Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अर्थोडक्स चियाको बजार : समस्या र सम्भावनाहरु

अर्थोडक्स चियाको बजार : समस्या र सम्भावनाहरु

  • विष्णु प्रसाद काफ्ले
  • आइतबार, बैशाख २८ २०७७


अर्थोडक्स चियाको बजार : समस्या र सम्भावनाहरु

तथ्याङ्कमा चिया 
चिया विश्वकै एउटा लोकप्रीय स्वस्थ पेय पदार्थका रुपमा रहेको छ । सर्वप्रथम विस १९२० मा इलाम वगानमा चीनबाट उपहार स्वरुप प्राप्त चियाको विउ तत्कालिन बडाहाकिम गजराजसिंह थापाको पहलमा रोपण शुरु भएको चियाको इतिहास १५७वर्ष लामो छ ।यसको १५ वर्ष पछि विस १८७८ सालमा नेपालमै पहिलो चिया प्रशोधन कारखाना स्थापना भएको थियो । यसरी अघि बढेको नेपालको चिया इतिहासमा झण्डै १०८ वर्ष पछि विस २०२८ सालदेखि साना किसानहरुले चिया खेती शुरु गरेको पाइन्छ भने विस २०३९ सालमा तत्कालिन राजा वीरेन्द्रले पुर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्र घोषणा गरे पछि चिया खेतीले व्यापकता पाएको देखिन्छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पछिल्लो तथ्यांक अनुसार नेपालमा २८,७३२ हेक्टर क्षेत्रफलमा चिया लगाएको छ जस मध्ये २३,२५९ हेक्टर चिया क्षेत्र यसै प्रदेशमा रहेको छ । सिटिसी (टुक्र्याउने, किच्याउने र दाना बनाउने विधि) चियाको कुल क्षेत्रफल ११,४४३ हेक्टर र पत्तीको स्वरुप दुरुस्त राख्दै प्रशोधन गरिने अर्थोडक्स चियातर्फ १७,२८९ हेक्टर क्षेत्र रहेको छ । वार्षिक रुपमा सिटिसी चिया १९,१०८ मेट्रिक टन र अर्थोडक्स चिया ६०९८ मेट्रिकटन उत्पादन हुने गरेको छ ।
सिटिसी चिया विशेष गरी झापा जिल्लामा रहेको छ भने अर्थोडक्स चिया इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा लगायत पहाडी जिल्लामा उत्पादन हुदै आएको छ ।चिया खेतीमा करीब ११६ वटा नीजि बगान र १५२३४ साना किसानहरुका माध्यमबाट ७० हजार बढी प्रत्यक्षअप्रत्यक्ष रोजगारीमा सम्लग्न रहेका छन् भने ३० हजार बढी पुर्ण कालिन रोजगारी यस क्षेत्रले प्रदान गर्दै आएको छ । चिया क्षेत्रमा करीब ९५ वटा चिया उत्पादन सहकारीमा करीब ७५०० घर परिवार प्रत्यक्ष आवद्ध भएका छन् । आम्दानी, रोजगारी र विदेशी मुद्रा आर्जनका दृष्टिले नेपालको एउटा प्रमुख नगदे बालीका रुपमा रहेको छ । नेपालमा उत्पादन हुने चियामध्ये करीब ९९ प्रतिशत हिस्सा प्रदेश नंं १ मै रहेको छ ।
नेपालको सिटिसी चियाको करीब ५० प्रतिशत आन्तरिक बजार तथा ५० प्रतिशत भारतीय बजारमा निकासी हुदै आएको छ भने अर्थोडक्स चिया स्वदेशी बजारमा करीब ५ देखि ७ प्रतिशत, सोहि हाराहारीमा युरोप, अमेरिका, अष्ट्रेलिया, जापान रसिया, चीनलगायत तेस्रो मुलुक र करीब ८५ प्रतिशत भारतीय बजारमा निर्यात हुदै आएको छ । यसरी वार्षिक रुपमाझण्डै साढे तीन अर्ब रुपैया बराबरको नेपाली चिया निर्यात हुदै आएको छ । विगत १० वर्षमा नेपाली चियाको निर्यात बजार वार्षिक करीब ७ प्रतिशतका दरले वृद्धिहुदै आएको छ । नेपाली चियाको निर्यात बजार सम्भावना प्रचूर रहेको देखिन्छ । साथै उत्पादन सामाग्री आपूर्तिकर्ता, उत्पादक, संकलक, प्रशोधनकर्ता, थोक तथा खुद्रा व्यापारी, निर्यातकर्ता लगायत मुल्य श्रृंखलामा आवद्धभएका सबैलाई व्यवसायिक लाभको सुनिश्चित गर्ने एउटा विशिष्ट कृषि क्षेत्रका रुपमा रहेको छ ।
के हो अर्थोडक्स चिया ?
