Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

कविता : ‘अरब आएको छु’

कविता : ‘अरब आएको छु’

  • एन्जिला थामी 'अर्पणा'
  • शनिबार, साउन ३१ २०७७


कविता : ‘अरब आएको छु’

म त आफूलाई जन्म दिने २ देवता छाडेर
अरब आएको मान्छे, कहिलेकाही लाग्छ कि यो ठाँउ
अरब होइन खै रब हुनु पर्ने हो।।
यो अरबको ठाँउमा मेरो कयौँ पुकारा
सुनिदिने रब मैले कैले भेटिन।।
म त त्यही कृषिप्रदान देशको मान्छे
जहाँ अन्नको पाथी फलाउने हजारौँ
विशाल फाँटहरुको ताँती लाग्ने गर्छन्
९तर म चाही०२ मेरो छोराले खाने
एक बटुको सब्जीको साथी किन्न
अरब आएको छु।।
जलसम्पदामा दोस्रो धनी देशको मान्छे म त
पुरै संसारको मुख खकाल्न पुग्ने पानी
मेरो देशसँग छ (तर म चाही) २
मेरो जीन्दगीको पुरै दुख पखाल्न
अरब आएको छु।।

मलाई पनि रुवाई अनि आफ्नो
आँखाको डिलडिल आशु चुहाई
मेरी प्यारी बोल्दै थि
दुख सुख यै गरी खाउला
आफ्नै देशमा रमाउला
तर के गर्नु, बग्दै गएको उसको आशु
जब मंगलसूत्र झुण्डिएको घाँटीमा पुग्यो
त्यो मंगलसूत्रको पाना भन्दा
बगेको आशुको दाना पो ठुलो देखे
हाम्रो मंगलताको लागी लाएको उसको
घाँटीको मंगलसूत्र अली ठुलो पार्दिन र
उसको भागमा खुशीको श्रङ्गार सार्दिन
म चाही अरब आएको छु।।

बुबाले ढाडमा भारी बोकेर अनी
आमाले चोकमा सब्जी जोखेर
जागिरे बनाउन मलाई पढाउनु भएको रे११
तर के गर्नु उहाहरुको दुखको कमाइले पाएको
मेरो पढाइको सर्टिपिकेट काठमाण्डौको
मेनपावर मा मात्रै काम आयो।।
(अनि म चाही) २
नेपाली नागरिक्तालाई सिरानी हालेर
कयौ सपना र रहरहरु मनमा पालेर
त्यै हरियो राहधानीलाई सबथोक ठानेर
अरब आएको छु।।
अब बन्द होस् बरु, विदेश पठाउने
पावर भएको मेनपावर हरु
बरु बाध्यै होस् नेपालीहरु बस्न स्वदेशमा
दुख होला, सफलता ढिलो आउला केही छैन
तर पक्का भन्छु म,
पर्दैन कोही विचल्लीमा फस्न विदेशमा।।

कहिल्यै नझुक्ने संसारकै अग्लो टाकुरा
भएको देशको मान्छे म त
तर आज झुक्न थालेको छ
केही गर्छु भन्ने जाँगरहरु
आज सुक्न थालेको छ
मेरो सपना र रहरको सागरहरु
९ महिना भयो बेरोजगार भएर बसेछु
साथमा न काम छ न पैसा छ
(अनि म चाही) २
यो अरबमा अनेक तनाब सहेर बसेछु।।
महिनौ भयो यो पेटले कसैको उधारो खान थालेको
एकोहोरो मन र दिमाग बैङ्कको ऋणमा जान थालेको
त्यसैले पिरोल्ने गर्छ मन
अरब आउन लालपुर्जाको धितो राखेको दिन सम्झदा
बिरोल्ने गर्छ घाउ
चर्को ब्याजमा साँहूसँग मागेको ऋण सम्झदा

गाँउमा हुँदा कहिले बाउसे गरे
कहिले आली लगाए
(तर त्यो खेतीले आमाले बनाएको काठको
सानो खुत्रुके भरिनु त परको कुरा) २
अघाउने गरी पेटको भोकसम्म कहिल्यै भरिएन
(अनि म चाही ) २
परिवारको भोको पेट भर्न अनि
आमाको खुत्रुकेमा पैसा जम्मा गर्न
अरब आएको छु।।

तर, अहिले म पीडाको जालमा लटपटिदैछु
कयौ पिर र तनाबको छालमा छटपटिदै छु
मलाई अब यो अरबमा
कुनै रब खोज्नु छैन
म आफ्नै देश आउन चाहन्छु
मरू मरू लाग्ने यो मरूस्थलबाट
छुटकारा पाउन चाहन्छु।।
मलाई डर छ मेरी प्यारीको
सानो पानाको मंगलसूत्र पनि चुटिने होकी
ताते ताते गरेर मेरी सानी छोरीलाई हिड्न
सिकाउने हात पनि पकडिन नपाई छुटिने होकी
मैले घोडा बनाएर खिएको बुबाको ढाडलाई
मेरो हातले मालिस गरिदिने रहर छ
आमाले बनाएको त्यो काठको बाकसलाई
पैसाको बिटाले भरिदिने रहर छ।।

आज म यँहा अलपत्र परेको छु
पटकपटक जीउदै पटकपटक मरेको छु
म भासिदै छु यो मरुभूमीमा कताकता
तर घिटघिट सास रहदा पनि
एउटा सानो आश अनि धेरै ठुलो विश्वास गरेको छु
सहयोग मागेको छु सबैसँग
यहाँबाट बाहिर निकालिदिन
प्रत्याशाको लामो लहरा छ अनि
भरोसाको ठुलो पहरा छ।
बिन्ती छ सबैसँग, सानो अनुरोध छ
बिन्ती छ सबैसँग, सानो अनुरोध छ।।

प्रतिक्रिया
सम्बन्धित समाचार