Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सीपमुलक तालिम लिएपछि स्वरोजगार बन्दै दलित समुदाय

सीपमुलक तालिम लिएपछि स्वरोजगार बन्दै दलित समुदाय

  • सन्देश सम्बाददाता
  • बिहिबार, असार २९ २०७४


सीपमुलक तालिम लिएपछि स्वरोजगार बन्दै दलित समुदाय

इलाम । भगत सर्वजित सीप विकास प्रवद्र्धन कार्यक्रमबाट सीप मुलक तालिम लिएपछि इलामका दलित समुदाय स्वरोजगार बन्दै गएका छन् । आर्थिक अवस्था कमजोर भएका दलित समुदाय लक्षित गरि इलाम नगरपालिका उद्योग विकास शाखाले इलामका गाउँपालिका र नगरपालिका क्षेत्रका विभिन्न वडामा सीप मुलक तालिम प्रदान गर्दै आएको छ ।

परम्परागत रुपमा व्यवसाय गर्दै आएका दलित समुदायका युवा युवती र उद्यमीको व्यवसायीकरण गर्न जिल्लाको गाउँपालिका र नगरपालिकामा उद्यमसिलता तालिम प्रदान गरेको थियो । उद्योग विकास शाखाका कार्यक्रम संयोजक खड्ग बस्नेतका अनुसार उद्यमसिलता तालिम सूर्योदय नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका,माईजोगमाई गाउँपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका र माङ्सेबुङ्ग गाउँपालिका क्षेत्रका वडामा संचालन गरिएको थियो ।

भगत सर्वजित सीप विकास प्रवद्र्धन कार्यक्रमबाट ढाका कपडा बुनाई, मौरीपालन तथा मह प्रशोधन, एडभान्स सिलाई कटाई, कृषि औजार निर्माण, व्युटीपार्लर, सिलाई कटाई, मोटर ड्राईभिङ तालिम संचालन गरिएको उद्योग विकास शाखा इलामका कार्यालय प्रमुख नविनकुमार पौडेलले बताए ।

यस्तै भगत सर्वजित सीप विकास प्रवद्र्धन कार्यक्रम अन्तरगत बिहिबार इलाम नगरपालिका वडा नम्बर ४ र ५ मा आधुनिक कृषि औजार तालिम सम्पन्न भएको छ ।  इलाम नगरपालिका उद्योग विकास शाखाको आयोजना र दलित अधिकार मञ्चको सह–आयोजनामा १५ दिने आधुनिक कृषि औजार तालिम सम्पन्न भएको हो । दलित अधिकार मञ्चका अध्यक्ष रुद्र दर्नालको अध्यक्षता र उद्योग विकास शाखाका प्रमुख नविनकुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा १५ दिनमा बनाइएका कृषि औजरको प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा इलाम नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष नुतनदेव दुलाल, वडा नम्बर ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले तालिममा सहभागिलाई प्रमाणपत्र वितरण गरिएको थियो । समापन कार्यक्रममा बोल्दै इलाम नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष नुतनदेव दुलालले आगामि आर्थिक वर्षका कार्यक्रममा दलित समुदायको आर्थिक विकास हुने खालका कार्यक्रम संचालनका लागि पहल गर्ने बताए । वडा नम्बर ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले दलित समुदायमा भएको सीपको स्तरउन्नतीका लागि १५ दिने तालिम उपलब्धिमुलक भएकाले आममी दिनमा थप तालिम प्रदान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष सुजन तिमसिनाले तालिममा सिकेका सिप व्यवहारमा ल्याई उद्योग दर्ता गरि संचालन गर्न सहभागिलाई सुझाव दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि नविनकुमार पौडेलले उद्योग विकास शाखाबाट तालिम लिएकालाई निःशुल्क उद्योग दर्ताको व्यवस्था रहेको बताए ।

उद्योग दर्ता गरि व्यवसाय संचालन गरेमा आगामि दिनमा स्तरवृद्धिका कार्यक्रम र प्रविधि हस्तारन्तरण कार्यक्रमबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । उद्योग विकास शाखाका कार्यक्रम संयोजक खड्ग बस्नेतले तालिम पछि प्राविधिक सेवा निरन्तर रुपमा दिन सकिने भएकाले कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार