Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मेरो पाठकीय दृष्टिमा कवि मातृकाप्रसाद दाहाल

मेरो पाठकीय दृष्टिमा कवि मातृकाप्रसाद दाहाल

  • नुरज भट्टराई ‘नदी’
  • शनिबार, मंसिर ६ २०७७


मेरो पाठकीय दृष्टिमा कवि मातृकाप्रसाद दाहाल

समाज र मानवीय सम्बन्ध गाँस्न जाने फूलैफूलमा जीउन सकिन्छ नजाने पाइलैपिच्छे काँडैकाँडाको सङ्घर्षमा पनि जीउन पर्ने हुन्छ । त्यै समाजभित्र बस्ने तथाकथित उच्च भनिएका मान्छे जसको अर्को जात नै मान्छे हो अर्थात नारी र पुरुष । सृष्टिको प्रमुख नारी उही नारीको एक पाटा पुरुष । पुरुषको अर्धाङ्गिनी नभएर पूणाङ्गिनीको रूपमा नारी । यी दुवैको सम्युक्त राज्यसत्ताबाट जन्मने कुनै पुरुष वा नारीको सृजनशील चर्चा नै वेग्लै छ यो संसारमा। संसारमा मान्छेको आफन्त भनेको वीर्य र त्यसैको चलायमान रूप यो शरीरलाई मानिन्छ ।

यो पञ्चभौतिक शरीरभित्रको भावना नै महान् शक्तिशाली भविश्य हो जसको भावना (अन्तर्वस्तु मथेर सृजना जन्माउन सक्ने खूवी ) छैन उसको केवल जीवन निर्वाहको निम्ति एउटा शरीर र आत्माको संयोजन मात्र हुन्छ । उसको शरीरमा जीजिविषास्वरूपको तत्व छैनभने ऊ सतही मान्छे मात्र बाँचिरहेका हुन्छन् । जस्तो तपाईँ हामी बाँचिरहेका छौँ । भावनाको प्रभाती किरण नै चेतन र अचेतन मन हो । जीवनको विहानी खण्डमा जस्तो उज्यालो छरियो त्यस्तै जीवनको मध्य र अन्तिम भागमा पनि त्यसैअनुसारको फल प्राप्त गर्न सकिन्छ त्यो भावनात्मक जीवनमा । एउटा व्यक्तिको भावना पारिवारिक संस्कार भन्दापनि प्रमुख रहन्छ वा संस्कारअनुसारको बानी र सोही अनुसारको वैयक्तिक चेतना हुर्किएको हुन्छ । भावनाकै केन्द्रीयतामा मान्छे अमर मृत्युवरण गर्दछन्।

जसरी होमर , वर्डथस्थ ,मार्क्स , लेनिन एरिस्टोटल ,सोग्रेट्स रूसो , चाल्स डार्विन , कार्ल हेनरिच मार्क्स , सेली , किट्स् , तैगोर , ग्यालिलियो ग्यालिलि ,आनन्दवर्धन , वामन , सेक्सपियर , मेक्सिम गोर्की र नेपाली सृजनाक्षेत्रका सबै किसिमका सबै स्रष्टा र द्रष्टाहरू यही कित्तामा पर्दछन्। यिनै स्रष्टाहरूको हरियो ममता , सद्भाव , प्रेरणा , ऊर्जा र मौलिक चेतनाको छिटाले सिँन्ञ्चित सञ्जीवनी हामीभित्र पनि केही न केही रहेका छन् । मान्छेसँग स्वाभिमान र अस्तित्व छैनभने सम्बन्धहरू पनि टुट्छन्। सम्बन्धसँग बौद्धिक चेतना छभने ऊ कलात्मक बाच्न सक्छ। त्यो बचाइ नै एउटा सृजना हो । सृजनाको मुहान नै मानवीय अस्तित्वको शुरु र अन्तिम हो ।

