Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

नेपाललाई ओमानसंग बदला लिने अवसर

नेपाललाई ओमानसंग बदला लिने अवसर

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ २६ २०७६


नेपाललाई ओमानसंग बदला लिने अवसर

विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले तेस्रो खेलमा आज (आईतबार) ओमानसंग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । तीन दिन अघिमात्र नेपालले ओमानसंग खेल्दै सिरिजको सुरुवात गरेको थियो । सो खेलमा नेपाल १८ रनले पराजित भएको थियो । नेपाल पहिलो खेलको बदला लिन चाहान्छ । ओमान शीर्ष स्थानमा पुग्न नेपाललाई पराजित गर्ने लक्ष्यमा हुनेछ । ओमान लिगको दोस्रो स्थानमा रहेको छ । उसले ८ खेलमा ६ जितका साथ १२ अंक जोडेको छ । समान अंक रहेको अमेरिका नेट रनरेटमा ओमान भन्दा अघि छ ।
यता नेपाल भने २ खेलमा १ जित निकाल्दै २ अंक सहित तालिकाको पुछारबाट दोस्रोमा छ । नेपालले ओमानलाई पछिल्लो ७ वर्षदेखि पराजित गर्न सकेको छैन । हालसम्म नेपाल र ओमान एकदिवसीयमा ८ पटक आमने सामने भएका छन् । जसमा नेपालले सुरुवाती तीन खेल जितेको छ । पछिल्ला ४ खेलमा नेपाल पराजित छ । ओमानविरुद्ध मैदान उत्रदै गर्दा अघिल्लो खेलमा गरेको गल्ती नदोहर्याउने योजना रहेको कप्तान ज्ञानेन्द्र मल्लले बताए ।
’अघिल्लो खेलको गल्ती नदोहर्याउने र अझ राम्रो कसरी गर्न सकिन्छ भन्ने छ ।’ मल्लले भने, ’ब्याटिङ थप मेहनत गर्ने, अझ मध्यक्रममा राम्रो गर्न नसकेकाले त्यसमा धेरै ध्यान दिनेछौं ।’ सिरिजमा नेपाल र ओमानको यो अन्तिम खेल हो । एक सिरिजमा एक टिमले ४ खेल खेल्ने छन् ।
७ राष्ट्र सम्मिलित लिग अन्तर्गत हरेक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिगको अन्त्यमा शीर्ष तीनमा स्थान बनाउने राष्ट्रले सन् २०२३ को विश्वकप छनोटमा सिधै सहभागिता जनाउने अवसर पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार