इलाम । सूनको मुल्य झैँ बिक्रि हुने अलैँचीको बगान नै पहिरो नष्ट गरेपछि इलामका सयौँ किसान चिन्तित भएका छन् । अशोज १८ गते रातीको भारी वर्षातपछिको पहिरोले भण्डारण गर्ने ठिक्क भएको अलैँचीका बगान बगाएपछि धेरै किसान परिवारमा खाध्यान्न संकट पर्ने भएको छ ।
खोल्साको सूनको उपमा पाएको अलैँची इलामका किसानको मुख्य आम्दानीको श्रोत हो । अलैँचीको मुल्यवृद्धि उच्च हुँदै गएपछि पछिल्ला वर्ष किसानले खेती विस्तारमा तिब्रता दिएका थिए । ४० किलो सुख्खा अलैँचीको मूल्य एक लाख २० हजारसम्म पुगेपछि किसानले खाध्यबाली मासेर अलैँची बिस्तार गरेका छन् । तर इलामका अलैँची किसानका लागि गत अशोज १८ गते रातीको भारी बर्षात र बाढी पोहिरोले ऐठन लगाएको छ ।
पहिरोले बारीमा फुलका थुगाँझै पाकेको अलैँची बगाननै बगाएपछि किसानमा बेचैन भएको हो । अर्थतन्त्र विकासको मुख्य श्रोत भएको अलैँची बगाएपछि किसनमा घरखर्च कसरी चलाउने चिन्ता छ । वर्षातपछिको बाढी र पहिरोले प्राय ः गाउँमा किसानको अलैँची बगानमा क्षतिविक्षत भएको माईजोगमाई गाउँपालिका ६ का किसान वुद्धबहादूर राईले बताए ।
इलामका १० स्थानीय तहमध्ये चुलाचुली गाउँपालिका र माई नगरपालिकामा मात्रै अलैँची खेती कम हुन्छ । समुन्द्र सतहबाट १ हजार मिटर मुनीका भु–भागमा रोपिएको अलैँची भदौँ महिना फल उठाइन्छ । जसका कारण फल किसानले उठाएपनि बगानमा क्षति पुगेको थियो । तर १ हजार मिटर माथि भु–भागमा रोपिएको अलैची अशोज महिनामा टिप्ने गरिन्छ । धेरै किसानले मुख्य चाड दशैँ मनाएपछि अलैँची टिप्ने योजना बनाएकाको अवस्थामा अचानक आएको वर्षात, बाढी र पहिरोले क्षति गरेको हो । क्षतिको यकिन तथ्याङ्क नभएपनि हालसम्म ५ हजार रोपनी बढी अलैँची बगान बगाएको प्रारम्भिक अनुमान छ ।
धेरै किसान अलैँचीको आम्दानीमा निर्भर भएकाले पुरानै अवस्थामा फर्काउन सरकारले सहयोग गर्नुपर्ने अलैची व्यवसायीक महासंघकी उपाध्यक्ष कुसुम दाहालले बताइन् । इलाममा १ हजार ६ सय ९० हेक्टर क्षेत्रमा अलैँची खेती विस्तार भएको छ । जिल्लामा १ हजार १ सय ५८ मेट्रिक टन अलैँची उत्पादन हुँदै आएको अलैँची विकास केन्द्रको तथ्याङ्क छ ।
थप तस्बिरहरु :