काठमाडौं । स्वास्थ्य सचिव किरण रेग्मीले डा।गोविन्द केसीको अनसन केही बढेमा उनी अपाङ्ग हुनसक्ने बताइन् ।
मन्त्रालयले बिहीबार शिक्षण अस्पतालका निर्देशकलाई बोलाएर केसीको अवस्थाको बारेमा रिपोर्ट अध्ययन गरेपछि रेग्मीले संसद्को महिला बालबालिका, , जेष्ठ नागरिक र समाजकल्याण समितिको बैठकमा जानकारी गराएकी थिइन् ।
‘हामीले केसीको अवस्थाको बारेमा रिर्पोटिङ लियौ,’ बैठकमा उनले भनिन, ‘रिपोर्ट हेर्दा चिन्ताजनक लाग्यो ।’ मुटुको धड्कन ७० देखि ८० हुनुपर्नेमा २ सय भन्दा बढी रहेको, किड्नीमा समस्या देखिएको उनले समितिलाई जानकारी गराइन् ।
‘रगतको तत्वहरु मध्ये धेरै हुनुपर्ने तत्व थोरै भएको र थोरै हुनुपर्ने तत्व धेरै छ,’ उनले भनिन, ‘कुनै पनि बेला जेपनि हुनसक्छ ।’
केसीलाई एन्टिबायोटिक दिनुपर्ने भएपनि केसीले खान नमानेको उनले समितिलाई जानकारी गराइन् । अनसनरत केसीको जीवन रक्षाको लागि पहल गर्नुपर्ने उनले बताइन् ।
‘केसी अझैं केही दिन अनसन बसे उनी अपाङ्ग हुनसक्छन्’, रेग्मीले भनिन् । स्वास्थ्य सचिव रेग्मीले यस्तो जानकारी गराएपछि बैठकमा सहभागीहरु केहीबेर स्तब्ध भए ।
केसीले चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्नेलगायत माग राखेर अनसन बसेका छन् । विधेयकमाथि परेको संशोधनमा सहमति जुटाउन कार्यदलले बिहीबार समितिको पूर्ण बैठकमा पेश गरेपनि सहमती जुट्न सकेन ।
कांग्रेस र माओबादीका सांसदले प्रतिवेदन अध्ययन गर्न समय माग गरेपछि पारित हुन नसकेको हो । एमाले सांसदहरुले भने बिहीबार नै पारित गरेर शुक्रबार संसदमा पठाउनु पर्ने प्रस्ताव गरेका थिए । समितिको शुक्रबार बिहान आठ बजे बस्ने बैठकले टुङ्ग्याउने सभापति रञ्जु झाले बताइन् ।