यले १५५२७ मत प्राप्त  गरेका थिए । त्यसै गरी माओवादीका युवकुमार पौडेल ४४२० मत प्राप्त गर्दै चौथो स्थानमा रहे ।

क्षेत्र नं २ मा २०५१ देखी नै अपराजित रहँदै आएका पुर्वसभामुख सुवासचन्द्र नेम्वाङले नेपाली कांग्रेसका भेषराज आर्चायलाई २१०२ मतले पराजित गरेका थिए । नेम्वाङले १४९३० र आर्चायले १२८२८ मत प्राप्त गरेका थिए भने माओवादीका रमेश लिङदेनले ४६४८ मत प्राप्त गरेका थिए ।

कांग्रेसको गढ मानिएको क्षेत्र नं ३ मा केशव थापाले एमालेका टेकबहादु राईलाई २१६३ मतान्तरले पराजित गरेका थिए ।  थापाले १५८६८ र राईले १३७०५ मत प्राप्त गरेका थिए भने माओवादीका इन्र्चाज धिरेन्द्र शर्मा रमणले ३७४५ मत प्राप्त गरेका थिए ।

स्थानिय तहको नतिजाले बाम गठवन्धन बलियो 

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्लाका ४८ गाउँ विकास समिति र १ नगरपालिकामध्ये एमालेले १ नगरपालिकासहित ४५ गाविसमा कब्जा जमाएको थियो । गत असार १४ सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका १० स्थानीय तहमध्ये एमालेले ७ मा प्रमुख र ९ वटामा उपप्रमुख जितेको छ ।

कांग्रेसले ३ स्थानीय तहमा प्रमुख र एउटामा उपप्रमुखमै चित्त बुझायो जिल्लाका ८१ वडामध्ये ४४ वटामा एमालेको प्यानल, १६ वटामा कांग्रेसको प्यानल, एउटा–एउटामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल विजयी भएका छन् । बाँकी १९ वडामध्ये एमालेका ३, कांग्रेस १४ र माओवादीका १ वडाध्यक्ष विजयी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार