Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

आन्द्रे पिर्लोले थाम्न सक्लान युभेन्टसको भार ?

आन्द्रे पिर्लोले थाम्न सक्लान युभेन्टसको भार ?

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन २६ २०७७


आन्द्रे पिर्लोले थाम्न सक्लान युभेन्टसको भार ?

यो साता इटालियन क्लब युभेन्टसको लागि उतरचढावपुर्ण समय रह्यो । त्यसो त जारी सिजन नै संघर्षपुर्ण अवस्थाबाट गुज्रिएको युभेन्टसका लागि यो साता अझ बढि चर्चाको बिषय बन्यो । युभेन्टस च्याम्पियन्स लिगको प्रि–क्वाटरबाट बाहिरियो । त्यसको केही घण्टामै ९ संस्करणको सिरि ए बिजेताले अप्रत्यासित निर्णय लियो जसको कल्पना समेत गरिएको थिएन् ।

प्रशिक्षक माउरिजियो सारी बर्खास्तमा परेपछि नयाँ प्रशिक्षको बिषयमा मिडियामा भएका चर्चा भन्दा फरक निर्णय भयो । सम्भावित सुचीमा रुपमा पुर्व टोटोनह्रयाम प्रशिक्षक माउरिसियो पोर्चेटिनो, लाजियोका प्रशिक्षक सिमोन इन्जागी, रियल मड्रिडका प्रशिक्षक एवम युभेन्टसका पुर्व खेलाडी जिनेदिन जिदान र सार्रीले प्रतिस्थापन गरेका प्रशिक्षक मासिमिलानो अलेग्रीको चर्चा थियो । तर अप्रत्यासित रुपमा आन्द्रे पिर्लोको काधमा जिम्मेवारी आइप¥यो । फ्रेन्च क्लब लायोनसँग अवे गोलका आधारमा पछि पर्दै च्याम्पियन्स लिगको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इटालियन महारथी युभेन्टसले महत्वपुर्ण निर्णयहरु ब्याक टु ब्याक लियो । जुन आफैमा अप्रत्यासित छ ।

निरन्तर दबाब अन्तमा वर्खास्त
भनिन्छ प्रशिक्षक केवल सफलताको साक्षी मात्रै हो । जब असफल हुन्छ त्यसपछि ब्यबस्थापनको पहिलो सिकार कोही हुन्छ भने त्यो प्रशिक्षक नै हो । त्यस्तै भयो इटालियन क्लब युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीलाई । २९ बर्षमा १९ वटा क्लब सम्हालेपछि बल्ल सार्रीले युभेन्टसमा प्रवेश पाएका थिए । त्यसो त युभेन्टस सार्रीले शिर्ष डिभिजनको क्लब सम्हालेको पहिलो पटक होइन् । इटालियन सिरि ए मा प्रवेश उनले सन २०१२ मा इम्पोलीबाटै गरेका थिए । ३ बर्ष उनी त्यहाँ रहँदा क्लब सिरि ए मै थियो । तर २०१८–१९ को सिजनमा क्लब १८ औ स्थानमा रहँदै घटुवा भयो ।

इम्पोलीपछि ३ सिजन सिरि ए कै अर्को क्लब नापोलीमा बिताए । उनको नापोली प्रवेशसंगै बार्यन म्युनिखबाट स्पेनिस गोलरक्षक पेपे रेना, ब्राजिलियन एलेन मार्कोस, अल्बानियाका राइट ब्याक डिफेन्डर अलसइद हुजाईलाई भित्र्याए । पहिलो पटक सन २०१५–१६ मा क्लब सम्हाल्दा नापोली सिरिएको दोश्रो स्थानमा रहयो । त्यसपछि तेश्रो र दोश्रो स्थानमा क्लबको यात्रा समाप्त भयो । नापोली पछि एक सिजन प्रिमियर लिग चेल्सीमा बिताउँदा क्लब तेश्रो स्थानमा रहँदै युरोपा लिगको लागि छनौट भएको थियो । युरोपा लिग चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनललाई हराउँदै जित्यो ।