यो परम्परागत प्रशोधन विधिबाट विकशित हुदै आएको तयारी चियाहो । यहाँ सन्दर्भ र समिप्यताका दृष्टिले ग्रीन र अन्य पत्ती चियालाई समेत समग्रमा अर्थोडक्स भनेर चर्चा गर्न खोजिएको छ । यो चिया प्रशोधन गर्दा टिपिएको मुना एवम् पातको स्वरुप सके सम्म दुरुस्त रहने गरी विभिन्न विधि र प्रविधि बाट तयार गरीन्छ । ग्रीन र अर्थोडक्स चिया प्रशोधनका विधि र प्रविधिमा धेरै समनाता रहेका छन् । सामान्यतःअर्थोडक्स चिया बनाउदा हरियो पत्ति टिपाई पछि केहि समय ओइल्याउने, बटार्ने (रोलिङ), फर्मेन्टेसन (जैविक रासायनिक प्रक्रियाबाट स्वाद र सुगन्धित बनाउने) , सुकाउने, सर्टिङ (केलाउने) , ग्रेडिङ (वर्गीकरण) र प्याकेजिङ (होलसेल, खुद्रा या टिव्याग) जस्ताप्रविधि र प्रक्रियाहरु अवलम्बन गर्ने गरीन्छ ।
अर्कातिर ग्रीन (हरियो) चिया बनाउदा डिइन्जाइमीङ प्रविधि (पातको हरियो पनाकायम राख्ने अर्थात् जैविक रासायनिक प्रक्रिया हुन रोक्ने विधि) अपनाइन्छ । प्रविधिको विकास र उपजको विविधीकरण सँगै अहिले बजारमा ग्रीन तथा अर्थोडक्स चियापर्ल (दाना वा डल्ला), ब्रीक (इटाजस्तो आकार), केक, चेप्टो आदिविविध आकार प्रकारमा समेत देखिएकाछन् । खास गरी सिटिसी चिया होचा र तल्लो उचाई भएका क्षेत्रमा उत्पादन गरिदै आएको छ भने ग्रीन र अर्थोडक्स चिया मध्य तथा उच्चपहाडी क्षेत्रमा उत्पादन हुदै आएको छ ।
नेपाली अर्थोडक्स चियाको विशिष्टिता

समुन्द्री सतहबाट करीब १००० देखि २२०० मीटरको उचाईमा पुर्वी पहाडी जिल्लाहरुमा उत्पादन भइरहेको अर्थोडक्स चिया यहाँको पर्यावरण, जैविक विविधता, हिमाली हावापानी, माटो र भू–बनावटका कारण स्वाद, बास्ना (सुगन्ध) र गुणस्तर दृष्टिले एउटा विशिष्ट र मौलिक प्रकारको रहेको छ । त्यसमा पनि साना किसान बाहुल्य रहेको यहाँको चिया उत्पादन प्रणाली तथा साना मझौला प्रशोधनकर्ताहरुले प्रत्यक्ष स्याहार संभार, बगान व्यवस्थापन, गुणस्तरीय टिपाई, ससाना मेसिनहरु मार्फत प्रशोधन गर्ने भएकाले प्रविधि र कला दुवैले मौलिक र विशेष प्रकारको हुने गरेको विश्व बजारका चिया पारखी र उपभोक्ताहरुको धारणा रहेको छ ।
