लड्दैथ्यो कलिलो मुटु पनि कठै आमा थिइन् बेडमा
भन्छन् बालक दर्दले अझ कठै बाँचिन्न रे नी मुमा
बोल्दैनौ भगवान हे भन तिमी यस्तो यहाँ के भयो
कस्तो दण्ड दियौ छ बालक पनि खै दोष के नै थियो
!! १ !!
सारा वृद्ध बुबा मुमा पनि अहो मार्दैछ यो रोगले
प्यारा ती चिचिला भुरा त टुहुरा पार्दैछ यो रोगले
आगो बल्दछ दन्दनी किन जतै सल्केर यै रोगको
खोलो बग्दछ लौ जतै किन अहो पीडा र त्यो शोकको
!! २ !!
के लेखौँ अब हे म आज कसरी देखेर यो शोकमा
बिन्ती यै भगवान हे मनुजको हाँसो रहोस् ओठमा
देखेरै मन यो सिरिङ्ग अझै त्यो रोएको बालक
सारा यो जगतै भरी पनि अहो त्यै रोगको त्रास छ
!! ३ !!
छैनन् रे उपचार क्यै पनि कतै मर्दैछ त्यो जिन्दगी
भक्कानिन्छ मुटु कयौँ अब जतै कस्तो चल्यो हुन्दरी
जोड्दै यी करले सु स्वच्छ मनले गर्नै छ यै प्राथना
बाँचुन् धड्कन ती सबै मनुजको मुस्कानका साथमा
!! ४ !!
सक्छौँ बाँच्न र गर्न हे अब यहाँ जागौँ सबै साक्षर
कालो रोग छ यो हटाउन छिटै लागुन् सबै डाक्टर
हल्ला होइन है मजाक नगरौँ बाँच्नैछ यो जीवन
लागौँ है सबले बचाउन यहाँ प्यारो छ यो धड्कन
!! ५ !!
बाँचुन् है सब ती युवा र महिला ती वृद्ध ती बालक
लेख्दै यी कविता म माग्दछु यही जाती रहुन् है सब
हल्लामा नकुदौँ सुरक्षक बनौँ हाँस्नैछ यो जीवन
लागौँ है अब भै सचेत जनता यो रोग मेटाउन
!! ६ !!
माई नगरपालिका-४ दानाबारी ईलाम