इलाम । इलाम नगरपालिकाको केन्द्र मानिएको वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठले निर्वाचन अघिको प्रतिबद्धता दोहो¥याएका छन् । वडा कार्यालयको उद्घाटन र पदबहाली कार्यक्रममा बोल्दै श्रेष्ठले विकास निर्माण र सुसासनका विषयमा आफुले गरेको प्रतिबद्धता पुरा गर्ने अवसर पाएकोले त्यसलाई प्रमाणित गर्ने समय आएको बताए ।
उनले भने, ‘कामलाई मुर्तरुप दिन मलाई सबैले सहयोग गरिदिनुस्, बाटो विराएछु भने खबरदारी पनि गरिदिनुस् ।’ बुधबार विहान वडा कार्यालय नविन प्रगति प्राविको भवनमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख महेश बस्नेतले रिबन काटेर वडा कार्यालयको उद्घाटन गरे ।
अध्यक्ष नरेश श्रेष्ठ, सदस्यहरु बसन्ती घतानी, केशब खत्री र सन्जिव राईले पदबहाली गरे लगत्तै नगर अध्यक्ष बस्नेतले अविर, खदा र माला लगाएर बधाई ज्ञान गरेका थिए । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका जीवन शर्माले विजयीलाई बधाई ज्ञापन गरेका थिए । मन्तव्यका क्रममा पूर्व उपमेयर तथा एमालेका प्रतिनिधि कृष्ण श्रेष्ठले बिजयीहरुको प्रमुख प्रतिपक्षको भुमिका निभाउन विजयी उम्मेद्वारकै पार्टीलाई अनुरोध गर्दै अन्य पार्टीले त्यसपछिको भुमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपाली काङ्ग्रेसका सभापति हिमालय कर्मचार्यले विजयीहरुलाई बधाई ज्ञापन गर्दै यो विजय लोकतन्त्रको भएको बताए । चुनाव सम्पन्न भएपछि सबैजना एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा प्रमुख अतिथि महेश बस्नेतले जनताले दिएको म्याण्डेटलाई जिम्मेवार भएर पुरा गर्न पदाधिकारीहरुलाई अनुरोध गरे । कार्यक्रममा वडा नं. ७ का विजयी महिला सदस्य इन्दिरा पौडेल (राई) भने अनुपस्थित रहिन् ।