इलाम । दुग्ध विकास संस्थान डिडिसीलाई बिक्री गरेको दूधको छ महिनादेखिको भुक्तानी नपाएपछि कोशी प्रदेशका किसानले बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
किसानले इलामसहित कोशीका सबै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीमार्फत् मन्त्रालयमा ज्ञापनपत्र पठाएका हुन् । सरकारले दुग्ध किसानको असार मसान्तसम्मको भुक्तानी गर्न संस्थानलाई निर्देशन दिएपनि गत वैशाख १५ यता संस्थानले दूधको भुक्तानी नदिएको किसानले बताएका छन् ।
अहिले संस्थानले कोशीका किसानको १९ करोड रुपैयाँ हाराहारी भुक्तानी दिन बाँकी रहेको राष्ट्रिय कृषक समूह महासंघले जनाएको छ । वैशाख १५ यता असारमसान्तसम्मको भएपनि अबको सात दिनभित्र भुक्तानी दिन आग्रह गरिएको ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय इलाम आएकी महासंघ प्रदेश संयोजक कुसुम दाहालले बताइन् ।
‘इलाममा धेरै किसानले डिडिसीलाई दूूध बिक्री गर्दैआएका छन् । लामो समयदेखि मूूल्य नपाउँदा किसानको घरमा आर्थिक समस्या चुलिएको छ,’ महासंघ इलामका संयोजक राम मगरले भने, ‘अब त डिडिसीले इलाममा रहेका तीन चिस्यान केन्द्र पनि बन्द गरिसकेको छ । किसानबाट विश्वास गुमाउँदैछ ।’
डिडिसीको तथ्यांकअनुसार कोशी प्रदेशमा वार्षिक पाँच लाख ७५ हजार पाँच सय चार मेट्रिक टन दूध उत्पादन हुनेगरेको छ । आयोजनाले दैनिक इलामबाट आठ हजार, झापाबाट पाँच हजार, धनकुटाबाट छ हजार, तेह्रथुमबाट दुई हजार, आसपासका किसानबाट एक हजार तथा अन्य आयोजना डेरी, निजी फार्मबाट १५ हजार लिटर दूध लिनेगरेको छ ।
महासंघका अनुसार डिडिसीले भुक्तानी नदिँदा यहाँ दूूध बिक्री गर्ने कोशीका १४ हजार छ सय ९८ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । लामो समयदेखि उधारोमा दूध बिक्री गर्नुपर्दा अहिले किसानलाई दैनिक छाक टार्नसमेत समस्या हुन थालेको महासंघकी कोशी संयोजक दाहालले बताइन् ।
‘बिहान–बेलुकाको खाना खान समस्या छ, बालबालिकालाई कापीकिताब किन्न समस्या छ, समयमा पैसा चलाउन नपाउँदा धेरै परिवारमा तनाब बढेको छ,’ दाहालले भनिन्, ‘मन्त्रिपरिषद बैठकले डिडिसीलाई दूूधको भुक्तानी दिन निर्देशन नै दिएको थियो । तर, डिडिसीले अटेर गरेको छ ।’ तत्काल किसानको रकम भुक्तानी नभए किसान आन्दोलनमा जाने तयारी गरेको दाहालले बताएकी छन् । पालिकापेजबाट