हरेक बर्ष झापाको डोमलाल राजवंशी रंगशालामा आयोजना हुँदै आएको झापा गोल्डकपमा दर्शक भरिभराउ हुन्छ । गोल्डकपको ४ संस्करणसम्म आइपुग्दा कुनै पनि दिन पारापिट खाली देखिदैन थियो । झापा गोल्डकपको कारण मोफसलको फुटबलमा धेरै दर्शक बटुल्ने खेलमैदानको रुपमा देशभर चिनिएको थियो डोमलाल राजवंशी रंगशाला । अझ घरेलु टोली झापा–११ को खेल भएको दिन पारापिट नभाचिएको बर्ष नै हुन्थेन । तर सोही रंगशालामा भएको हाम्रो पुर्वाञ्चल गोल्डकपमा घरेलु टोली झापा–११ र नेपाल पुलिस बिचको खेलमा करिव ३ सयको संख्यामा मात्र दर्शक थिए ।

घरेलु टोलीबाट पनि झापा गोल्डकपको अघिल्ला संस्करणमा देखिएका केही खेलाडीमात्र मैदानमा देखिए । प्रतियोगिताका लागि लगभग १० हजार दर्शकले एकै पटक हेर्न सक्ने गरी बाँसको पारापिट र अन्य व्यस्थापन गरिएको आयोजक जायोन स्र्पोटस क्लबको दाबी थियो । तर सेमीफाइनलसम्म आइपुग्दा औषतमा दैनिक ५ सय बढी दर्शकले पनि खेल हेरेका छैनन् । हाम्रो पुर्वाञ्चल गोल्डकप र झापा गोल्डकप दुवै प्रतियोगिताको पुरस्कार राशी र सहभागी टिम उस्तै भएपनि दर्शकको उपस्थितीमा फरक देखियो । यसबाट पछिल्लो समय मोफसलमा आयोजना हुँदै आएको गोल्डकपमा दर्शकको क्रेज घटदै गएको देखिन्छ ।
भारतिय दर्शकको रोजाईमा पर्दैन नेपालको गोल्डकप
भारतका खर्साङ, सिक्किम, आसाम, दार्जिलिङ मिरिक लगायतका क्षेत्रमा हुने प्रतियोगितामा नेपालका ए डिभिजनका खेलाडीहरुलाई रुचाइन्छ । उनीहरुलाई प्रतियोगितामा सहभागी क्लबहरुले दैनिक ५ हजारसम्म भत्ता दिएर खेलाउन लैजाने गर्छन । तर उही खेलाडी सहभागी भएर नेपालमा आयोजना हुने गोल्डकप भारतिय दर्शकको रोजाई पर्दैन । जसको प्रत्यक्ष उदाहरण नेपाल भारत सिमाको काँकडभिट्टामा आयोजित मेची नेत्रालय गोल्डकप हो । खुल्ला सिमा भएपनि मेची पुल तरेर पारी पानीटयाङकीका दर्शक काँकडभिट्टा खेल मैदानमा आएनन् ।

४ हजार दर्शक अटाउने क्षमता बाँसको पारापिट र स्टेजका लागी ५ लाख रुपैया खर्च गरेको थियो आयोजकले । तर मुस्किलले हरेक दिन ३ सयको संख्यामा मात्र दर्शक आए । आयोजक समितीका अध्यक्ष एवम नेपाली यु–१५ महिला टिमका गोलकिपिङ प्रशिक्षक मिन बस्नेत फुटबलको क्रेज नघटेपनि दर्शकहरुको उपस्थिती कम भएकोमा आश्चर्य मान्छन । ‘पारापिट भरिने आश थियो खै दर्शक नै आएनन् किन हो ? उनले भने ‘अघिल्लो संस्करणमा अपेक्षा गरिए अनुसारको दर्शक आएका थिए ।’ मोफसलमा हुने अनियन्त्रित गोल्डकप र बैशाखको समयमा हुने चर्को गर्मी पनि दर्शकहरुको घट्नु एउटा कारण रहेको उनी बताउँछन ।
पुर्वी पहाडमा पनि दर्शक मध्यम
पुर्वी पहाडको सर्वाधिक लोकप्रिय माइभ्याली गोल्डकपले फाइनल र अफ्रिकी टोली दाफिन्सको खेल बाहेक अन्य दिन अपेक्षिकृत दर्शक पाएन । इलामेहरुले दोश्रो दशैको रुपमा माईभ्याली गोल्डकपलाई चित्रित गर्दै आएका थिए । हरेक बर्ष खेल सुरु हुन समयमा पसलहरु बन्द हुने इलाम सदरमुकाम पाँचौ संस्करणको समयमा खुल्लै रहयो । ४ वटा संस्करण सम्म आइपुग्दा दर्शकहरुको चापका कारण अखिल नेपाल फुटबल संघले पनि क वर्गको प्रतियोगिताको रुपमा माइभ्यालीलाई लिएको थियो । आयोजकलाई दर्शक व्यवस्थापन गर्न निकै हम्मेहम्मे हुन्थ्यो । लाम लागेर आउने दर्शक खेलसँगै रमाउँथे । खेलाडीलाई हौसला हुन्थ्यो, खेलको महत्व झन बढ्थ्यो । तर पछिल्लो समय त्यो अवस्था भने छैन । खेलहरु बढी मात्रामा आयोजना हुँदैछन, दर्शक घट्दा घट्दै शून्यमा झर्ने अवस्था सृजना हुने संकेत देखिन थालेको छ ।

