सन्दकपुर । इलामको उत्तरी सन्दकपुर गाउँपालिकाले हरियालि गाउँपालिका बनाउने अभियानलाई सफल बनाउन वृक्षारोपण कार्यक्रमका लागि ६ लाख उत्पादन गरेको छ । भारतसँग सीमा जोडिएका उजाड क्षेत्रमा वृक्षारोपण गर्नका लागि अघिल्लो आर्थिक वर्षदेखि बिरुवा उत्पादनको कार्यक्रम गाउँपालिकाले शुरु गरेको थियो ।
बिदेशि प्रजातीका रुख बिरुवा रोपणमा प्रतिबन्ध लगाएको गाउँपालिको आफ्नै क्षेत्रमा पाइने प्रजातीका बिरुवा उत्पादन गरि वृक्षारोपणको काम गर्दै आएको छ । स्थानीय प्रजातीका बिरुवा उत्पादन र रोपणपछि सीमसारको संरक्षण र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष उदय राईले बताए ।

सीमावती क्षेत्रको धेरै उचाई पर्ने क्षेत्रमा बनजंगल मासिएकाले त्यसलाई हरियाली बनाउने अभियान थालिएको हो । इलामको उत्तरी क्षेत्रमा रहेको सन्दकपुर क्षेत्रमा इलाममा पर्ने खोला, नदी र सीमासार क्षेत्रका प्रायः मुहान क्षेत्र रहेको छ । खोला, नदी र सीमासार क्षेत्रका मुहान संरक्षण र सीमा क्षेत्रमा पर्ने दर्जनौँ पर्यटकीयस्थलको प्रवद्र्धनका लागि वृक्षारोपणको कार्यक्रम गरिएको गाउँपालिकका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । माई नदीको मुहान क्षेत्र रहेको सन्दकपुर गाउँपालिको जलाधार क्षेत्रमा वृक्षारोपणका लागि गाउँपालिका र इलामका रहेका जलविद्युत आयोजनाहरुले लगानी गरेका छन् ।

सोही लगानी अनुसार स्थानीय प्रजातिका कट्टुस, बज्राठ, मलाँतो, लालिगुराँस, चिमाल, चाँप जस्ता बिरुवाको बिरुवा उत्पादन गरेको हो । सन्दकपुर गाउँपालिकाको केन्द्र देउराली बजार नजिकै माईपताल भन्ने स्थानमा बिरुवाको नर्सरी राखिएको छ । बिरुवाको उत्पादन राम्रो भएकाले सामुदायीक वन समुह मार्फत उजाड क्षेत्रमा वृक्षारोपणको कार्यक्रम गरिँदै आएको गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीलले बताइन् ।

अराबौँ रुपैयाँ लगानी गरेका जलविद्युत आयोजनाहरुले वृक्षारोपण कार्यक्रमलाई प्रत्यक्ष रुपमा सहयोग गरेका छन् । खोला र नदीका मुहान क्षेत्र उजाड भएकाले संरक्षणका लागि विद्युतका लगानीकर्ताहरु पनि वृक्षारोपणको कार्यक्रम पछि उत्साहित भएको वडा नम्बर २ वडाध्यक्ष गिरिराज खनालले बताए ।

सोहि कार्यक्रम अन्तरगत बिरुवा उत्पादन गर्ने नर्सरीको गाउँपालिका अध्यक्ष उदयबहादुर राईको नेतृत्वको टोलीले निरिक्षण गरेको थियो ।