सानो र सुन्दर उद्योग अनि किसानआफै उद्यमीको अवधारणामा नेपाली अर्थोडक्स चियाउद्योग व्यवसायहरु गुणस्तर र मौलिकता तर्फ उन्मुख हुदै गएका छन् । आवक्यक लगानी, स्थापित ब्राण्ड, प्रतिस्पर्धी प्रविधि र बजार प्रवद्र्धनमा थुप्रै कठिनाई र उल्झनहरुका बावजुद नेपाली अर्थोथक्स चियाको मौलिक स्वाद, गुण र बास्ना युक्त ब्ल्याकटि, गोल्डेन टि, ह्वाइट टि, सिल्भर टिप्स, गोल्डेन टिप्स, विभिन्न प्रकारका ग्रीन टि, उलङ टि लगायतका उत्पादनहरुले अमेरिका, युरोप, चीन, अष्ट्रेलिया लगायत देशका विभिन्न अन्तराष्ट्रिय मेला, प्रदर्शनी, परीक्षण र प्रतिस्पर्धाहरुमा अब्बल चियाका रुपमा पुरस्कृत हुदै विश्व बजारका ग्राहकहरुको मन र विश्वास जित्न सफल भएका उदाहरणहरु हामी माझ रहेका छन् । अर्कातिर नेपालीअर्थोडक्स चियाको आन्तरिक (स्वदेशी) उपभोक्ताहरु माझ विस्तारै स्वास्थ्य तन्दुरुस्ती, स्वाद र संस्कृतिका रुपमा अर्थोडक्स चियापिउने चलन समेत लोकप्रीय बन्दै गएको छ ।
बजारीकरणका समस्याहरु
नेपालको मौलिक हावापानी, विशिष्ट पर्यावरण, जैविक विविधता, माटो, भूबनौट र खेती प्रणालीले साथ दिदादिदै पनिपर्याप्त बजार पूर्वाधार र प्रविधि, गुणस्तर प्रवद्र्धन, प्रमाणीकरण, उच्च मुल्य र सम्भावना रहेका तेस्रो मुलुकका बजारको खोजी र प्रवद्र्धन, आन्तरिक बजारीकरण, बजारीकरणका रणनीति र सीप क्षमताको विकासमा पर्याप्त ध्यान र लगानीको कमीले गर्दा सम्भावित अवसरहरुलाई लाभमा परिणत गर्न सकिएको छैन । अर्थात् नेपालीअर्थोडक्स चियाको निर्यात बजारमा भारतको एकलौटी भर पर्नु पर्ने र उत्पादककिसान, प्रशोधनकर्ताको को न्यूनतम् लागतमूल्य समेत नबेहोर्ने गरी अत्यन्तै न्यून मुल्यमा विक्रि गर्नु पर्ने तीतो यथार्य नेपाली चिया किसान उद्यमी र व्यवसायीहरुले भोग्नु परेको परीरहेको छ । यो भन्दा दोब्बर तेब्बर सरदर मुल्य सजिलै पाउन सकिने तेस्रो मुलुकका बजार र क्रेताहरु सम्म पुग्ने अवसरलाई हामीले गुमाइरहेका छौं । नेपाली चियाबजार प्रवद्र्धनका क्षेत्रमा देखिएका केहि ज्वलन्त समस्याहरुलाई संक्षिप्तमा केलाउने प्रयास यहाँ गरीएको छ ।


पहिलो, नेपाली अर्थोडक्स चिया प्राकृतिक हावापानी र विशिष्टताका दृष्टिले गुणस्तरीय भए पनि यसको आफ्नै नेपाली ब्राण्डलाई विश्वबजार र उपभोक्ता माझ पुग्न र प्रवद्र्धन गर्न सकिएको छैन । जसले गर्दा गुणस्तरीय तयारी चिया उत्पादनका बावजुद उपभोक्तामाअलग्गै पहिचान र विश्वास स्थापित हुन सकेको छैन । दोस्रो, ससाना र धेरै संख्यामा चिया किसान उद्यमी र प्रशोधनकर्ताहरुले आफ्नै तौरतरिका र क्षमताको उपभोग गरी उच्च गुणस्तरको चिया बनाइ रहेका भए पनि निर्यात बजारले माग गर्ने परिमाणमा एकरुपकतायुक्त चिया आपूर्ति गर्न सकिरहेको देखिदैन । जसले गर्दा एक पटक रुचाईको गुण र प्रकारका चियाअर्को पटक समानगुणस्तर र प्रकारको नहुने समस्याले बजारको विश्वासनीयता कायम गर्न कठिनाई रहेको छ ।
तेस्रो, नेपाली प्रशोधन कर्ताहरुले चियाको प्रशोधन गरी उत्पादन गरेको चियाको गुणस्तर उच्च गुणस्तरको हुदाँहुदै पनि तत्पश्चात उपयुक्त भण्डार पूर्वाधार, प्याकेजिङ, भण्डारण विधि र प्रविधिको अभावले छोटो समयमा नै गुणस्तरमा ह्रास हुने र विश्वबजारले माग गरे बमोजिमको चियानिर्यात गर्न कठिनाई देखिएको छ । चौथो, अहिले ससाना र मझौला प्रशोधनकर्ता र उद्यमीहरुले सिमति परिमाणमा केहि अन्तराष्ट्रिय क्रेता र बजारमा अर्थोडक्स चिया निर्यात गरिरहेका भए पनि त्यो खर्चालू र झन्झटिलो एवम् वित्तीय क्षमता बाहिरको छ ।
सामूहिक बजारीकरणको अभ्यास कमै मात्र भइरहेकोले उच्च मुल्यका निर्यात बजारमा नेपाली साना चिया उद्यमीहरुको पहुँच, बजार सुचना, निर्यात प्रक्रिया, गुणस्तर सुनिश्चितता, परिमाण, विश्वसानीयता र पहिचान पर्याप्त मात्रामा दिन सकिरहेका छैनन् । नेपालीचियाको बजार उक्सिदा दिगो आम्दानी, व्यापक रोजगारी र वैदेशिक मुद्राआर्जन गरी व्यापार सन्तुलन र आर्थिक विकासमा टेवा पुग्ने त छदैछ, अर्थोडक्स चिया सेवनले नेपालीको एउटा मौलिक संस्कृति र चलनमात्रै होइन स्वास्थ्य, स्वाद, स्वस्फुर्ति एवम् आफ्नै माटो प्रतिको माया र राष्ट्रिय भावना समेत प्रतिविम्बित गर्नेछ ।
पाँचौं, युरोप, अमेरिका, जापान, अष्ट्रेलिया लगायत तेस्रो मूलुकका बजारमा चियानिर्यात गर्दा निश्चित मापदण्ड, गुणस्तर र मान्यता प्राप्त प्रमाणीकरण (खाद्य गुणस्तर, अर्गानिक लगायतका)  आदिको खाँचो हुन्छ । साना किसान उद्यमी र व्यवसायीहरुको प्राविधिक तथा वित्तीय क्षमता र पहुँचका दृष्टिले यो खर्चिलो र झण्झटिलो छ । हाम्रो सन्दर्भमा यस्ता प्रक्रिया, प्रावधान र आवश्यकताहरु पुरा गर्ने साना किसान, उद्यमी र उद्योगीहरु लक्षित सामूहिक प्रमाणीकरण, पूर्वाधार, र प्रविधिहरु नरहेकाले चाहेर पनि प्राकृतिक रुपमा नै गुणस्तरीय एवम् अर्गानिक नेपाली अर्थोडक्स चियाको निर्यात बजार मुल्य, परिमाण र गुणस्तरका दृष्टिले अपेक्षित रुपमा फस्टाउन सकेको छैन ।
यसबाहेक पछिल्ला दिनहरुमा आन्तरिक बजार र उपभोक्ता माझ अर्थोडक्स चिया पिउने चलन बढ्दै गएको छ । तर आन्तरिक बजार विस्तारको प्रचूर अवसर हुदाँहुदै पनि सम्भाब्य बजारहरुमा नेपाली श्रम, सीप र लगानीबाट उत्पादित चिया प्रवद्र्धन, बजारीकरण र नीतिगत सहजीकरणको कमीले नेपाली उपाभोक्ता र बजार सम्म पनि लैजान सकिएको छैन । कमसेकम पहिलो चरणमा सरकारी तथा सार्वजनिक निकायहरुका साथै कर्पोरेट क्षेत्रमा यसको संरक्षित प्रवद्र्धन गर्न थालियो भने पनिअर्थोडक्स चियाको बजारमा ठूलो भरथेक हुन सक्ने देखिन्छ । तर हालसम्म यसका लागि संस्थागत, नीतिगत र व्यवहारिक प्रयास र पहल कमै मात्र भएको छ । स्वदेशी बजार, होटल, सार्वजनिक निकाय र अन्य कर्पोरेट क्षेत्रहरुमा पठाउन मिल्ने आकर्षक प्याकेजिङ, टि–व्यागिङ लगायतका प्रविधि र लगानी एउटा सानो किसान वा उद्यमीले मात्रै गर्न सक्ने कुरो होइन । यहाँ सामूहिक लगानी, प्रवद्र्धन र बजारीकरणको अभावमा आन्तरिक बजारको सम्भावनालाई लाभमा परिणत गर्न सकिएको छैन । सरकार र चिया विकास बोर्डको पर्याप्त सहजीकरणको समेत कमी रहेको छ ।
बजारीकरणका अवसरहरु
चिया यस्तो क्षेत्र हो जसले नेपाली कच्चापदार्थ, श्रम, सीप, र लगानीका माध्यमबाट हजारौंलाई रोजगारी, आम्दानी र वैदेशिक मुद्रा आर्जन गरी समग्र मुलुककै व्यपार सन्तुलनमा सकारात्मक योगदान पुर्याउन सक्छ । जसका लागि हामी सँग निर्यात बजार र आन्तरिक बजार दुवैको अवसर र सम्भावनाहरु प्रशस्त रहेका छन् । अर्थोडक्स चियाको विश्व बजारमा एउटा विशिष्ट पहिचान बनाएको दार्जिलिङ चिया र नेपालीअर्थोडक्स चिया उत्पादनभइरहेको भौगोलिक बनावट र हावापानीमा धेरै हद सम्म समानता रहेको छ ।
