Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

त्यसै बनेकी होइनन् एञ्जिला ‘हिरोइन’ देखि राष्ट्रिय टोलीको कप्तान

त्यसै बनेकी होइनन् एञ्जिला ‘हिरोइन’ देखि राष्ट्रिय टोलीको कप्तान

  • लक्ष्मी शाक्य
  • सोमबार, भाद्र २० २०७९


त्यसै बनेकी होइनन् एञ्जिला ‘हिरोइन’ देखि राष्ट्रिय टोलीको कप्तान

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले भदौ २१ गते भोलि ९मंगलबार० बाट शुरु हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि कप्तानको जिम्मेवारी गोलकिपर एञ्जिला तुम्बापो सुब्बालाई सुम्पिएपछि महिला फुटबलको इतिहासमा नयाँ आयाम थपिएको छ । महिला फुटबलको कप्तान बनेर एञ्जिलाले दोहोरो कीर्तिमान कायम गरेकी छिन् । एञ्जिलाले महिला टोलीको कप्तानसँगै गोलकिपर कप्तान बनेर यस्तो किर्तिमान बनाएकी हुन् ।

टोलीकी नियमित कप्तान रेनुका नगरकोटी राष्ट्रिय टोलीकै प्रशिक्षणको दौरान घाइते भएकी थिइन । अहिले उनी शल्याक्रिया पछि विश्राममा छिन् । रेनुकाले विश्राम लिनुपर्ने अवस्थाको सिर्जना भएपछि प्रशिक्षक कुमारले एञ्जिलालाई महिला साफका लागि राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी सुम्पेका हुन् । जुन अहिले आफैमा स्वागतयोग्य र तारिफयोग्य बन्न पुगेको छ ।

महिला फुटबलको पछिल्लो एक दशकको इतिहासमा एञ्जिलाले उत्कृष्ट गोलकिपरको भूमिका निभाउँदै आएकी छिन् । एञ्जिलाको यहि उत्कृष्ट प्रदर्शनका बावजुद उनी नेपाली राष्ट्रिय महिला टोलीको पहिलो रोजाईको गोलकिपरको रुपमा पर्दै आएकी थिइन् । पछिल्लो समय महिला गोलकिपरमा एक्लो बृहस्पति जस्तै देखिएकि एञ्जिलाको यहि साखको आधारमा कप्तानमा नियुक्ति गरिएको हो । जुन ऐतिहासिक समेत बन्न पुगेको छ ।

एञ्जिला त्यसै कप्तान बनेकी भने होइनन् । उनले महिला फुटबलमा गरेको त्याग, तपस्या र प्रदर्शनले उनी कप्तान बन्न योग्य बनेकी हुन । उमेरले २६ औं वसन्त पार गर्दै गरेकी गोलकिपर एञ्जिलाले आफ्नो १२ वर्षीय फुटबल करियरमा कप्तान बन्न लायक धेरै किर्तिमान समेत बनाई सकेकी छिन् । राष्ट्रिय टोलीकै कप्तान बन्दै गर्दा पनि एञ्जिलाले नेपाली महिला फुटबलमा नयाँ किर्तिमान बनाएकी छिन्। किन भने नेपाली महिला फुटबलमा गोलकिपर कप्तान बनेको यो पहिलो पटक हो । राष्ट्रिय महिला टोलीको कप्तान बनेकी एञ्जिला पहिलो गोलकिपर कप्तान हुन् ।

राष्ट्रिय महिला फुटबल टोलीकी पहिलो कप्तानमा रमा सिंह, दोश्रोमा कमला हिरा चन्द, तेश्रोमा मिरा चौधरी, चौंथोमा जमुना गुरुङ, पाँचौंमा चन्द्रा भण्डारी, छैठौंमा अनु लामा, सातौंमा निरु थापा र आठौं कप्तानको रुपमा रेनुका नगरकोटी रहेकी छिन् । ती कप्तान बनेका आठ जनामध्ये कोहि मिडमिल्डर त कोहि स्ट्राइकर पोजिसनका थिए । विगतमा महिला गोलकिपर कप्तान बनेको इतिहास थिएन । अहिले एञ्जिला गोलकिपर पोजिसनबाट राष्ट्रिय महिला टोलीको कप्तान बनेपछि महिला फुटबलमा नयाँ इतिहास समेत रचिएको छ ।

यसअघि पनि एञ्जिलाले नेपाली महिला फुटबलरको रुपमा धेरै किर्तिमानहरु बनाएकी छिन् । एञ्जिलाले गत वर्ष पाकिस्तानी राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा मासा युनाईटेडको कप्तानी निभाएकी थिइन् । उक्त च्याम्पियनसिपमा एञ्जिलाले गोलकिपरकै रुपमा एक पेनाल्टी तथा एक रनिङमा गरि दुई गोल गरेकी थिइन् । यसरी एञ्जिलाले आफुलाई भर्सस्टाइल खेलाडीको रुपमा समेत प्रस्तुत गर्न सफल भएकि छिन् ।

नेपाली राष्ट्रिय महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिताको इतिहास कोट्याउँदा हालसम्म सिनियर र जुनियर दुवै टोली रजत र कास्य पदकमै सिमित रहेको इतिहास छ । तर एञ्जिला यस्तो गोलकिपर हुन्, जसले जुनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा क्लिनसिटसहित नेपाललाई गोल्ड मेडल समेत दिलाएकी छिन् । एञ्जिलाले सन् २०१४ मा श्रीलंकामा एएफसी अण्डर–१४ रिजलन च्याम्पियनसिपमा गोलकिपरको रुपमा नेपाललाई गोल्ड मेडल जिताएकी थिइन् ।

नेपाल सहित भारत, इरान, भुटान, उज्बेकिस्तान र श्रीलंका सहभागि उक्त च्याम्पियनसिपमा एक गोल पनि नखाई नेपाललाई उपाधि जिताउन एञ्जिला सफल भएकी थिइन् । एञ्जिलाको यो लोभलाग्दो प्रदर्शनपछि उनको चर्चा रातारात चुलिएको थियो । यो प्रदर्शनपछि उनी नेपालका चर्चित महिला खेलाडीरुपमा समेत उदाउन पुगिन्। शान्त स्वभावकि एञ्जिला कुल गोलकिपरको रुपमा समेत चिनिने गरेकी छिन् । अब कप्तान बनेपछि उनी कति कुल हुन्छिन्, त्यो उनले मैदानमा आफ्ना सहकर्मी साथीहरुलाई खेलाउने रणनीतिबाट थाहा हुनेछ । यस्तै उनी गोरखा वाचको ब्राण्ड एम्बेस्डर बन्ने नेपाली खेलकुद क्षेत्रको पहिलो व्यक्ति समेत हुन् । एञ्जिला खेल पोशाक बिक्रि कम्पनी लिनिङको ब्राण्ड एम्बेस्डर बन्ने पनि नेपालको पहिलो महिला फुटबलर हुन् ।

एञ्जिलालले यसअघि हिरो गोल्ड कपमा राष्ट्रिय टोलीको कार्यवाहक कप्तानको भूमिका निभाउँदा नेपाली टोलीले भारतलाई उसैको मैदानमा हराएको थियो । कप्तान एञ्जिला राष्ट्रिय टोलीकी मात्र नभई विभायीय टोली नेपाल एपीएफ क्लबकी पनि पहिलो रोजाइकी गोलकिपर हुन् । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले हङकङको राष्ट्रिय टोलीसम्म हालसम्म तीन वटा खेल खेलेको छ भने तीन प्रतियोगितामा नेपाल पराजित भएको छ । तर एञ्जिला आवद्ध एपिएफले भने हङकङको राष्ट्रिय टोलीलाई ३–१ गोलको अन्तरले पराजित गरेको रेकर्ड समेत रहेको छ ।

यतिमात्र नभई एञ्जिलको वास्तविक जीवनमा आधारित चलचित्र ‘अन्जिला’ समेत बन्दैछ । चलचित्र निर्माण कम्पनी केन्द्र मोसन पिक्चर्सले एञ्जिलाको वास्तविक जीवनमा आधारित चलचित्र ‘अन्जिला’ को निर्माण गर्न लागेको हो । चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गर्नेछन् भने मुख्य निर्माताको रुपमा सशस्त्र प्रहरी बल एपीएफका एसपी प्रेमकुमार श्रेष्ठ रहेका छन् ।

चलचित्रमा एञ्जिलाको मुख्य भुमिका रहने छ । यस्तै चलचित्रमा दयाहाङ्ग राई, बुद्धि तामाङ्ग र सृजना सुब्बाको पनि अभिनय रहने जनाइएको छ । एञ्जिलाको वास्तविक नाम अन्जिला हो। नेपाली कुनै पनि खेलाडीको वास्तविक जीवनमा आधारित रहेर निर्माण हुन लागेको पनि यो पहिलो चलचित्र हो । एञ्जिला पहिलो महिला गोलकिपरको रुपमा पल्सर स्पोर्ट्स अवार्ड २०७७ का लागि पिपल्स च्वाइस विधाको मनोनयनमा समेत परेकी थिइन् । एञ्जिला सन् २०१४ देखि राष्ट्रिय टोलीको सदस्य रहँदै आएकी छिन्। राष्ट्रिय टोलीसँगै विभागीय टोली नेपाल एपीएफ क्लबकी पहिलो रोजाइको गोलकिपर एञ्जिलाले सन् २०१६ मा राष्ट्रिय टोलीम डेब्यु गरेकी थिइन् ।

यिनै एञ्जिलाले अब राष्ट्रिय टोलीको कप्तानी समेत सम्हाल्ने अवसर पाएकी छिन् । यो अवसरमा एञ्जिला कतिको खरो उत्रिन सक्नेछिन्, त्यो भने देख्न बाँकी छ । घरेलु मैदानमा छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप भोलि (मंगलबार) बाट शुरु हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने महिला साफको फाइनल खेल असोज ३ गते हुनेछ । भोलिबाट शुरु हुने साफमा ७ राष्ट्रले भाग लिदैछन् ।

च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपालले भुटानसँग खेल्नेछ । खेल साँझ ५:३० बजेबाट शुरु हुनेछ । यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । सहभागि राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए माल्दिभ्ससँगै भारत, बंगलादेश र पाकिस्तान रहेका छन् । समूह बी मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेका छन् । समूह चरणको खेलपछि शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । ( मेरो खेलका लागि लक्ष्मी शाक्याको रिर्पोट)

प्रतिक्रिया
सम्बन्धित समाचार