जुन २०१९ मा मासिमिलानो अलेग्रीलाई प्रतिस्थापन गर्दै उनको युभेन्टस यात्रा सुरु भयो । जुन अपेक्षाको रुपमा क्लबले सार्री भित्र्याएको थियो त्यो पुरा भएन् । क्लब प्रवेश गरेको २ महिना नवित्दै उनी निमोनियाको सिकार भए । गत सिजनको सुरुवाती खेलमा पुर्व क्लब नापोली र पार्मा विरुद्धको खेलमा उनी प्रशिक्षकको रुपमा मैदानमा देखा पर्न सकेनन् । सन २०१८–१९ को बिजेताको रुपमा इटालियन सुपरकपमा सहभागी भएको युभेन्टस फाइनल खेलमा लाजियोसंग ३–१ ले हार्न पुग्यो । सन २०२० को कोपा इटालिया फाइनलमा युभेन्टस नापोलीसंग टाइब्रेकरमा हार्न पुग्यो ।

दुई पटकको युरोपियन च्याम्पियन युभेन्टस च्याम्पियन्स लिग कुनैपनि हालतमा जित्ने मनस्थीतीमा रहेको थियो । १९९६ यता उपाधि जित्न नसकेको कारण सन २०२० को च्याम्पियन्स लिग महत्वकांक्षी लक्ष्य थियो युभेन्टसको लागि । च्याम्पियन्स लिग जित्नकै लागि विश्व रेकर्ड मुल्यमा क्लबले रियल मड्रिडबाट क्रिस्टियानो रोनाल्डो भित्र्याएको थियो । सिरि ए पनि संघर्षपुर्ण रुपमा मात्रै जितेकाले सार्रीलाई क्लबमा रहन च्याम्पियन्स लिगमा राम्रो गर्नुको विकल्प थिएन् । उनीमाथि क्लबको चर्को दबाब थियो । जसले औपचारिकता पाउन मात्र बाँकी थियो ।

उक्त औपचारिकताले पनि च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा लियनोसंग भोगेको १–० गोल अन्तरको पराजयका कारण पुर्णता पायो । युभेन्टस च्याम्पियन्स लिगको राउन्ड अफ १६ को दोश्रो लेगमा लियोनलाई २–१ ले पराजित गरेपनि अवे गोलको आधारमा प्रतियोगिताबाट बाहिरिन पुग्यो । त्यसै कारण युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको २४ घण्टा नवित्दै सार्रीलाई बर्खास्त ग¥यो । सिजनको सुरुवातमा चेल्सी छोडेर युभेन्टस आएका ६१ वर्षिय सारीले गत समरमा युभेन्टससँग तीन वर्षे सम्झौता गरेपनि टिमको खराव प्रदर्शनका कारण उनी टिक्न सकेनन् ।

सिरी ए मा नै संघर्ष
संधै फराकिलो अन्तरले सिरि ए जित्ने युभेन्टस यो पटक भने लिगको अन्तिम २ खेल बाँकी रहँदा मात्र उपाधि जित्न पुग्यो । लिगको पछिल्लो ८ खेलमध्ये टोलीले जम्मा २ खेलमा जित हासिल गरेको थियो । अन्य टिमको खराव प्रदर्शनका कारण उपाधि टुरीनमा राख्न मद्धत पुग्यो । उपाधि जित्ने क्रममा युभेन्टसले लिगको ३८ खेलमा ८३ अंक जोड्यो । यो पछिल्लो एक दशकमा युभेन्टसले जोडेको सबैभन्दा कम अंक हो ।

पछिल्लो ८ सिजन उपाधि जित्दा डिफेन्समा बलियो देखिएको युभेन्टसका लागि यसपटक भने ४३ गोल व्यहोर्दै सबैभन्दा खराब सिजन रहयो । यसबाहेक युभेन्टसले लिग अवाधिभर ७ पटक हारको सामना गर्नुपर्यो । विगत ८ वर्षमा युभेन्टसको नतिजा यति खराब रहेको यो नै पहिलो पटक हो । यो सिजन इन्टर मिलानसँग केवल १ अंक मात्र फरक भयो त्यसको सम्पुर्ण जिम्मा क्लबले सार्रीमाथी थोप¥यो र अन्तत वर्खास्त गर्ने निर्णय लियो ।

३७ बर्ष अघिको किर्तिमान तोड्ने सार्री
युभेन्टसले लिग जितेपछि भने सार्रीले ३७ बर्ष अघिको किर्तिमान भंग गरे । ‘सिरि ए जिताउने सवैभन्दा बढि उमेरका प्रशिक्षक’ को रुपमा सार्रीको नाम लेखियो । युभेन्टसले उपाधि जित्दा उनी ६१ बर्ष ६ महिनाका थिए । सार्री भन्दा अघि बढि उमेरमा उपाधि दिलाउने किर्तिमान एसएस रोमाका निल्स लिडहोमको नाम थियो । लिडहोमले १९८२÷८३ को उपाधि रोमालाई दिलाउँदा ६० बर्ष ७ महिनाका थिए ।