अझ नेपाली चिया दार्जिलिङको भन्दा जवान बोट, साना किसानहरुले धेरै स्यहार सम्भार गरी गुणस्तरीय उत्पादन गरेको, साना मझौला उद्योगी प्रशोधनकर्ताहरुले प्रविधि, कला, सीप र श्रम संयोजन गरी बनाइएको विशिष्टगुण, स्वाद र सुगन्ध युक्त भएको हुनाले विश्वबजारमा यसको अलग्गै पहिचान, ब्राण्ड र विश्वास आर्जन गर्न सकिने प्रचूर सम्भावना रहेको छ । अमेरिका, जर्मनी, रसिया, जापान, अष्ट्रेलिया, चीन, ताइवान, क्यानडा, फ्रान्स लगायत तेस्रोमूलुकका आयातकर्ताहरुबाट पछिल्ला दिनहरुमा नेपाली अर्थोडक्स चिया रुचाएर माग गरिएका दृष्टान्तहरु यसैका उदाहरण हुन् । आवश्यक पूर्वाधार, प्रविधि, लगानी, गुणस्तर, प्रमाणीकरण र नेपाली ब्राण्ड स्थापित र प्रवद्र्धित गरी व्यवस्थित बजारीकरण गर्न सकेको खण्डमा यसले विश्व बजारको प्रतिस्पर्धामा नेपाली अर्थोडक्स चिया खरो रुपमा उत्रन सक्छ भन्ने प्रमाणित गरेको पनि छ ।
यसकालागि सरकारी, नीजि, सहकारी साझेदारीका रुपमा रणनीतिक प्रवद्र्धन मोडेलहरुको विकास गरी कार्यन्वयनमा ल्याउन सकिन्छ । हाल भारतमा निर्भर रहेको नेपाली अर्थोडक्स चियाको निर्यातलाई तेस्रो मुलुकहरुमा विविधिकरण गर्दै अहिलेको ५–७प्रतिशतलाई बृद्धि गरी ३०–४० प्रतिशत र भारतीय बजारमा करीब ८५ प्रतिशतलाई २५–३० प्रतिशतमा झार्ने या प्रतिस्पर्धात्मक मुल्यमा विक्रि वितरण गर्न सकिन्छ । पछिल्ला दिनमा नेपाली चिया प्रति देखाएको भारतीय रवैया र अवरोधका सङ्केतहरुले पनि यहि सुझाएको छ ।
अर्थोडक्स चियाको आन्तरिक बजार प्रवद्र्धन एउटाअर्को महत्वपुर्ण अवसर रहेको छ । देशमा रहेको करीब ७ देखि १० लाख संख्याको सरकारी, संगठित सार्वजनिक, कर्पोरेट क्षेत्र, होटेल लगायतलाई नीतिगत, संस्थागत र व्यवसायिक रुपमा समेट्ने हो भने अहिलेको ५–७प्रतिशतआन्तरिक खपतलाई सहजै ३०–३५ प्रतिशत सम्म बढाउन सकिने देखिन्छ । यसो गर्दा हाल उत्पादनभइरहेको अर्थोडक्स चिया र आगामी १०–१५ वर्ष पछिसम्म वृद्धिहुन सक्ने उत्पादनको बजार समेत सहजै सम्बोधनहुन सक्ने आंकडाहरु सहजै अनुमान गर्न सकिन्छ ।
यसकालागि सरकारी नीजि तथा सहकारी साझेदारीको अवधारणामा आन्तरिक बजार विस्तार र प्रवद्र्धन गर्न सकिने छ । सार्वजनिक नीजि र सहकारी साझेदारीमा अर्गानिक खेति, प्रमाणीकरण, आफ्नै पहिचान र ब्राण्डको प्रवद्र्धन र बजारीकरण गर्न सके चिया एउटा पर्यावरणमैत्री, सामाजिक रुपमा मनासिब, आर्थिक रुपमा सबल र दिगो एवम् फलदायीआर्थिक विकासको क्षेत्रका रुपमा रहने निश्चित छ ।
अब के गर्नु पर्ला ?
नेपाली अर्थोडक्स चियाको निर्यात एवम् आन्तरिक बजारीकरणका सम्भावनाहरु, साना किसानतथा साना तथा मझौला उद्यमी÷उद्योगीहरुले भोगेका समस्या, कठिनाई र उल्झनहरु, लगानी, पूर्वाधार र प्रविधि, मापदण्ड र प्रमाणीकरण सेवा, बजार खोजी, ब्राण्ड र बजार प्रवद्र्धन लगायतका ज्वलन्त समस्या र आवश्यकताहरुलाई दृष्टिगत गरी झण्डै २०० बढी साना ठूला उद्योगी, उद्यमी, व्यवसायी र ती उद्योग व्यवसायसँग प्रत्यक्ष जोडिएका हजारौं साना किसानहरुका लागि गुणस्तरीय उत्पादन सामाग्री, अर्गानिक मल, प्राविधिक र प्रविधिको पहुँच, व्यवसायिक क्षमताको विकास, गुणस्तर प्रमाणीकरणका लागि सुलभ सेवा, बजारको खोजी, अन्तराष्ट्रिय बजार, मेलाम होत्सव र व्यवसायिक इभेन्टहरुमा सहभागिता, सम्बन्ध स्थापना र विस्तारका क्षेत्रमा ध्यान दिनु पर्ने देखिन्छ ।
नेपाली अर्थोडक्स चियालाई विश्व बजारमा चिनाउन र प्रवद्र्धन गर्नगुणस्तरीय चिया उत्पादन र उत्पादकत्व वृद्धिका लागि अर्गानिक मल, विषादि र प्रविधिको सहज उपयोग, सहुलियत पुर्ण दीर्घकालिन र अल्पकालिन कर्जाको व्यवस्था,सुलभ अर्गानिक प्रमाणीकरण सेवा, गुणस्तरीय प्रशोधन, सुरक्षित भण्डारण, अन्तराष्ट्रिय बजारमा उच्च मुल्यमा नेपाली चियाको आफ्नै ब्राण्ड र लोगो विक्रि तथा बजार प्रवद्र्धन र विस्तार, तथाआन्तरिक र निर्यात बजार प्रतिस्पर्धात्मक ढंगले सहभागी बन्न सामूहिक बजारीकरणको आवश्कयता रहेको छ ।
यसबाट संलग्न सबैलाई उच्चतम् लाभ र लाभको न्यायोचित हिस्सेदारीलाई सुनिश्चित गर्दै साना किसान उद्यमी, उद्योगीहरुलाई निर्यातकर्ता, अन्तराष्ट्रिय क्रेता, विश्वबजार र उपभोक्ता सम्म सम्बन्ध स्थापित गराउनु अहिलेको आवश्यकता हो । साना किसान, साना मझौला उद्योगहरु यथार्यमा आर्थिक वृद्धि र विकासका भरपर्दा इञ्जिन हुने भन्ने यथार्थलाई हामीले भुल्नु हुँदैन । चियासँग सम्बद्ध केहि उद्योगी, व्यवसायी एवम् संस्थाहरुले व्यक्तिगत या सामूहिक रुपमा केहि प्रयास नगरेका होइनन् । तर यसलाई थप व्यापक, सक्षम र प्रभावकारी ढंगले विस्तार गर्न जरुरी रहेको छ । साथै आन्तरिकबजार र उपभोक्तावीच स्वस्थ, स्वादिलो र मौलिकचलन रुपमाग्रीनटि र अन्यविविधप्रकारका अर्थोडक्स चियाउपभोगको संस्कृति अभिवृद्धि गरी चियाको राष्ट्रियबजार प्रवद्र्धन गर्नेतर्फ अबको ध्यान र प्रयाशहरु केन्द्रित गर्नु पर्दछ ।
बाह्य र आन्तरिक बजार माग अनुरुप मुल्यअभिवृद्धि (ग्रेडिङ, सर्टिङ) ब्लेडिङ, ब्राण्डिङ, प्याकेजिङ तथा बजारीकरणका लागि अहिले राष्ट्रिय चिया तथा विकास बोर्ड एवम् अन्य निकायहरुले तय गरेको माप दण्ड उत्पादक, प्रशोधनधर्ता, प्याकेजर, निर्यातकर्ता तथा अन्य व्यवसायीहरुमा लागू गराउने, नेपाली ब्राण्ड निर्यात बजारमा प्रवद्र्धन गर्ने, व्यवसायिक महोत्सव, प्रदर्शनी र प्रतिस्पर्धाहरुमा सहभागी बन्ने, व्यवसायिक बैठकहरु आयोजना गर्ने, प्रवद्र्धनात्मक सामाग्रीहरु तयार गरी अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रकासन प्रशारण गर्ने, छोटा प्रवद्र्धनात्मक फिल्महरु निर्माण गरी प्रचार गर्ने, वेभसाइटमार्फत अनलाइन ट्रेड प्लेटफर्महरु सञ्चालन गर्ने लगायतका कार्यहरु गर्न सकिने छ ।
