Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

सूर्योदय सामाजिक प्रतिष्ठानको स्मारिका तथा साहित्यिक सङ्गालो लोकार्पण

सूर्योदय सामाजिक प्रतिष्ठानको स्मारिका तथा साहित्यिक सङ्गालो लोकार्पण

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ १९ २०८३


सूर्योदय सामाजिक प्रतिष्ठानको स्मारिका तथा साहित्यिक सङ्गालो लोकार्पण

फिक्कल । साहित्य, सङ्गीत, कला–संस्कृति, समाज तथा धर्मदर्शनजस्ता विविध विषयको संरक्षण, प्रवर्द्धन र उजागर गर्ने उद्देश्यले स्थापित सूर्योदय सामाजिक प्रतिष्ठान ले प्रकाशित गरेको “सूर्योदय सामाजिक प्रतिष्ठान स्मारिका एवं साहित्यिक सङ्गालो” को आइतबार एक समारोहबीच लोकार्पण गरिएको छ।

सुनपा–१०, फिक्कलस्थित महिला सिर्जना बहुद्देश्यीय सहकारी संस्था को सभाकक्षमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतम को अध्यक्षता रहेको थियो भने सेवा निवृत्त उप–प्राध्यापक केशबहादुर राई प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सुनपा कार्यवाहक नगर प्रमुख दुर्गाप्रसाद बराल विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राईले पानसमा दीप प्रज्वलन तथा ब्यानर वाचन गरी गरेका थिए। स्वागत मन्तव्य बालकुमार फागो ले व्यक्त गरेका थिए भने गायत्रा ओली ले अतिथिहरूलाई उपर्ना तथा ब्याज वितरण गरेकी थिइन्।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष गौतमले स्मारिका तथा साहित्यिक सङ्गालो प्रकाशनले स्थानीय साहित्य, कला, संस्कृति र सामाजिक गतिविधिको अभिलेखीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रतिष्ठानले करिब २२० पृष्ठको उक्त प्रकाशनलाई संस्थाको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ। कार्यक्रमको सहजीकरण प्रतिष्ठानका उपाध्यक्ष केपी ढकाल ले गरेका थिए। कार्यक्रममा साहित्यकार, स्रष्टा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले शुभकामना मन्तव्य तथा सिर्जना वाचन गरेका थिए।

कार्यक्रममा केशवराज पौडेल, अर्जुन वेदना राई, सूर्यभक्त सापकोटा, सुबास राई, चन्दनकिशोर लिम्बू, संविद ढकाल, निर्मला कट्टेल, धनकुमार तामाङ, दीपक शर्मा अधिकारी, डिल्लीप्रसाद सुवेदी, नुरज भट्टराई ‘नदी’ (भाषा सम्पादक), केदारनाथ अर्याल, विक्रम सुन्दास, लीलानाथ भट्टराई तथा शिवप्रसाद अधिकारी ‘इलामे जेठो’ लगायत शुभकामना र रचना बाचन गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले स्मारिकाले स्थानीय प्रतिभा, साहित्यिक सिर्जना र सांस्कृतिक गतिविधिलाई व्यापक पाठकमाझ पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। लोकार्पणसँगै पुस्तक पाठक तथा साहित्यप्रेमीका लागि उपलब्ध गराइएको प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार