इलाम । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत ३१ वर्षसम्म खेल प्रशासन र प्रशिक्षण क्षेत्रमा योगदान दिएका जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख तथा नायव वरिष्ठ कराते प्रशिक्षक योगबहादुर राई (योगेश चाम्लिङ) ५८ वर्ष उमेर पूरा गरेसँगै अनिवार्य अवकाशमा गएका छन्। २०५२ सालदेखि राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका राईले कराते प्रशिक्षक तथा खेल प्रशासनका विभिन्न जिम्मेवारी सम्हाल्दै लामो समय खेलकुद क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
उनले इलामसहित कोशी प्रदेशमा कराते खेलको विस्तार, खेलाडी उत्पादन, प्रशिक्षक विकास तथा खेल प्रशासनलाई व्यवस्थित बनाउन उल्लेखनीय योगदान पुर्याएका छन्। उनको अवकाशका अवसरमा बिहीबार सुनसरीको इटहरीस्थित प्रादेशिक रंगशालामा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष रामप्रसाद महतोले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै बिदाइ गरे।
कार्यक्रममा बोर्डका सदस्य सचिव विप्लव घोष, बोर्डका पदाधिकारी, कर्मचारी, खेलकर्मी तथा खेलप्रेमीहरूको सहभागिता रहेको थियो। वक्ताहरूले राईले खेलाडी उत्पादनदेखि खेल प्रशासनको संस्थागत विकाससम्म पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै उनको सेवाको स्मरण गरेका थिए। संयोगवश सोही दिन राईको जन्मदिनसमेत परेकाले कार्यक्रममै केक काटेर जन्मोत्सव मनाइएको थियो।
५८ वर्षको उमेर पूरा गरेसँगै अनिवार्य अवकाश पाए पनि खेलकुद क्षेत्रमा राईको अनुभव, ज्ञान र योगदान आगामी दिनमा पनि प्रेरणाको स्रोत रहने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो।