यूएई । संयुक्त अरब इमिरेट्स यूएईको बजारमा अब गोर्खाली लिभ्स ग्रीन टी चियासहित नेपाली उत्पादन आउने भएको छ । फ्यामकल नेपाल नामक कम्पनीले नेपाली उत्पादनलाई यूएई ल्याउने तयारी गरेको हो । कम्पनीले काठमाण्डौमा रहेको यूएई दूतावासमा यस विषयमा छलफल गरेको जनाएको छ ।
नेपालका लागि यूएईका राजदूत सैइद हमदान अल नक्बीसँग भेट गरी नेपाली उत्पादन अलैँची, चिया, जडिबुटी, अत्तर, मर मसला लगायतका सामाग्रीहरु यूएईमा पुर्याइ व्यापार मार्फत पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको कम्पनीले जनाएको छ । राजदूत नक्बीले यूएईमा नेपाली उत्पादन स्थापित गराउन सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
पछिल्लो समय नेपालीहरुले यूएईमै विभिन्न व्यवसाय गरी रहेका छन् । आफ्नो उत्पादनलाई यूएई बजारमा ल्याउन सहज भए पनि अहिलेसम्म बजारमा उल्लेख्य मात्रामा नेपाली सामान आएको छैन । नेपाली उत्पादनमा पाइने शुद्धता र विविधताले जुनसुकै देशमा पनि स्वादका पारखीहरुलाई आकर्षण गर्न सक्ने भएकाले बजार विस्तार गर्न लागेको फ्यामकल नेपालका बोर्ड सदस्य निश्चल दाहालको भनाइ छ ।