इलाम, –पशुपालन ब्यवसायमा अग्रणी रहेको इलाममा बार्षिक १० अर्व रुपैयाँ भन्दा बढीको पशुजन्य उत्पादन हुने गरेको छ ।
जिल्ला पशु सेवा कार्यालय इलामको तथ्याङ्ककले सबैभन्दा बढी दूध र दूधजन्य बस्तुको उत्पादन हुने गरेको देखाउँछ । गत आर्थिक बर्षमा इलाममा चार अर्ब ७० करोड ६१ लाख रुपैयाँ बरावरको दूध उत्पादन भएको थियो । इलाममा गाई, भैंसी र चौरीको गरेर बार्षिक १ लाख २१ हजार ५ सय ६२ मेट्रिक टन दूध उत्पादन भएको छ । गत आथिर्क बर्षमा जिल्लामा १ लाख २३ हजार ७ सय ४० मेट्रिक टन दुध उत्पादन भएको हो । गत बर्षको उत्पादन आर्थिक वर्ष ०७२÷७३ को तुलनामा २ हजार १ सय ३८ मेट्रिक टनले बढी हो ।
जिल्लामा उत्पादन भएकोमध्ये ३६ हजार पाँच सय मेट्रिक टन मात्रै दूध जिल्ला बाहिर निकासी भएको छ । केहि दूध जिल्लाको आन्तरिक बजारमा खपत हुन्छ भने यातायातको पहुँच नपुगेको ठाउँमा उत्पादन भएको दूधले बजार पाउन सकेको छैन । धेरै दूध उत्पादन हुने क्षेत्रमा यातायात सञ्जाल विस्तार भइरहेको छ ।
दूधपछि चार अर्ब रुपैयाँ भन्दा बढीको मासु उत्पादन हुने कार्यालयले जनाएको छ । यहाँ खसी, राँगा, बंगुर, कुखुरा मासु उत्पादनका लागि पालिने गरेको छ जसबाट ९ हजार ७ सय ४७ मेट्रिक टन मासु उत्पादन हुने गरेको पशु सेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले बताए । एक वर्षमा इलाममा चार अर्ब ३८ करोड ६४ लाख रुपैयाँको मासुको कारोबार हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।
८५ करोड रुपैयाँ भन्दा बढीको दूधजन्य परिकारको कारोबार हुन्छ । चिज, घ्यू, छुर्पी, ललिपप र पनिर गरेर बार्षिक १७ लाख १३ हजार ५ सय किलो दूधजन्य परिकारको उत्पादन हुन्छ । सरदर ५ सय रुपैयाको दरले ८५ करोड, ६७ लाख ५० हजार बराबरको दूधजन्य परिकारको कारोबार हुने गरेको कार्कीले बताए । इलाममा ६ करोड ६८ लाख १९ हजार रुपैया बरावरको अन्डा उत्पादन भएको छ ।
अघिल्लो आर्थिक बर्षमा इलाममा साढे आठ अर्वको मात्र पशुजन्य उत्पादन भएको थियो । उत्पादन भएकोमध्ये कति पशुजन्य उपज जिल्ला बाहिर निर्यात हुन्छ भन्ने यकिन तथ्याङ्क जिल्ला पशु सेवा कार्यालयसँग पनि छैन ।