इलाम । जोर्डन जुयानेर डेम्बेलेको २ गोलको मद्धतमा आयोजक माईभ्याली फुटबल क्लब छैटौ माईभ्याली गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ठुलो टुडिखेलमा जारी प्रतियोगितामा आयोजकले पाहुना टोली सिक्किमको गान्तोक सिटि फुटबल क्लबलाई २–० ले हरायो । खेलको सुरुवातबाटै दबाब बनाएको आयोजकले ५ मिनेटमा अग्रता बनायो । शिशिर लेखीको क्रस पासमा डेम्बेलेले पहिलो गोल गरे । दोश्रो हाफको इन्जुरी समयमा वान भर्सेस वानको अवस्थामा डेम्बेलेले दोश्रो गोल थपे । खेलको म्यान अफ दि म्याच शिशिर लेखि घोषित हुँदै नगद १० हजार प्राप्त गरे । खेलमा आयोजकका डेम्बेले र गान्तोकका गोलरक्षक निन्डुप लेप्चाले पहेलो कार्ड प्राप्त गरे ।
आयोजकले छिरिङ गुरुङको कप्तानीमा उत्रिएको आयोजक टिमले न्युरोड टिम (एनआरटी) का ३ जना अफ्रिकन खेलाडी सहित ४ जनालाई मैदानमा उतारेको थियो । त्यसैगरी बिग्रेड व्वाइजका २ जना, जावलाखेल, सरस्वती, फ्रेन्डस र यु–१८ टोलीका १/१ जना खेलाडी मैदानमा उतारेको थियो । गान्तोक पारो एफसीका २ जना र भारतिय यु–१९ टोलीका १ जना खेलाडी सहित इलामे मैदानमा प्रतिस्पर्धा गरेको थियो ।
खेलपछि प्रतिक्रिया दिँदै गान्तोकका प्रशिक्षक मायोल डोक लेप्चाले घरेलु टिम विरुद्ध खेल्नुपरेकोले दबाबमा परेको बताए । उनले डि एरियाभित्र डिफेन्डरले खेलेको समानान्तर पासको फाइदा उठाएर विपक्षी टिमले गोल गरेको बताए । यता आयोजकका प्रशिक्षक दर्शन भक्तराजले सेट प्रशिक्षण नभएकाले विपक्षी विरुद्ध घरेलु मैदानमा दबाबका बिच प्रतिस्पर्धा गर्नुपरेको बताए । गान्तोक विरुद्धको खेलमा टिमको कमजोरी औल्याउन सहज भएकाले आगामी खेलमा सुधार गर्ने बताए ।
जितसंगै आयोजकले सेमीफाइनल प्रवेशका लागी फागुन २० गते कलकत्ता प्रिमियर लिग क्लब मोहम्मडेन स्र्पोटिङको सामना गर्नेछ । प्रतियोगिता अन्र्तगत भोली दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबले झापा–११ को सामना गर्नेछ । प्रतियोगिताको बिजेताले नगद ८ लाख र ५ लाख रुपैया प्राप्त गर्नेछ ।