म त्यही स्रष्टाहरूको सृजनशील भ्रुण सङ्कलन गरिरहेको छु जसले आजभोलि वेर्ना अवस्थाभन्दा माथि र जवानीउन्मुख अवस्थामै सृजनाको बारे जानून् र सृजना निर्माण वा रच्न सकून् । हुन त सृजनालाई कुनैपनि उमेरको सीमाले छेक्दैन , न त भूगोल र जातधर्मले नै छेक्न सक्छ। आज म उपर्युक्त महान् व्यक्तित्वहरू सृजनशील भएर भएका सृजनशील चरित्रसँग जोडिएका सृजनशील स्रष्टाहरूको खोजी र केही चर्चा गर्न लागिरहेको छु । यस पटक मैले एक जना यस्ता व्यक्तिको परिचय गराउन गइरहेको छु उनी हुन् कवि मातृकाप्रसाद शर्मा दाहाल
साविक फिक्कल गाविस वार्ड नं -२ , हाल सूर्योदय नगरपालिका-८, मा मातापिता अनुदेवी तथा टङ्कनाथ दाहालका पाँचौँ पुत्ररत्नको रूपमा विसं २०४२ सालमा जन्मेका हुन् कवि मातृकाप्रसाद दाहाल । त्यस बेलाको सरकारी विद्यालयको प्रावधानअनुसार अक्षरारम्भका निम्ति बालबालिकाहरू ठीक ६ वर्षमा मात्र भर्नायोग्य ठहरिने भएकाले विसं २०४८ सालमा हालको फिक्कल नमूना विद्यालयमा कक्षा एकमा भर्ना भएको देखिन्छ । सानै उमेरदेखि मेधावी स्वभावका स्रष्टा दाहाललाई पढाइ अघि बढाउने क्रममा खासै मानसिक रूपमा बाधाअड्चन आएको देखिँदैन।

फलस्वरूप विसं २०५८ सालमा सोही विद्यालयबाट दोस्रो स्थानमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन् भने उच्च शिक्षाको निम्ति सोही साल श्री महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा भर्ना भई वि। सं २०६४ सालमा अर्थशास्त्र विषयमा स्नातक पनि पूरा गरेका हुन् । यसै समयमा अध्ययनरत हुँदा वि। सं २०६१ सालमा करीब एक वर्ष फिक्कल माध्यमिक विद्यालयमा अध्यापनसमेत गर्न भ्याए । उता केही समयपछि सन् २०१५ मा त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका छन्।

पढेपछि जागीर खानुपर्छ भन्ने मानसिकता सबैको हुन्छ नै त्यसमा पनि बौद्धिक चेतनाका कवि दाहालले अनवरत सङ्घर्षको पहिलो खुड्किलो मै शिक्षा सेवा आयोग पास गरी सफलता हात पारे फलस्वरूप वि।सं २०७१ साल साउन २६ गते माध्यमिक तहको सामाजिक विषयको स्थायी नियुक्ति पाई प्रथम पटक माईजोगमाई गा पा अन्तर्गत अमरकल्याण मा। वि। नयाँबजारमा सेवारत भई हाल सूनपा-२ , बौद्धधाम मावि पशुपतिनगरमा कार्यरत पेशाले मूलतः एक कुशल शिक्षक र सृजनाले कवि हुन् ( विशेष गद्यकवि ) हुन त दाहालका चासोको विषय नेपाली राजनीति पनि हो ।

यथार्थमा देश नपढी सृजनशील बन्न गाह्रो छ वा सकिन्न यो पंक्तिकारको पनि मूल सिद्धान्त यही नै रहेको छ । प्रत्येक कवितामा देश बोल्नुपर्छ प्रत्येक सृजनाले सार्वभौमसत्ता सम्पन्न मुलुकको कल्पना गर्नुपर्छ । अबको समयमा सृजनाबाट पनि देश परिवर्तनको दिशातिर लान सकिन्छ भन्ने आधारहरू धेरै छन् भन्ने लाग्छ । स्रष्टा दाहालका सक्रियता विशेषतः दुईवटा कित्तामा रहेको देखिन्छ- साहित्यमा कविता र राजनीतिमा बामपन्थी धार । करीब २०५८ सालदेखि बामपन्थी विद्यार्थी आन्दोलनमा होमिएका दाहाल २०६५ देखि ०७१ सम्म एकीकृत नेकपा माओवादीको जिल्ला संगठनमा रहेर पूर्णकालीन कार्य गरेको देखिन्छ।

राजनीति भनेको नौनी घिउ होइन , न त सुन्दर र सदाबहार गुलाफ हो न आकाशमा उडेको स्वतन्त्र सिमलको भुवा नै हो । यसमा त हृदयको बन्धकी हुन्छ , स्वाभिमानको जोखिम , आत्मनिर्णयमा स्वास हुन्छ , वीरताको ऊर्जा , सङ्घर्षको पहाडी चट्टान र माटोको कसम साथै जनभावनाको जिम्मा जस्ता कर्तव्य र दायित्वोध बग्रेल्ती पार गर्नुपर्छ । राजनीतिमा लागेर आन्दोलनमा समेत सहभागी भएकै कारण प्रहरी प्रशासनद्वारा पटकपटक गिरफ्तारी भोग्ने क्रममा वि सं २०६१ साल तत्कालीन साही नेपाली सेनाद्वारा गिरफ्तार भई चर्को मानसिक र शारीरिक यातनासमेत भोगेका छन् ।

  वर्तमान समयमा अध्यापनसँगै साहित्य लेखन ,पूर्वीय दर्शनको अध्ययन र राजनीतिक कृयाकलापमा सक्रिय छन्।  यसै सन्दर्भमा सृजनामा कवि दाहाल एक शसक्त कवि हुन् । समसामयिक विषयवस्तुदेखि लिएर समसामयिकभित्र पनि युगीन चेतनाका मूल धार हुन्। साहित्यमा पहिचानवादी लेखन परम्पराबाट प्रभावित कवि दाहाल मूलतः फ्रायणवादी यौनमनोविज्ञान चिन्तन परम्पराका नेपाली साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले शुरु गरेको सिर्जनशील अराजकतावादी धारमा पछिल्लो समयको प्रतिनिधि स्रष्टा मदन पुरस्कार विजेता ‘दमिनी भिर ‘ का सर्जक राजन मुकारुङ र हाङयुग अज्ञातका अनुयायी हुन् कवि दाहाल ।

मानवीय चौतर्फी पहिचानको वकालत गर्दै साहित्यको कोमल र सुललित पद(पदावलीहरूको तिरस्कार गर्दै जटिल , क्लिष्ट र दुर्बोध्य लाग्ने किसिमका शब्दको संयोजन गरी सङ्घर्षको शङ्खघोष गर्ने उद्देश्यले लेखिएका समग्र भाव सङ्कलन हुने गरी अभिव्यक्त भएको रचनाहरू कविताको रूपमा यो धारमा पर्दछन् । लामा र क्लिष्ट लाग्ने दाहालका कविता प्रयोगवादी धारकै कुनै ठिमाहा संरचना हुन् भने नारी अस्मिताप्रतिको आवाज , अन्याय अत्याचारप्रतिको विरोध , जातीय समानताका पक्षधर , घुषखोरी र लुटतन्त्रको विरोध, मानवतावादी आचारसहिंताको पालना , राष्ट्रिय चेतनाका बिम्ब , मजदूरप्रतिको सहारा आदि दाहालका कवितामा पाइने विशेषताहरू हुन्।

व्यक्तिमा भाषा , धर्म , संस्कृति, परम्परा र कला तथा सीप आदिको नैसर्गिक चेतनामा ऊर्जास्वरूप सम्मान सबैलाई बराबर हुनुपर्छ राज्यसत्ताबाट । सबैले बराबर इज्जत पाउनुपर्छ भन्नको निम्ति पहिचानको मुद्धालाई अगाडि सारिएको र यसको उत्थानमा ल्याइएका सोझा औलारूपी शब्दहरूले पनि सम्बन्धित निकायको ध्यान नगए औला बाङ्गो बनाउन सकिने एउटा जटिल हठको रूपमा सृजनामा सृजनशील अराजकताको धार प्रयोग गरिएको देखिन्छ । यो समयको माग र राज्यसत्ताको एकोहोरो दमन र पेलानलाई परास्त गर्न पनि प्रयोग भई आएको देखिन्छ।

दाहालका कविता शब्दभण्डारको छिमेकीसमेत नहुनेलाई चाम्रो अवश्य लाग्छन् त्यसमा पनि केही लामा लाग्नु पाठकीय बानी कम हुनेलाई महाभारत नै पनि हुन्छ । कविता पढेर अर्थ वा भाव खोज्न भन्दा फलाम तातिएकै बेला कुट्ने इच्छा भएकाहरूले कविताको भावलाई आकार देलान् नत्र विरालो हेरेको उखान चरितार्थ हुन्छन् । त्यसैपनि हामी प्रयोगवादी कविता पढेर मोहन कोइराला बुझ्न नसकेकाहरूलाई अलिअलि तर्साउला नै दाहालका कविताले तर कमसेकम नेपाली बृहत् शब्दकोषसम्म पुगेर केही ज्ञान बटुल्न सकेका खण्डमा कविताहरू अत्यन्तै गहिरा भाव भएका र चोटिला तथा माझिएका शब्दहरूको विन्यासमा भेटिन्छन्।