पिर्लोको अवसर र चुनौती
यसअघि माथिल्लो स्तरमा कुनै पनि अनुभव नरहेका ४१ बर्षिय पिर्लो युभेन्टसको अण्डर–२३ टोली छोड्दै दुई बर्षको सम्झौतामा सिनियर टोलीको बागडोर सम्हाल्न टुरीन आईपुगेका छन् । क्लबमा खेलाडीको रुपमा डेब्युदेखि नै नेतृत्व गर्ने क्षमता भएको बिश्वासका कारण नै पिर्लोलाई प्रशिक्षको रुपमा क्लबले चुन्यो । युभेन्टसले पिर्लोलाई नियुक्त गरेपछि भन्यो ‘युभेन्टसको एक्सपर्ट र प्रतिभावान टोलीले नयाँ उचाई छुन मद्दत गर्ने विश्वास सहित उनको बिश्व फुटबलको करिअरमा नयाँ अध्यायको शुरुवात हुदैछ । उनी ‘माइस्ट्रोबाट मिस्टर’ बन्दैछन् ।

’खेलाडीको रुपमा युभेन्टसमा चार बर्ष बिताएका पिर्लोसँग प्रशिक्षको कुनै अनुभव छैन तर उनीप्रति क्लबले देखाएको विश्वास विश्व फुटबलका लागि सरप्राइज हो । त्यसो त पिर्लोका लागि जति ठुलो जिम्मेवारी हो त्यति नै ठुलो जोखिम युभेन्टसका अध्यक्ष आन्द्रे एग्नेलीको पनि हो । उनले क्लबका लागि एक साहसिक निर्णय गरेको फुटबल विश्लेषकहरुको बुझाइ छ । जिनेदिन जिदान, फ्रांक लाम्पार्ड र जेनारो गाट्टुसो जस्ता पुर्व खेलाडीहरु अझ समकालिन पुस्ता प्रशिक्षक बनेका छन् तर पिर्लो भने विना अनुभव उच्च स्थानमा पुगेका छन् । उनको यो लिगेसीलाई सम्मान र विश्वास गरेको छ । २०११ देखि २०१५ सम्म क्लबमा प्रभाव जमाएका पुर्व मिडफिल्डर पिर्लोलाई सफलतामा विश्वास पनि रहेको छ ।

खेलाडीको रुपमा पिर्लोको करिअर लेजेण्डरी रह्यो । उनले चार लिग उपाधि, कोपा इटालिया र दुई इटालियन सुपर कप जिते । अब क्लबलाई प्रशिक्षकको रुपमा सोही उपाधि दिलाउनु उनीमाथी चुनौती थपिएको छ । त्यसो त उनले एसी मिलानका लागि दुई च्याम्पियन्स लिग र दुई इटालियन सिरी ए पनि जिताएर करिअरमा सबैखाले उपाधिको अनुभव उठाएका छन् । इटालीले सन् २००६ को बिश्वकप जित्दा मुख्य भुमिकामा रहेका पिर्लोले देशका लागि १ सय १६ खेल खेले ।

२०१७ मा खेलाडी जीवन समाप्त गरेपछि फुटबलको दुनियामा बाहिर नदेखिएका उनले टेलिभिजन पण्डितको रुपमा काम गर्दै आइरहेका थिए । युभेन्टसकै पुर्व प्रशिक्षक मार्सेलो लिप्पीले पिर्लोको बारेमा भनेका छन् ‘ पिर्लो एक मौन नेतृत्वकर्ता हो । उसले खुट्टाको भाषा बोल्छ ।’ युभेन्टसमा अब पिर्लो युवा खेलाडीहरुसँगै आफ्ना समकक्षीहरुलाई पनि प्रशिक्षण दिइरहेको हुनेछन् । ती मध्ये एक हुन उनी भन्दा एक बर्ष पाका गोलरक्षक जियानलुईजी बुफोन । बुफोनले जिस्कँदे पिर्लोलाई भने ‘मैले अब तिमीलाई मिस्टर भन्नु पर्ने भयो ? नयाँ चुनौतीका लागि शुभकामना आन्द्रे ।’ त्यो उनका निम्ति एउटा अवसरसंगै चुनौती पनि हो । त्यसलाई कसरी उपयोग गर्ने छ हेर्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार