इलाम — इलामको माइजोगमाई गाउँपालिका–६ र वडा नं २ को सीमावर्ती क्षेत्र, थुम्के रिसोर्ट नजिक समुद्री सतहदेखि करिब २,५०० मिटर उचाइमा दुर्लभ हिमाली कालो भालु देखिएको छ। आज बिहान करिब ६:४५ बजे मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष तथा वन्यजन्तु फोटोग्राफर देवेन खरेल र वन्यजन्तु तथा प्रकृति फोटोग्राफर प्रज्वल खवासले अध्ययन तथा खोज अनुसन्धानका क्रममा उक्त भालु भेट्टाएर क्यामरामा कैद गर्न सफल भएका हुन्।
खरेल र खवास विगत दुई दिनदेखि सो क्षेत्रमा चरा तथा वन्यजन्तुको खोज, अध्ययन र अभिलेखीकरणमा संलग्न रहेका छन्। हिमाली क्षेत्रमा पाइने कालो भालुको प्रत्यक्ष अवलोकन तथा तस्बिर कैद हुनु जैविक विविधता संरक्षण र वन्यजन्तुको उपस्थितिको महत्वपूर्ण प्रमाणका रूपमा लिइएको खरेलले बताए । हिमाली कालो भालु नेपालका पूर्वदेखि पश्चिमसम्मका वन क्षेत्रमा पाइन्छ। विशेषगरी इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, लाङटाङ क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र, धौलागिरि र अन्य मध्य तथा उच्च पहाडी वनमा पाइने गरेको छ ।
सामान्यतया १,५०० देखि ४,००० मिटर उचाइसम्मका वन क्षेत्रमा बसोबास गर्छ। गर्मीयाममा माथिल्लो क्षेत्रमा र जाडोयाममा तल्लो क्षेत्रमा झर्ने प्रवृत्ति हुन्छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले हिमाली कालो भालुलाई संकटापन्न सुचीमा राखेको छ । सार्वजनिक गरिएका भालुका तस्बिरहरू फोटोग्राफर देवेन खरेलले आफ्नो क्यामरामा कैद गरेपछि क्यामराको स्क्रिनबाट मोबाइलमार्फत पठाएका प्रारम्भिक तस्बिरहरू हुन्। विस्तृत तस्बिर पछि सार्वजनिक गरिने जनाइएको छ।