इलाम । हवाई र पानिजाहाज भाडा वृद्धिले नेपालमा उत्पादन भएको अर्गानिक चिया तेस्रो मुलक निर्यात गर्ने उद्योगहरु समस्यामा परेका छन् । ३ सय प्रतिसत सम्म भाडावृद्धिले नेपालमा उत्पादन भएको चिया तस्रो मुलुकमा निर्यात गरि अन्य देशको चियासँग प्रतिस्पर्धामा समस्या परेको हो ।
अर्गानिक चिया उत्पादन गर्ने नेपालका ६ वटा चिया उद्योगले तेस्रो मुलुकका बजारमा नेपाली अर्गानिक चिया पु¥याएर बिक्रि गर्दै आएका छन् । उद्योगीले अन्तराष्ट्रिय बजारमा ३० प्रतिशत हवाइजाहाज र ७० प्रतिशत पानिजाहाजबाट चिया पु¥याउने गरेका हुन् ।
कोरोना माहामारी अघि युरोपेली देशमा हवाइजाहाजबाट प्रतिकिलो ३ सय रुपैयाँमा ढुवानी हुँदै आएको नेपाली चिया अहिले प्रतिकिलो एक हजार २ सय पुगेको छ । २० फुटको लम्बाइको एक कन्टेनर चिया युरोप ढुवानीमा २ हजार ३ सय डलर लाग्दै आएपनि अहिले ६ हजार ६ सय डलर पुगेको हो । बन्दरगाहा नभएको देशका उद्योगीलाई निर्यातमा परेको अतिरिक्त भारले प्रतिस्पर्धी क्षमता खस्कदा नेपाली उद्योग धरासायी हुने गोर्खा टि स्टेटका संचालक उदय चापागाईले बताए ।
नेपालमा उत्पादन भएको चिया झापाको काकरभिट्टाबाट कन्टेनरमा लोड गरि भारतको कलकत्ता बन्दरगाहाबाट युरोपका देशमा पानिजाहाजबाट निर्यात गरिन्छ । झापाको काकरभिट्टासम्म नेपाली सवारीसाधनबाट चिया ढुवानी हुन्छ । पानिजाहाजबाट चिया ढुवानीका लागि नेपाली व्यवसायीले भारतीय सवारीसाधन र कन्टेनरको प्रयोग गर्छन् । तर युरोप चिया ढुवानीका लागि कलकत्ताबाट कम संख्यामा पानिजाहाज संचालन हुँदा अहिले ठाउँ नै पाउन समस्या रहेको उद्योगीको भनाइ छ ।
नेपालको इलाम, पाँचथर र धनकुटाका ६ उद्योगले अर्गानिक प्रमाणिकरण भएको ३ लाख किलो नेपाली चिया युरोपका बजारमा बिक्रि हुन्छ । नेपालमा उत्पादन भएको चिया बढी मात्रामा जर्मनीका सहरहरुमा बिक्रि हुने गरेको छ ।