इलाम । कृषि क्षेत्रलाई प्रबन्धन गरी थप व्यवसायीकरण गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका–१०, फिक्कलमा पहिलो पटक कृषि मेला आयोजना गरिएको छ । दुई दिने कृषि मेलामा पुष्प व्यवसाय, कृषिजन्य वस्तु, सागसब्जी तथा पशुहरू प्रदर्शनमा राखिएको थियो ।
सूर्योदय नगरपालिका, सूर्योदय नगरपालिका वडा नम्बर १०, कृषि ज्ञान केन्द्र , इलाम र फ्लोरिकल्चर एसोसिएसन इलामको समन्वयमा आयोजना भएको मेलामा १५ वटा स्टल राखिएको छ । कृषि मेलाका स्टलमा पुष्प व्यवसाय, कृषि उत्पादन, उन्नत जातका गाई, भेडा, बाख्रा, खसीको प्रदर्शनमा राखिएको सूर्योदय नगरपालिका वडा नम्बरका १० का वडाध्यक्ष पेमा उगेन लामाले बताए ।
मेलामा आठ किलोग्राम बढीको मुला, आठ सय ग्राम बढीका आलु सूर्योदय नगर क्षेत्रमा रहेका पुष्प र उन्नत जातका गाई हेर्नेको भिड लागेको थियो । मेला सञ्चालन गर्नका लागि सूर्योदय नगरपालिकाले दुई लाख वडा नं. १० ले दुई लाख र कृषि ज्ञान केन्द्रले आर्थिक सहयोग गरेको छ ।
मेलामा प्रदर्शनी तथा बिक्रीमा राखिएका उत्कृष्ट पुष्प, कृषि उत्पादन तथा पशुलाई पहिलो, दोस्रो र तेस्रो गरी पुरस्कृत गरिएको थियो । २ दिने मेलामा ५ हजार बढीले अवलोकन गरेका छन् ।