इलाम । चिचिला लाग्ने बेलामा परेको असिनापानीले किवि फलको कोपिलामा ८० प्रतिशत क्षति पुगेकोछ । इलामको किवि उत्पादन हुने सन्दकपूर गाउँपालिकाका र इलाम नगरपालिका भित्रका किसानका बगानको किबि फलको कोपिलामा क्षति पुगेपछि यस वर्ष उत्पादनमा भारी गिरावट आउने भएको छ ।
व्यवसायीक रुपमा खेती भएको किविको फल लाग्ने बेलाको कोपिला असिनाले नास गरेपछि किसान चिन्तित भएका छन् । फल लाग्न ठिक्क परेको कोपिला २०७८ बैशाख १५ को असिना पानीले नास गरेपछि किसानको लगानी बलुवामा पानी भएको छ । फुलको कोपिला झरेपछि किबिको फल लाग्दैन । फल लाग्ने बेलामा असिनाले कोपिला नष्ट गरेपछि उत्पादनमा भारी गिरावट आउने भएको छ ।
असिना अत्याधिक ठुलो परेकाले बढी मात्रामा क्षति भएको किबि जोन कार्यालय इलामले जनाएको छ । सन्दकपूर २ का किसान टिका खतिवडाका अनुसार हावा हुन्डरीसँगै आएको असीना सय ग्रामसम्मको भएकाले क्षति बढि भएको हो । इलामको सन्दकपूर र इलाम नगरपालिकामा व्यवसायीक रुपमा किबिको खेती गरिन्छ । सन्दकपूर गाउँपालिका भित्रका ५ वडा र इलाम नगरपालिका ४ वडामा किबि जोन कार्यक्रम संचालन हुँदै आएको हो ।
जिल्लाका करिव एक हजार ६ सय रोपनी क्षेत्रमा लगाइएको किवि बालीमा क्षति भएको किबि जोन कार्यालयका प्रमुख जिवलाल लम्सालले बताए । जोन कार्याक्रम संचालन हुने ९ वटा वडामा ३० प्रतिशतदेखि ९० प्रतिशतसम्म क्षति भएको जोन कार्यालयको तथ्याङ्क छ । फल लाग्ने बेलामा असिनाले क्षति पुर्याएपछि राहातका कार्यक्रम माग सहित जिल्ला दैवि प्रकोप उद्धार समितिले संघीय कृषि मन्त्रालयमा सिफारिस गरेको छ ।
इलाममा तीन हजार किसानले किवीको व्यवसायिक खेती गरिरहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । प्रति हेक्टर एक दशमलव ५३ मेट्रिक टन किवीको उत्पादन हुँदै आएको छ । इलाममा बार्षिक एक सय ३५ मेट्रिक टन किवी उत्पादन हुने गरेको छ ।