विराटनगर । घरेलु टोली विराटनगर महानगरपालिका–११ लाई हराउँदै विभागीय टोली एपिएफ विराटनगरमा जारी छैटौ संस्करणको विराट गोल्डकपको उपाधि होडमा प्रवेश गरेको छ । सहिद रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा एपिएफले विराटनगरको चुनौती ३–२ ले पन्छाएको हो ।
निर्धारित ९० मिनेटमा दुवै टोलीबाट २–२ गोल भएपछि ३० मिनेट थपिएको थियो । खेलको ११७ औ मिनेटमा मणी लामाले निर्णायक गोल गर्दै एपिएफलाई ५ बर्षपछि उपाधि होडमा प्रवेश गराए । एपिएफ यसअघि २०७२ सालमा पछिल्लो पटक विराट गोल्डकपको फाइनल पुगेको थियो ।
खेलको सुरूवातमा दुवै टिम आक्रमक देखिएपनि पहिलो हाफको २६ औ मिनेटमा एपिएफका सनिश श्रेष्ठले गोल गरि टिमलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको क्रस पासलाई सनिशले पेनाल्टी एरियामा गरेको वान टच गोलमा परिणत भयो । पहिलो हाफमा १–० ले पछि परेको घरेलु टोलीले ५३ औ मिनेटमा खेल बराबरीमा ल्यायो ।
विराटनगरका विदेशी खेलाडी स्टेपर समिरले डिबक्स एरिया नजिकबाट गरेको प्रहार गोलमा परिणत भयो । खेल बराबरी भएकोे १४ मिनेट बित्न नपाउँदै रबि थिङ्गले एपिएफलाई अग्रता दिलाए । श्याम नेपालीले निकालिएको क्रस पासलाई रविले जाली चुमाए ।
दोस्रो हाफपछि २–१ अग्रता कायम गरेको एपिएफले अग्रता कायम गरेको दुई मिनेट बित्न नपाउँदै ६९ औं मिनेटमा विराटनगरले खेल बराबरीमा ल्यायो । । प्रकाश बुढाथोकीले पेनाल्टी एरियादेखि वान टच बललाई गोलमा परिणत गराउँदै खेल बराबरीमा ल्याएका हुन् । त्यसपछि दुवै टिमबाट गोल नभएपछि ३० मिनेट थपिएको थियो ।
दुवै टोलीले खेलमा केहि राम्रा मुभहरु बनाएपनि सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ द म्याच एपीएफको मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए । बिहीबारको खेल आरा रारा गोल्डकपका बिजेता संकटा ब्वाईज स्पोटिङ्ग क्लब काठमाण्डौं र भारतको पञ्जाव पुलिस क्लब बिच दोस्रो सेमिफाइनल खेल हुनेछ ।