Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

एपिएफको जीतमा आशिषको निर्णायक गोल

एपिएफको जीतमा आशिषको निर्णायक गोल

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र २१ २०७७


एपिएफको जीतमा आशिषको निर्णायक गोल

पोखरा । आशिष लामाले निर्णायक गोल गरेपछि पोखरामा आजबाट सुरु भएको १९ औ संस्करणको आहा रारा गोल्डकपका विभागीय टोली एपिएफले बिजयी सुरुवात गरेको छ । एपिएफले घरेलु टोली सहारा क्लबलाई १–० गोल अन्तरले हराएको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलको ८८ औ मिनेटमा आशिष लामाले गरेको लेफ्टर फुटर सटले जाली चुमेपछि एफिएफले सेमीफाइनलमा स्थान बनायो ।

खेलको पहिलो हाफसम्म एपिएफको दवाबमा रहेको सहाराले दोश्रो हाफका केही सुधारिएको खेल देखाएको थियो । तर पाएका केही राम्रा अवसरहरुलाई घरेलु टोलीले सदुपयोग गर्न सकेन् । सहारा क्लब बिदेशी खेलाडीको रुपमा मालीका एडामा डोम्बीयाको साथमा मैदानमा उत्रिएको थियो । खेलमा उनको प्रभाव राम्रो देखिएको थियो । डिफेन्डरका रुपमा रहेका उनले खेलको २६ औँ मिनेटमा एपिएफलाई अग्रता लिनबाट रोकेका थिए ।

गोल पोस्ट नजिकैबाट गरेको प्रहारलाई उनले क्लियर गरेका थिए । लगत्तै एपिएफले सर्ट कर्नरको मौका पाएको भए पनि बल पोलमा ठोक्किएर फर्किएको थियो । खेलमा एपिएफ र सहारा दुवैले एक÷एक पटक फ्रि किकको मौका पाएको भए पनि उनीहरुलाई त्यसलाई गोलमा परिणत गर्न भने सकेनन् ।

एपिएफले फाइनल प्रवेशका लागि चैत्र २३ गते मनाङ मस्र्याङदी र संकटा बिचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा भोली लिग बिजेता मछिन्द्र क्लबले पाहुना टोली अफ्रिकन रुट्ससंग प्रतिस्पर्धा गर्नेछ ।
अभिषेक सम्मानित
नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर अभिषेक रिजाललाई सहारा क्लबले सर्वोत्कृष्ट फुटबल खेलाडीको रुपमा सम्मान गरेको छ । आहारारा गोल्डकपको उद्धघाटन समारोहमा उनलाई नगद ३५ हजार सहित सम्मान गरिएको हो । क्लबले हरेक वर्ष राष्ट्रिय टोलीका एक खेलाडीलाई आहा रारा गोल्ड कपको उद्घाटनका अवसरमा सम्मान गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले अभिषेकलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले उक्त सम्मानको रकम प्रायोजन गर्दै आएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल खेलकुद पत्रकार मञ्च र एन्फाको रेफ्री समितिबाट सिफारिस भएका आएका समान ३ खेलाडीको नामबाट सम्मानित हुने खेलाडीको छनोट गरिने सहाराले जनाएको छ ।

यसअघि राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ, भरत खवास र सुजल श्रेष्ठले यो पुरस्कारबाट सम्मानित भएका थिए । आहा रारामा सहिद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र क्लबसहित ६ टोली, आयोजक र एक विदेशी टोली अफ्रिकन रुट्स एसोएिसन (एआरए) गरि ८ टोलीले प्रतियोगिता भाग लिइरहेका छन् ।

तस्बिर साैजन्य : सुदर्शन रञ्जित

प्रतिक्रिया
सम्बन्धित समाचार