कवितामा कतै आक्रोस , कतै पीडा , द्वन्द्व , व्यभिचार , गरीबी कुण्ठा आदि भेटिने हुँदा कला पक्षभन्दा विचार पक्ष उच्च देखिन्छन्। अझ सहज भावना र कोमल, कल्पनाको उपस्थितिलाई कम स्थान दिइएकाले रीसको बेला ब्राम्हणले वेद नपढ्ने कुराको प्रमाण प्रशस्तै भेटिन्छन्। यस्ता कविताहरूमा बिम्ब , प्रतीक र सूक्तिहरूको प्रभाव कम नै हुनेगर्छ किनकि विचार पक्ष नै यस्तो हतियार हो जसलाई प्रयोग गर्न कुनै जलपले सिँगार्नुपर्दैन।

पुस्तककाकारका रूपमा यहाँभन्दा अगाडि यस्ता कविताहरूले एक ठाउँमा जम्मा हुने अवसर नपाएपनि अब छिट्टै नै एउटा कवितासङ्ग्रह प्रकाशनको तयारीमा रहेको कवि दाहालबाट छ बुझिएको छ। वि सं २०५८ सालमा अन्तरविद्यालयस्तरीय कविता प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरेपछि स्रष्टा दाहाल कविताका ऊर्जा बोकेर शब्दहरूमा खेल्न थाले फलस्वरूप हालसम्म करीब दर्जनौँ फुट्कर कविताहरू विभिन्न साहित्यिक पत्रपत्रिकामार्फत प्रकाशन गर्न सफल भए भने करीब चार दर्जन कविताहरू त विभिन्न अनलाइनमा पनि प्रकाशन भएका छन्।

अन्त्यमा , स्रष्टा मातृकाप्रसाद दाहाल एक युवा सृजनशील स्रष्टा हुन्। भूगोलको हिसाबले इलामको सूर्योदय नगरपालिकाअन्तर्गत वार्ड नं-८ , निवासी हुन् । अहिलेको जल्दोबल्दो समयमा सृजना जन्माउन सेलिब्रेटी प्राध्यापक र युनिभर्सिटिको सर्टिफिकेट चाहिँदैन केवल अध्ययन क्षेत्र व्यापक हुन जरुरी छ। यसको मतलब पढ्नै पर्दैन भन्ने मेरो आशय होइन। त्यसो त नपढी कविताको नाममा अकविता लेख्नेहरू पनि बग्रेल्ती छन् यो समाजमा र यस्ता व्यक्तिहरूलाई पनि म उच्च सम्मान गर्छु किनकि साधना जारी रहे एक दिन कविताले मालिक अवश्य चिनाउनेछ ।

समाज र सृजना पढ्न उपर्युक्त सामग्रीहरू कम भएपनि स्व अध्ययन कसैको बाउको पेवा होइन । औपचारिक शिक्षा धेरै पढ्नैपर्दैन किनकि हामीले पी एच डी गरेर पनि साहित्यमा हृदयचन्द्रसिँह प्रधान , गोविन्द मल्ल गोठाले , भीमनिधि तिवारी , गुरुप्रसाद मैनाली जस्ता स्रष्टाको कृतिको मर्मभन्दा माथि जानै सकेका छैनौँ बरु बुर्जुवा शिक्षा भन्छौँ । किन आज पनि तिनै स्रष्टाका कृतिहरू पाठ्यक्रममा पढिरहनु पर्याहोला भन्ने अनुसन्धान नै गरेका छैनौँ । तर कवि दाहाल भने धेरै पक्षमा अगाडि देखिन्छन् ।

त्यसमा पनि पढाइको तह , पाठकीय कलाकौशल, विश्लेषणात्मक चेतना , शब्दभण्डारको ज्ञान , प्रश्तुति आदिका दृष्टिले अबको भविश्य अत्यन्तै ऊर्जाशील र सृजनशील देखिन्छ। स्रष्टा दाहालका कविता सबैले एक पटक पढ्न जरुरी पनि देखिन्छ। कविताको चुरो समग्रमा भेटिए पनि कविता पढ्दै जाँदा एउटा तत्वबोध अवश्य प्राप्त हुन्छ नै । स्रष्टा दाहालका कृति चाँडै पढ्न पाइयोस् बाँकी सृजनशील यात्रा सफल रहोस् शुभकामना । जय साहित्य ।

प्रतिक्रिया
सम्बन्धित समाचार