यसबाट निर्यात बजारको विविधीकरण तथा बजार प्रतिस्पर्धीपना, मुल्य अभिवृद्धि मार्फत अतिरिक्त लाभ, बजारीकरणको क्षमता बढ्नुका साथै आन्तरिक बजार समेत विस्तार भई नेपाली अर्थोडक्स चियाको बजार सुनिश्चित र दिगो भएको हुने छ ।
अहिले कोरानाभाइरस (कोभिड- १९) का कारण नेपालमा उत्पादन भएको चिया निर्यात गर्न सकिएको छैन । आर्थिक संकटका कारणअन्तराष्ट्रिय बजार माग र क्रेताको अझै टुङ्गो छैन । बजारमा आएको र अझै केहि लामो समय सम्म यस्तै अवस्था रहन सक्ने भएकाले तयारी चियाको सुरक्षित भण्डारण अर्को चुनौती रहेको छ । यसका लागि लामो समय सम्म तयारी चियाको सुरक्षित भण्डारणका लागि उपयुक्त प्रकारको वेयर हाउस आवश्यक पर्दछ ।
एक दुई उद्योगी वाव्यवसायीले मात्रै यसको बन्दोबस्ती र लगानी गर्न सम्भव छैन त्यसैले नीजितथा सहकारी क्षेत्रको सामुहिक लगानीमा सरकारले यसमा साझेदारी र सहजीकरण गर्न आवश्यक देखिन्छ । यसका लागितीनै तहका सरकार, राष्ट्रिय चिया तथा कफी विकास कोर्ड, चिया उत्पादक सहकारीहरुको छाता संस्था केन्द्रीय चियाचिया सहकारी संघ, साना किसान एवम् उद्योगिहरुको क्षेत्रमा क्रियाशिल संस्था स्पेशियाल्टी टि एशोसिएसन नेपाल (स्टान) र यसैको पहलमा शुरु हुन लागेको ब्लेण्डिङ, प्याकेजिङ र सामुहिक बजारीकरणको पहल, नेपाली चिया बजारीकरणको क्षेत्रमा क्रियाशील हिमालयन अर्थोडक्स चिया सहकारी (हिमकुप), हिमालयन अर्थोडक्स चिया उत्पादक संघ (होट्पा), नेपाल चिया संघ, सुर्योदय टि एशोसिएसन लगायत व्यवसायिक संस्थाहरु, नीजि व्यवसायी, किसान, सहकारी र कम्पनीहरुको सामुहिक सहभागिता, लगानी र सहकार्यबाट मात्रै उल्लेखित समस्याहरुको समाधान गर्न सकिन्छ ।
साथै संघीयताको भावना अनुरुप चिया सम्बद्ध निकायहरुको पुनर्संरचना गरी क्षेत्रगत विशिष्टीकरण मार्फत नीतिगत र संरचनागत सुधारको खाँचो समेत चियाको अपेक्षित विकासका लागि जरुरी रहेको छ ।नेपाली चियाको बजार उक्सिदा दिगो आम्दानी, व्यापक रोजगारी र वैदेशिक मुद्रा आर्जन गरी व्यापार सन्तुलन र आर्थिक विकासमा टेवा पुग्ने त छदैछ, अर्थोडक्स चिया सेवनले नेपालीको एउटा मौलिक संस्कृति र चलन मात्रै होइन स्वास्थ्य, स्वाद, स्पूmर्ति एवम् आफ्नै माटो प्रतिको माया र राष्ट्रिय भावना समेत प्रतिविम्बित गर्नेछ ।आशा गरौं, सम्बन्धित सबैको यथोचित् ध्यान पुग्नेछ र नेपाली चिया नयाँ युग तर्फ चाँडै नै फड्को मार्नेछ ।
लेखक कृषि तथा ग्रामीण विकासका क्षेत्रमा कार्यरत छन्

प्रतिक्रिया
सम्बन्धित समाचार