इलाम । इलाममा पशुहरुमा लाग्ने खोरेत रोग नियन्त्रण गर्न खोप अभियान संचालन गरिएको छ । खोरेत रोग मुक्त गराई पशुजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्यका साथ इलामका पशुहरुमा खोप अभियान संचालन गरिएको हो । पशुमा लाग्ने खोरेत रोग अन्त्यका लागि इलाममा खोरेत रोग विरुद्ध खोप अभियान संचालित छ । इलामका १० वटै पालिकामा किसानका घरघरमा पुगि खोरेत रोग विरुद्धको खोप लगाइदै आएको हो । खोरेत विरुद्धको खोप अभियानको संयोजन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले गर्दै आएको छ ।
पशुपालन र दुध उत्पादनमा व्यावसायिक बन्दै गएको इलामलाई खोरेत मुक्त जिल्ला बनाउन संघीय सरकारले २०८१ माघ २८ मा खोरेत मुक्त जोन घोषणा गरेको थियो । खोरेत रोग मुक्त गराई पशुजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजारका लागि पहल गरिने लक्ष्यका साथ सरकारले खोप अभियान संचालन गर्दै आएको हो ।
खोरेत मुक्त जिल्ला घोषणा भएमा इलाममा उत्पादित हुने घिउ, छुर्पी, दूध सहित मासुजन्य पदार्थ विदेशी बजारमा निर्यात गर्न सहज हुन्छ । दुग्ध पदार्थ उत्पादनमा इलाम आत्मनिर्भर हुँदै गएपनि खोरेत रोग मुक्त प्रमाणपत्र पहिलो सर्त हुँदा अन्तराष्ट्रिय बजारमा निर्यात हुन सकेको छैन ।
खोरेत मुक्त प्रमाणपत्र प्राप्तिका लागि चार वर्षसम्म पशुहरुमा खोप अभियान संचालन हुनेछ । खोरेत नियन्त्रण अभियान अन्तरगत इलामका पशुहरुमा दोस्रो चरणको पनि खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख राघबेन्द्र तिवारीले बताए ।
पशुहरुमा खोरेत रोग बिरुद्धको खोप ६÷६ महिनाको फरकमा लगाइन्छ । इलामका पशुहरुमा २ राउण्डमा खोप लगाइसकिएको छ । प्रथम राउण्डमा १ लाख ११ हजार ८५ र दोस्रो राउण्डमा १ लाख २१ हजार ५ सय १४ पशुहरुमा खोप लगाइएको हो । खोप लगाइएको २१ दिनपछि पशु प्राविधिकबाट भ्याक्सिनले काम गरेको नगरेको बारे जाँच हुँदै आएको छ । खोरेत बिरुद्धको खोप अहिले गाई र भैँसीमा केन्द्रित गरि लगाइदै आएको छ ।
इलाममा १ लाख २५ हजार ८ सय ७७ गाई र १७ हजार १ सय ७० भैँसीको संख्या रहेको छ ।