माई । इलामको माई नगरपालिका– सितलीमा आजबाट सुरु भएको नकाउट फुटबल प्रतियोगितामा आयोजक सितली फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको उदघाटन खेलमा माई किनार युवा क्लबको चुनौती सडनडेथमा ७–६ ले पन्छाउँदै आयोजक क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समय दुवै टिमबाट गोल हुन नसकेपछि सडनडेथबाट निर्णय लिइएको छ । खेलको म्यान अफ दि म्याच आयोजकका विकास बराल घोषित हुँदै ट्रफी प्राप्त गरे ।

प्रतियोगिता अन्र्तगत भोली प्रि–क्वाटरफाइनलका २ खेलहरु हुनेछन् । पहिलो खेलमा जामुनखाडी सिमसार झापाले दिपज्योती युवा क्लबको सामना गर्नेछ भने दहिझोडा एफसी झापाले सहिद स्मारक सुखानीसँग प्रतिस्पर्धा गर्दैछ । इलाम र झापाका १६ टिम सहभागी रहेको प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी व्यक्तिगत विधाका खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजक समितिका विशाल खड्काले जानकारी दिए । क्लबका अध्यक्ष मनिन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी माई नगरपालिका प्रमुख दिपककुमार थेवे रहेका थिए । प्रतियोगिताको फाइनल खेल आगामी माघ २५ गते हुनेछ ।