इलाम । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले डेब्यू गरेको खेलमा निस अट्रोमिटौ पराजित भएको छ ।
शनिबार अट्रोमिटौले ग्रिक महिला ‘ए’ लिगमा घरेलु टोली ओएफआइविरुद्ध ४-० को हार बेहोर्यो । जितसँगै ११ खेलमा २२ अंक जोडेको ओएफआइ दोस्रो स्थानमा उक्लिएको छ । पराजित अट्रोमिटौ समान खेलबाट ९ अंकका साथ नवौं स्थानमा छ ।
गिपेडो अल्माइरोउ गाजियो रंगशालामा निकोला रेबन्स्काले दुई तथा मारिना थिओडोरकी र भ्यालेरिया काउटसौरीले समान एक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा थिओडोरकीको गोलमार्फत ओएफआइले अग्रता लिएको थियो । रेबन्स्काले ७० र ८९औं मिनेटमा गोल गर्दै टोलीको अग्रता ३-० मा पुर्याइन् । खेलको इन्जुरी समयमा काउटसौरीले गोल गर्दै ओएफआइलाई सहज जित दिलाइन् ।