इलाम — उन्नत जातको आलुको बीउ उत्पादनमा इलाम आत्मनिर्भर बन्दै गएको छ । कृषकले अब उचित मूल्यमा चाहेको जातको बीउ रोप्न सक्ने भएका छन् । इलामको जौबारीमा स्थापित कृषि अनुसन्धान केन्द्रले आफैं बीउ उत्पादन गर्ने र कृषकसम्म बीउ उत्पादनको कार्यक्रम पुर्याउँदै लगेपछि इलाम बीउमा आत्मनिर्भर बनेको केन्द्रको दाबी छ । गत वर्ष करिब २० टन बीउ बाहिरी जिल्लाबाट आयात गरिएको थियो । त्यसबेला अनुसन्धान केन्द्रमा ७ टनमात्र रहेको बीउ आलु अहिले बढेर १३ टन पुग्यो भने कृषकले १७ टन उत्पादन गरेपछि यस वर्ष बाहिरबाट बीउ आलु ल्याउनु नपरेको केन्द्रको भनाइ छ ।
केन्द्रको अगुवाइमा अहिले जिल्लाका किसानले समूहमा बीउ आलु उत्पादन थालेका छन । केन्द्रको प्राविधिक सहयोगमा अहिले जिल्लाको माईजोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिका र सूर्योदय नगरपालिकाका विभिन्न क्षेत्रमा किसानले व्यक्तिगत रूपमा र सहकारीले समूहगत रूपमै उन्नत जातको बीउ आलु उत्पादन गरिरहेका छन् । केन्द्रले ४ हेक्टर क्षेत्रफल जमिनमा बीउ आलुको उत्पादन तथा अनुसन्धानात्मक परीक्षण सञ्चालन गर्दै आएको छ ।
केन्द्रले खासगरी जनकदेव, खुमल सेतो, खुमल उज्ज्वल जातको आलुको उत्पादन गर्दै आएको छ । उत्पादन भएकामध्ये जनकदेव जातको बीउ आलुको माग ९० प्रतिशतभन्दा बढी रहेको पाइएको छ । जनकदेव जातको आलुको उत्पादन प्रतिरोपनी औसत २० देखि २५ क्विन्टलसम्म हुँदै आएको केन्द्र प्रमुख जनार्दन गौतमले बताए । केन्द्रले स्थानीय पालिकाहरूसँग समन्वय गरी किसानलाई बीउ आलुको उत्पादनमा प्रेरित गर्दै आएको छ । मुख्य गरी आलु उत्पादन हुने इलामको माईजोगमाई गाउँपालिकाको नयाँबजारमा केन्द्रले श्री कालिका देवी कृषि सहकारी संस्थामा बीउ आलुको भण्डार घर निर्माण गरिदिएपछि किसानहरू थप बीउ आलुको उत्पादनमा लागेका हुन् ।
उक्त सहकारी संस्थाले यस वर्ष १७ टन बीउ आलु उत्पादन गरी कृषकमाझ पुर्याएको छ । आगामी वर्ष बढाएर ४० टन बीउ आलु उत्पादन गर्ने लक्ष्य राखेको छ । संस्थाले आलुको उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाई छिमेकी जिल्लाहरू पाँचथर र ताप्लेजुङमा समेत बीउ लैजाने लक्ष्य लिएको संस्थाका अध्यक्ष उमाकान्त भट्टराईले जानकारी दिए । उन्नत जातको आलुमा रोग, किराको प्रकोप नहुने र उत्पादन पनि राम्रो हुने भएकाले कृषकको मोह बढ्दै गएको हो ।
सूर्योदय नगरपालिका ३ को रुङसुङमा किसानले समूह बनाएरै जनकदेव जातको बीउ आलुको उत्पादन गर्दै आएका छन् । स्थानीय जनजागृति कृषि समूहमार्फत त्यहाँका किसानले आलुको उन्नत जात लगाएर व्यावसायिक खेती गर्दै आएका छन । समूहका अध्यक्षसमेत रहेका रत्नबहादुर लिम्बूले ६४ मन बढी जनकदेव जातको आलु खेती गरेका छन् । ‘उन्नत बीउ पाएपछि सोचेभन्दा धेरै उत्पादन हुन थालेको छ,’ सूर्योदय नगरपालिका ११ का राजकुमार प्रधानले भने, ‘एक मन जनकदेव आलुको बीउबाट २० मनसम्म उत्पादन गर्न सकियो ।’ जिल्लाभित्र मात्र नभएर अब अन्यत्र पनि बीउ पठाउन सकिने जानकारी दिए ।
सूर्योदय नगरपालिका ११ आइतबारेमा रहेको कृषि कर्म समूहका सचिव नरेन्द्रकुमार प्रधानले किसानलाई उन्नत जातको बीउ आलु र अदुवाको खेती सुरु गराएका छन् । ‘अपेक्षाअनुसार उत्पादन भए पनि भण्डारण र बजारको सुनिश्चितताको आवश्यकता छ,’ उनले भने । जौबारीमा नै रहेको बागवानी केन्द्रले पनि आलुको बीउ उत्पादन गरेर कृषकसम्म पुर्याउँदै आएको छ ।