
इलाम। चरम लोडसेडिङको सामना भोगिरहेको अवस्थामा अपरमाईले उत्पादन सुरु गर्ने भएको छ । परीक्षणको अन्त्यमा रहेको ९ दशमलव ९८ मेगावाट क्षमताको अपरमाईले वैशाखको दोस्रो सातामा राष्ट्रिय प्रसारणमा जोड्ने जनाएको छ ।डेढ महिनादेखि परीक्षणमा जुटेको आयोजनाले हेडबक्सदेखि पावरहाउससम्म सफल परीक्षण सकेको छ । १८ किलोमिटर लामो प्रसारण लाइनको पनि परीक्षण सकेको छ । ‘अब सामान्य केही कामबाहेक सबै पूरा भएको छ,’ आयोजना सञ्चालक माई भ्याली हाइड्रो पावरका कार्यकारी निर्देशक सन्तोष प्रधानले भने ।
१ अर्ब ९२ करोड रुपैयाँको लागतमा माबु र माइमझुवामा आयोजना निर्माण भएको हो । माबुदेखि गोदकसम्मका ५५ वटा टावर निर्माण गरेर काबेली करिडोरमार्फत त्यहाँ उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजना निर्माणमा पञ्चकन्या ग्रुपसहित नबिल बैंक, ग्लोबल बैंक, एभरेस्ट बैंक, नेपाल बैंक र एनएमबी बैंकको लगानी रहेको छ । ६ दशमलव १ मेगावाटको क्यासकेटको पनि ७५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । सुलुबुङमा निर्माणाधीन आयोजनाको ९ सय ७५ मिटर सुरुङमध्ये ६० प्रतिशत सकिएको छ ।