अघिल्ला ४ संस्करणको क्रेजलाई मध्यनजर गर्दै ७ हजारबाट १० हजार दर्शक क्षमता रहेको पारापिट बनाएको माईभ्याली गोल्डकपले फाइनलका दिन मात्र चित्त बुझदो दर्शक पायो । ‘माईभ्याली दर्शकको रोजाईमा नपरेको भने होइन तर शिर्ष क्लबहरुका पहिलो रोजाइका खेलाडीहरु राष्ट्रिय टोलीको क्लोज क्याम्पका कारण सहभागी नभएकाले पहिलाको जस्तो चाही आएनन् ।’ आयोजक समितीका अध्यक्ष धिरेन चेम्जोङले भने । पाँचथर र ताप्लेजुङमा आयोजना हुँदै आएको प्रतियोगितामा टाढाका गाउँगाउँका दर्शकहरुको रोजाईमा भने पर्दै आएको छ । जसका कारण गोल्डकप प्रतियोगिताहरु पनि थपिदै आएको छ ।
स्र्पोटस सिटीको अवस्था पनि उस्तै
स्र्पोटस सिटीको रुपमा धमाधम इटहरीमा संरचनाहरु बनिरहेको छन । राष्ट्रिय खेलकुद परिषदका निर्वतमान सदस्य सचिव केशवकुमार विष्टको गृह नगर इटहरीमा गत माघ १२ देखी १९ सम्म आयोजना भएको मदन भण्डारी गोल्डकपको अवस्था पनि निक्कै कष्टपुर्ण रहयो । दर्शकहरु स्टेज दाँयाबाँया रहेको बासको पारापिटमा मात्र सिमित रहे । फाइनलका दिन फाट्फुटट पक्की पारापिटमा देखिए । आयोजक समितीका संयोजक अनुरोध थापा टोलटोलका प्रतियोगिताले पनि गोल्डकपको क्रेज घटेको बताउँछन । ‘ गाँउगाँउमा राष्ट्रिय खेलाडीको खेल हेर्न पाउने भएपछि पैसा तिरेर को आउने रंगशालामा ?’ उनी भन्छन । अनियन्त्रित रुपमा भइरहेको गोल्डकपलाई नियमन नभए पुर्वका ठुला फुटबल प्रतियोगिताको क्रेज घट्न उनको तर्क छ ।
‘मिनी ब्राजिल’ मा पनि फुटबल चार्म घटदै
प्रदेश एकको सहर धरान लाहुरेहरुको सहर मात्र होइन मिनी ब्राजिल नै भनिदै आएको छ । टोलैपिच्छेजसो राम्रा–राम्रा मैदान र निरन्तर खेल भइरहने सहरको प्रतिष्ठा बुढासुव्वा गोल्डकपले २ दशक पार गरिरहँदा दर्शकहरुको रोजाई पनि खस्कदै गएको छ । धरान रंगशालामा आयोजना हुँदै आएको प्रतियोगितामा गत बर्ष तुलनात्मक रुपमा कम दर्शक आएको आयोजकले बताएको छ ।
सिजन अघि नै सुरु भएकाले प्रतियोगिताले मात्र दर्शक नपाएका हुन् : खड्गी
अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य निरोज खड्गी गोल्डकपको सिजन समेत सुरु नभएकाले अहिले आयोजना हुँदै आएको प्रतियोगितामा दर्शक घटेको बताउँछन् । ‘अहिले नेपालका प्राय जसो सवै उमेर समुह र सिनियर टिमका खेलाडीहरु अन्तराष्ट्रिय प्रतियोगितामा भएकाले पनि उत्कृष्ट खेल नहुने भन्दै दर्शक नआएका हुन सक्छन् ।’ उनले भने ‘ एन्फाले मोफसलको गोल्डकप नियमनका लागी बनाएको कार्यविधी समेत पुर्ण रुपमा लागु नभइसकेको अवस्था कुन क्लब कहाँ कसरी खेल्ने भन्ने बारेमा अन्यौल पनि छ ।’ चाडवाड पछि लगतै सुरु भएको गोल्डकप दर्शकको रोजाई नपरेको उनको भनाई छ ।