बनियानी । भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा सोमबारदेखि तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगितामा रेडहर्ष इलामले बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा जलथल फुटबल क्लब झापालाई पराजित गर्दै रेड हर्ष फुटबल क्लब इलाम क्वाटर फाइनलमा प्रवेश गरेको छ। जलथललाई एकको विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै इलाम क्वाटर फाइनलमा प्रवेश गरेको हो।
खेलको पहिलो हाफको २६ औं मिनेटमा इलामका किस्मत राईले गोल गर्दै टिमलाई अग्रता दिलाए। दोस्रो हाफको ३६ औं मिनेटमा राईले थप एक गोल गरे।जलथलका सरोज कार्कीले खेलको ५१ औं मिनेटमा एक गोल फर्काएका थिए। खेलको म्यान अफ द म्याच इलामका किस्मत राई घोषित भए। उनलाई नगद दुई हजारसहित प्रदेश सांसद वसन्त बानियाँले पुरस्कृत गरेका थिए ।
कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश सांसद वसन्त बानिया र ओमप्रकाश सरावगीले गरेका थिए। फागुन ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गरी आठ टिमले सहभागिता जनाएको छ। प्रतियोगितामा विजेता टिमलाई नगद एक लाख ५० हजार र उपविजेता टिमलाई एक लाख नगद पुरस्कारसहित विभिन्न विधामा पुरस्कार वितरण गरिने जनाइएको छ।
प्रतियोगिता सम्पन्न गर्न १६ लाख ५ सय अनुमानित बजेट रहेकोमा लागि प्रदेश १ सरकारअन्तर्गत प्रदेश सांसद कोषबाट वसन्त बानियाँले चारलाख २५ हजार, कचनकवल गाउँपालिकाले तीनलाख, बाँकी रकम विभिन्न दाता र टिकटबाट संकलन गरिने छ। भ्रमण वर्षलाई सफल बनाउन गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ।