Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बगान विस्तार बढेपछि अलैचीका बिरुवाको माग उच्च

बगान विस्तार बढेपछि अलैचीका बिरुवाको माग उच्च

  • सुजन तिमल्सिना
  • शुक्रबार, असार ४ २०७८


बगान विस्तार बढेपछि अलैचीका बिरुवाको माग उच्च

इलाम । खोल्साको सुनको उपमा पाएको अलैचीको बगान विस्तार हुने क्रम बढेपछि अलैचीको बिरुवाको माग बढेको छ । अलैची खेती विस्तारमा प्रदेश, स्थानीय र संघीय सरकारले अनुदानका कार्यक्रम राखेपछि पूर्वी नेपालमा व्यवसायीक खेती हुने अलैची अहिले पश्चिम नेपालसम्म विस्तार भएको छ ।
अलैचीको बगान विस्तार हुने थालेपछि बिरुवाको माग बढ्न थालेको हाे । पूर्वी नेपालबाट खेती शुरु भएको अलैचीको रोपण अहिले पश्चिम नेपालमा पनि विस्तार हुन थालेको छ । नयाँ बगान विस्तार हुन थालेपछि बिरुवाको पनि माग बढेको हो । अलैची विकास केन्द्र फिक्कलमा अहिले दैनिक जसो किसानले बिरुवाको माग गर्दै आएका छन् ।
इलामको सूर्योदय नगरपालिका ९ मा रहेको अलैची विकास केन्द्रले बिरुवा उत्पादन गरि सस्तो मुल्यमा किसान समुह र सहकारीलाई बिक्रि गर्दै आएको छ । अलैची विकास केन्द्रले प्रति बिरुवा ५ रुपैयाँका दरले किसानलाई बिक्रि गर्दै आएको हो । उच्च मुल्यमा बिक्रि हुने र खाध्यबाली नहुने सीम र खोल्सामा पनि अलैची फल्ने भएकाले बगान विस्तार सँगै बिरुवाको माग बढी रहेको अलैची विकास केन्द्रका प्रमुख भिष्मकान्त घिमिरेले बताए ।
प्रदेश एकका ५ जिल्लामा व्यवसायीक खेती हुने अलैची अहिले देशका ५२ जिल्लामा विस्तार भइसकेको छ । पूर्वी नेपालको इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा र तेह्रथुम जिल्लाका किसानले अलैचीलाई आफ्नो आम्दानीको मुख्य श्रोत बनाउँदै आएका छन् । अलैचीको बिरुवा एक पटक रोपेपछि ३० वर्षसम्म आम्दानी दिने भएकाले किसानको यस खेतीमा आकर्षण बढेको छ । उच्च मूल्यमा बिक्रि हुने अलैचीको खेती बिस्तारमा स्थानीय तह, प्रदेश र संघीय सरकारको अनुदानका कार्यक्रमले गर्दापनि बिरुवाको माग बढेको अलैची विकास केन्द्रको तथ्याङ्क छ ।
अलैची विकास केन्द्रले चालु आर्थिक वर्षमा ८० हजार बिरुवा बिक्रि गर्ने योजना बनाएको छ । केन्द्रमा तीन लाख बढी विरुवाको माग भएपनि माग अनुसारको बिरुवा वितरण गर्न सकेको छैन । अहिले नेपालमा १८ हजार २ सय ७३ हेक्टर क्षेत्रफलमा अलैची खेती भइ ७ हजार ९ सय ५४ मेट्रिक टन उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार