Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

इलाम सदरमुकाममा मोटर पार्किङसहितको चलचित्र घर निर्माणको ठेक्का सम्झौता

इलाम सदरमुकाममा मोटर पार्किङसहितको चलचित्र घर निर्माणको ठेक्का सम्झौता

  • सन्देश सम्बाददाता
  • शनिबार, मंसिर २० २०७७


इलाम सदरमुकाममा मोटर पार्किङसहितको चलचित्र घर निर्माणको ठेक्का सम्झौता

इलाम ।  इलाम सदरमुकाममा मोटर पार्किङसहितको चलचित्र घर निर्माण शुरु हुने भएको छ ।  प्रदेश सरकारको ११ करोड १० लाख ३९ हजार ८३८ लागतमा सिनेमा हल निर्माण  शुरु हुन लागेको हो । भवनमा एक तला भूमिगतसहित तीन तला पार्किङस्थल र चौथो तलामा दुई सिनेमा हल र फुड कोर्ट रहने नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बसपार्कमा रहेको चार रोपनी क्षेत्रफलमा दुई सिनेमा हलका लागि प्रतिहल २५० जना क्षमताको भवन बन्नेछ ।

भवनमा ४७ साना सवारी साधन र २०० भन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिनेछ । विसं २०७९ चैत ३० सम्म सम्पन्न गर्ने गरी कवीन्द्र नवसिर्जन्स जेभी कम्पनीले जिम्मा लिएको छ । अहिलेको बसपार्क साँघुरो भएपछि नगरले नयाँ बसपार्क बनाएको छ । सोही ठाउँमा पार्किङस्थल सहितको चलचित्र घर बनाइने भएको हो । स्थानीयवासीले इलाममा सिनेमा भवन बनाउन माग गरेपछि एकै ठाउँमा सिनेमा भवन र पार्किङस्थल बनाउन लागिएको हो ।

अहिले सिनेमा हलका लागि गौतम बुद्ध सभागृहको भवन भाडामा लिनुपर्ने बाध्यता छ । नगरले सोही भवन निर्माणका लागि एक वर्षअघि नै २३ करोडमा निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो । प्रदेश नं १ सँग भने १७  करोडमा सम्झौता भएको थियो । अहिले नगरपालिकाले भवन निर्माणका लागि रु ११ करोडमा ठेक्का दिएको नगर प्रमुख बस्नेतले जानकारी दिए ।

इलाम नगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रस्ताव बमोजिम प्रदेश नम्बर १ सरकारले लगानी पार्किङ सहितको बहुतले सिनेमा हल बन्न लागेको हो । पार्किङ सहितको सेनेमा घर निर्माणको चरण शुरु हुने भएपछि इलामका नगरपालिकाका प्रमुख महेश बस्नेतले प्रदेश एक सरकारका मुख्यमन्त्री शेरधन राईलाई नगरपालिकाका समस्त नागरिकहरुको तर्फबाट धन्यवाद ज्ञापन समेत गरेका छन् ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका प्रमुख रुद्रनारायण मिश्रका अनुसार बहुतले भवन निर्माणका लागि निर्माण कम्पनीका प्रतिनिधिहरु साइटमा रहेका छन् । अहिले काम सुरु भइनसकेकाे उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार