Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

कहिले नअस्ताउने ‘इलाम’

कहिले नअस्ताउने ‘इलाम’

  • नमीन ढकाल
  • शुक्रबार, चैत्र ७ २०७६


कहिले नअस्ताउने ‘इलाम’

इलाम । १९९० को दशकमा पेट्रोलमेक्स बालेर राणा र रैति टिम बिच खेलिएको फुटबलको किस्सा होस् या पानीमा रुझ्दै खेलिएको कराते, माईभ्याली गोल्डकप होस् या फुटबलरको घर, यी सबै इलामका आकर्षण हुन् । इतिहास सम्झदा होस् या वर्तमान नियाल्दा, इलामको खेलकुद गतिविधिले बेग्लै उमंग पैदा हुन्छ । इलाममा हुने बिभिन्न खेलकुदमा देश विदेशका टिमहरुको सहभागिता उत्साहपुर्ण हुन्छ । ‘प्राकृतिक छटाले भरिपुर्ण इलामका लागि खेलकुद अर्को गौरबको बिषय हो ।’
केन्द्रमा मात्र लगानि गर्नु नेपाली खेलकुदको कम्जोरी हो । इलाम र आसपासका क्षेत्रमा खेलकुदमा भएको लगानि हेर्दा त्योकुरा छर्लङ्ग हुन्छ । मोफसलमा छिटपुट प्रतियोगिता आयोजना हुन्छ त्यसै कारणले होला लगानी पनि न्युन हुन्छ । यस्तो अवस्थामा मोफसलका जिल्लालाई खेलकुदमा टिक्नुनै चुनौती हो । जसोतसो प्रतियोगिता धान्ने, जिल्ला स्तरका टिम बनाउने, खेलकुदका सामान्य गतिविधि गर्ने बाहेक जिल्ला स्तरमा नौला गतिविधि देख्न विरलै पाईन्छ । हरेक जिल्लालाई खेलकुदको गरिमा कायम राख्नु पनि चुनौतीको बिषय हो । काठमाडौं र मोफसलमा सुविधा र अवसरमा धेरै फरक छ । तथापि मोफसलको गुण काठमाडौंले तिर्न सक्दैन । तर मोफसललाई स्टारडम र परिपक्वतापछि मात्रै केन्द्रको सुविधा, प्रशिक्षण र अवसर प्राप्त हुन्छ ।
इलामको हकमा भने यो लागु हुँदैन । अभावका बीच पनि इलामले खेलकुद गरिमालाई कायमै राखेको छ । त्यसैले पनि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले इलामलाई खेलकुदको अर्को राजधानीको उपमा दिएको थियो । राखेपले ७ बर्ष अघि इलाम बाट खेलकुद सम्भाव्यताको अध्ययन पनि सुरु गरेको थियो ।
फुटबल र इलाम
इलामको फुटबल इतिहास कम चाख लाग्दो छैन । सुगौली सन्धीपछि सन १८२६ मा दार्जि्लिङ भारतमा गाभिएपछि इलाम र भारतको आउजाउ राम्रो सँग हुन थाल्यो । त्यही बेला ब्रिटिस सेनाको भर्ति गुम पहाडमा भयो । भारतमा काम गर्ने र सेनामा भर्ति भएका नेपाली आउँदा कोसेलीको साथमा भकुण्डो अर्थात फुटबल लिएर आउन थाले । उनीहरुले आफुले सिकेको खेल छोरा छोरीमा पुस्तान्तरण गरे ।
इलाममा फुटबल टिम बनाएरै खेल्ने चलन भने विक्रम सम्वत १९८० को दशकमा शुरु भएको हो । ‘गोरु नारेर खारिएको सेनाको स्वामित्वमा रहेको ठुलो टुडिखेलमा फुटबल खेल टुट्दैनथ्यो ।’ स्थानिय युद्ध प्रसाद बैद्य सँग पुरानो सम्झना छ । इलाममा वडाहाकिमको रुपमा जर्नेलरकर्नेलहरु काठमाडौंबाट आउँथे । राज शमशेर जबरा वडाहाकिम भएर आए । जबरा राम्रो खेलाडी समेत भएकाले फुटबल शुरु हुन सहज भएको थियो । इलामलाई फुटबल सँग परिचय दिलाएको चाहिँ राज शमशेरले हो ।


वि.स. १९९० मा जर्नेल महाबीर शमशेर जबरा वडाहाकिम भएर इलाम पुगे । त्यसपछि फुटबलको रंग बदलियो । उनी फुटबल खेलाडी तथा खेल संयोजक समेत भएकाले बसुन्जेल आफ्नो फुटबल टीम बनाए । उनको टीमसँग फुटबल खेल्न थालेपछि इलाममा धेरै खेलाडीहरु उत्पादन भए । बडा हाकिमहरु स्थानियहरु सँग फुटबल खेल्थे । इलामे टीमलाई वडाहाकिमको टीमले नजितेसम्म खेल जारि रहन्थ्यो । राति भए मैदानको चारैतिर पेट्रोलमेक्स बालेर खेल्ने चलन थियो । ‘वडाहाकिमको टीमले जितेपछि तोप पडकाएर भोजको संकेत गरिन्थ्यो । र दुवै टीमका खेलाडिलाई वडाहाकिमले दरबारमा लगेर भोज खुवाउथे ।’ इतिहासविद युद्ध प्रसाद बैद्यले सुनाए । यहाँको अर्को गौरव गर्न लायक इतिहास ‘इलामको टीम र वडाहाकिम टीम बीचको खेल’ हुनु पनि हो ।


बडाहाकिमले सुरु गरेको फुटबल बिस्तारै फस्टाउँदै गयो । त्यसपछि इलाममा खेलाडी उत्पादन हुन थाल्यो । केही समयको अन्तरालमा इलामले धेरै राम्रा राम्रा खेलाडी पायो । रुपकराज शर्मा नेतृत्वको विश्वकप छनौट खेलेको नेपाली राष्ट्रिय फुटबल टोलीमा इलामका धिरेन्द्र प्रधान (जो एन्फाको महासचिव समेत भए) र गणेश पाण्डे समावेस थिए । त्यसपछि झ्याङ्गिएको फुटबलले लोकबन्धु गुरुङ, सुवास राई जस्ता हस्ति दियो । बिस्तारै नवयुग श्रेष्ठ जस्ता भरपर्दा खेलाडी इलामले जन्मायो । अहिले छिरिङ गुरुङ, मनिष थापा र दर्शन गुरुङको पुस्ता सम्म पुग्दा इलामको फुटबल उस्तै उल्लासमय छ ।
नेपाली फुटबल सँग इलामले प्रत्यक्ष सरोकार राख्छ । २०४० सालमा राष्ट्रिय टोलीमा समावेस भएका मंगेश बस्नेत हुन् या तत्कालीन टोलिमा आबद्ध नवयुग श्रेष्ठ, उनीहरुले इलामको फुटबल संस्कारलाई बुझाउँछन् । इलाममा यतिधेरै स्टार खेलाडीहरु छन् कि काठमाण्डौका धेरै क्लव इलामका खेलाडि बेगर पुर्ण हुँदैनन् ।
माईभ्याली गोल्डकप र इलाम
इलाममा आयोजना हुने माईभ्याली गोल्डकपको चार्म देखेर सबै लोभिन्छन् । फुटबलको अविभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व स्वयमं पनि लोभिन्छ । ‘इलामेको अर्को दशै’ उपमा पाएको माईभ्याली गोल्डकप हेर्न भनेपछि गाउँगाउँबाट दर्शकहरु इलाम भित्र्छन् । फुटबल सुरु हुने बेलामा बजार नै सुनसान हुन्छ । माईभ्याली गोल्डकपमा एकैदिन दर्शकबाट १४ लाख ५० हजार रुपैया भन्दा बढी संकलन भएको छ । १० हजार भन्दा बढी स्थानिय दर्शकले एकै दिन खेल हेरेका छन् । ‘आफनै घरको छतमा बसेर प्रतियोगिता हेरेको टिकट शुल्क तिर्छन इलामेली ।’ माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङ भन्छन् ‘दर्शकको अपार मायाले छैटौ संस्करणसम्म प्रतियोगिता सभ्य र भव्य रुपमा आयोजना गर्न सकेका छौ ।’ खेलमैदानको अभावमा नेपाली सेनाको स्वामित्वमा रहेको टुडिखेलमा गोल्डकप प्रतियोगिता आयोजना हुन्छ । पुर्वाधार अभावलाई सम्वोधन गर्न एन्फाले सूर्योदय नगरपालिकाको करफोकमा एकेडेमिको काम अघि बढाए पनि त्रि–पक्षिय स्वामित्व विवादले अपेक्षा अनुसार गति लिन सकेको छैन । “भनेजस्तो मैदान भैदिएको भए फुटबलले अझै उमंग ल्याउँथ्यो ।” अध्यक्ष चेम्जोङले भने ।


अभावका बिच पनि फुटबल भलिबल, कराते, चेस लगायतका खेलहरु इलाममा आयोजना हुँदै आएका छन् । त्यसो त यी खेलहरु इलाम बाहिर आयोजना गर्न पनि सहज छ । तर इलाम भनेपछि खेलाडीहरुको जोश बेग्लै हुन्छ । ‘आयोजकको व्यवस्थापन र दर्शकको माया नै इलामको सम्पती हो ।’ राष्ट्रिय टोलीका पुर्व कप्तान बिराज मर्हजन भन्छन् ‘ इलाममा फुटबल खेल्ने भनेपछि बेग्लै उत्साह हुन्छ । भरिभराउ दर्शकका माझमा आउने हुटिङ र आयोजकको व्यवहारले सधै इलाम आइरहन मन लाग्छ ।’
कराते र इलाम
हरेक बर्ष इलामको पुर्वी भेगमा अन्तराष्ट्रिय स्तरको कराते आयोजना हुन्छ । जहाँ नेपाल, भारत, भुटान, बंगलादेशका खेलाडीहरुको सहभागिता रहन्छ । विडम्बना, आयोजनाका लागि गतिलो पुर्वाधार छैन । गत चैतमा सातौ संस्करणको अन्तराष्ट्रिय प्रतियोगिता पर्यटकिय क्षेत्र ‘श्री अन्तु’को खुल्ला मैदानमा आयोजना गरिएको थियो । दुर्भाग्यवश पानी पर्यो । खेलाडीहरु रुझेरै सहभागी भए । छैटौ संस्करणमा सहभागी भएका १ सय बढी खेलाडी र उनका अभिभावकलाई समेत आयोजकले व्यवस्थापन गरेर राख्यो ।


२०४५ सालमा योगेश चाम्लिङको पहलमा इलाममा कराते भित्रिएको हो । उनकै प्रशिक्षणमा अहिले इलामका २ सय भन्दा बढी खेलाडीले दक्षिण एसियाका विभिन्न प्रतियोगितामा सहभागीताजनाएर मेडल भित्राएका छन् । गतिलो पर्वाधार नहुँदा पनि इलामले कराते छोडेको छैन । झनझन उर्जावान खेलाडी उत्पादन गर्दैछ ।
महिला फुटबलमा इलाम
महिला फुटलमा पनि इलामको योगदान मुल्यवान छ । इलामको पुर्वी भेगको फिक्कल–पशुपतीनगर क्षेत्रबाट महिला फुटबल उदय भयो । यस क्षेत्रमा तत्कालिन समयमा महिलालाई फुटबल खेल्न समाजिक परिवेस अनुकुल थियो । त्यसको फाईदा धेरै महिलाले लिए । कतिजना राष्ट्रिय स्तरका खेलाडी बने भने कतिपयले लामो समय सम्म फुटबललाई साथ दिन सकेनन् ।

रमा सिंहको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा इलामका जनु खड्का, संगीता रावत र शोभा राई, जमुना पाण्डे समावेश थिए । उनीहरु बाट अन्य खेलाडीलाई पनि प्रेरणा मिल्यो । २०४० साल आसपास महिला फुटबलका लागि इलाम खेलाडीको हवनै थियो । २०४३ सालमा राष्ट्रिय महिला फुटबलमा पहिलो भएको मेचीको फुटबल टोलीमा १२ जना इलामेली थिए । त्यही क्रमलाई पछयाउदै रञ्जना दर्जी, संरचना प्रधान, एन्जिला सुब्बा लगायतले महिला फुटबलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिसकेका छन् ।
चेस र अन्य
चेसमा नेपालबाट अन्तराष्ट्रिय आयोजकको मान्यता पाउने एक मात्र विदुर गौतमको गृह जिल्ला पनि इलाम हो । उनकै पहलमा ३ बर्ष अघि इलाममा १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा चौथो महिला राष्ट्रिय चेस च्याम्पियनसिप आयोजना भयो । जहाँ नेपालका चर्चित फिडे मास्टरहरुको सहभागीता थियो ।
विदुरकै पहलमा गृह क्षेत्र मंगलबारेमा स्थापना भएको गजुरमुखी चेस क्लबले राष्ट्रिय स्तरमा आयोजना हुने चेस प्रतियोगितामा इलामे खेलाडीहरुलाई सहभागीता गराउदै आएको छ । विदुरले आफनै लगानीमा स्व. आमा टंकमाया गौतमको स्मृतिमा प्रदेश स्तरिय चेस आयोजना गर्दछन् । इलाममा राष्ट्रिय स्तरकै अर्को चेस प्रतियोगिता आयोजनाको तयारी हुँदै गरेको विदुर बताउँछन् ।


नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई ७ बर्षसम्म नेतृत्व गरेकी बिनिता बुढाथोकी र बास्केटबल खेलाडी बिजय वुर्जाको गृह जिल्ला पनि हो इलाम । नेपाली राष्ट्रिय बास्केटबल टिमका कप्तान सदिश प्रधानको पनि सम्वन्ध इलामसंग छ । उनी फुटबलर धिरेन्द्र प्रधानका छोरा हुन् । सन २०१२ को लन्डन ओलम्पिकमा एथ्लेटिक विधामा नेपालको प्रतिनिधित्व गर्दै मार्चपामा झन्ड बोक्ने प्रमिला रिजाल पनि इलामकै हुन् । उनको स्थायि घर माई नगरपालिका–१० लुम्बक हो ।
प्रदेशमा हुने फुटबल, उसु, कराते लगायतका विधामा इलाम उत्कृष्ट स्थान हासिल गर्दै आएको छ ।

सदिश प्रधान

सदिश प्रधान

देशका अन्य जिल्लामा संघहरु दर्ता भएर निष्क्रिय हुने क्रम तिव्र हुँदा इलाममा रहेका ११ वटा संघले सक्रिय रुपमा काम गरिरहेका छन् । कुनै पनि संघ निष्क्रिय छैनन् । उसु संघका जिल्ला अध्यक्ष भिम पौडेल भन्छन् ‘इलाममा खेलकुदको माहोल छ । अभावका बीच पनि प्रतियोगिता रोकिएका छैनन् । प्रदेश नम्बर एकमा हुने जिल्ला स्तरिय होस या नगर स्तरिय खेलकुद, इलामले सधै उत्कृष्ट स्थान हासिल गर्दै आएको छ । इलामका खेलाडीले देशलाई पदक दिलाएका छन् त्यो इलामको गौरवको पाटो हो ।’ गत मंसिरमा सम्पन्न भएको १३ औ दक्षिण एसियाली खेलकुदमा इलाम स्थायी घर भएका ६ जना खेलाडीले पदक प्राप्त गरे । जसमा २ स्वर्ण, १ रजत र ३ कास्य समावेश थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार