सुर्योदय । स्थानीय जातका गाईमा उन्नत जातको सिमेनबाट कृतिम गर्भाधान प्रविधिको प्रयोगले इलाममा उन्नत जातका गाईको संख्यामा वृद्धि भएको छ । २०४६ सालबाट कृतिम गर्भाधान सेवा सुरु भएको इलामको १० पालिका मध्ये तीन पालिकामा मात्रै स्थानीय जातका गाईहरुको पालन हुँदै आएको हो ।सूर्योदय १० इलामका पुरुषोत्तम पराजुलीले स्थानीय जातका गाई पालन गर्न छोडेको १० वर्ष बित्यो । श्रम उत्तिकै भएपनि स्थानीय जातका गाईबाट दूधको उत्पादन कम भएपछि पराजुलीको गोठमा अहिले उन्नत जातको गाई र बाछिहरु छन् ।
दूध धेरै दिने र आम्दानी पनि राम्रो हुन थालेपछि उन्नत जातको साँढेको सिमेन गाईका बाछिहरुमा प्रयोग बढेसँगै इलाममा उन्नत जातको संख्यामा वृद्धि आएको छ । सरकारले उन्नत साँढेको सिमेन झिकेर किसानका गाई र बाछिहरुमा कृतिम गर्भाधानको सेवा दिन थालिएपछि उन्नत गाईको संख्यामा वृद्धि आएको हो । कृतिम गर्भाधानका लागि आवश्यक सिमेन पोखरा र लाहानका फार्ममा उत्पादन गरि स्थानीय तहका पशु सेवा शाखा मार्फत किसानलाई सेवा प्रदान गरिन्छ ।
स्थानीय गाईमा उन्नत जातको साँढेको सीमेन प्रयोग गरेपछि जन्मिने बाछाबाछि उन्नत जातकै हुन्छन् । कृतिम गर्भाधानबाट हुर्किएका बाछिहरुमा पुनः कृतिम गर्भाधान सेवा नियमित भएपछि इलाममा उन्नत गाईको संख्या वृद्धि भएको हो । उन्नत जातका गाईबाट बिहान र साँझगरि २० लिटरदेखि ३० लिटरसम्म दूध संकलन हुने हुन्छ ।
दैनिक १६ देखि २० लिटर दूध दिने गाईको मुल्य अहिले १ लाख १५ हजारसम्ममा खरिद बिक्रि हुँदै आएको छ । ३० लिटरसम्म दूध दिने गाईलाई २ लाखसम्ममा खरिद बिक्रि हुन्छ ।
भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रकको तथ्याड्ढमा इलामका १० स्थानीय तहमध्ये माई, चुलाचुली र माङ्सेबुङ्गको पालिकाको केहि वडामा मात्रै स्थानीय जातको गाई पालन हुँदै आएको छ । इलाममा २०४६ सालबाट गाईमा कृतिम गर्भाधन सेवा शुरु भएको थियो । कृतिम गर्भाधानमा प्रयोग हुने सिमेनको किसानले २५ रुपैयाँमा सूल्क तिर्नुपर्ने हुन्छ ।