हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल पराजित भएको छ। शुक्रबार हङकङको मिसन ग्राउन्ड रोडमा अफगानिस्तानसँग नेपाल पराजित भएको हो। ११३ रनको लक्ष्य पछ्याएको नेपाल १७ रनले पराजित भएको हो।
कप्तान सन्दीप जोराले अर्धशतक प्रहार गरेको खेलमा नेपालले २ विकेट गुमाएर ९५ रन मात्रै बनाउन सक्यो। लोकेश बमले १० तथा रसिद खान र मोहम्मद आदिल आलमले ११र११ रन जोडेका थिए। हङकङमा जारी हङकङ सिक्सेसमा अफगानिस्तानले नेपाललाई ११३ रनको लक्ष्य दिएको छ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको थियो। अफगानिस्तानका लागि सिद्धिकउल्लाह उचाले ४३ रन बनाए। त्यस्तं करिम जनतले ३५ रन जोड जोडे। साफीले ३० र कप्तान गुलबदिन नइबले २० रनको योगदान गरे।
बलिङतर्फ नेपालका रसिद खानले चार विकेट लिए। उनले चौथो ओभरमा ह्याट्रिकसमेत गरे। खेलमा लोकेश बमले एक विकेट लिए। नेपाली टोलीमा कप्तान सन्दीप जोरा, आदिल अन्सारी, लोकेश बम, बसिर अहमद, रशिद खान र रुपेशकुमार सिंह रहेका छन्। यस संस्करणमा नेपाल समूह ‘ए’ मा छ।
यो समूहमा अफगानिस्तान र दक्षिण अफ्रिका छन्। शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्। समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड र युएई छन्। समूह ‘सी’ मा भारत, कुवेत र पाकिस्तान, समूह ‘डी’ मा बंगलदेश, हङकङ र श्रीलंका छन्।
नेपालले दोस्रो खेल दक्षिण अफ्रिकासँग नोभेम्बर ८ मा खेल्नेछ।