इलाम । आगामी कार्तिक १६ गतेबाट हुने हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिताको तयारी पुरा भएको छ । ५ वटा ए डिभिजनका क्लब सहित १० वटा टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको तयारीको बारेमा आयोजक जायन स्पाेर्टस क्लबले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । यसअघि असोज ११ गतेबाट ८ वटा क्लबलाई सहभागी गराएर प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको थियो । तर प्रतियोगिता हुनुभन्दा २ दिन अघि मौसम प्रतिकुल भएपछि स्थगित भएको थियो । त्यसपछि दोश्रो पटक आयोजकले अखिल नेपाल फुटबल संघ(एन्फा) सँग कात्तिक २ गतेदेखि प्रतियोगिता आयोजना गर्न समय माग गरेको थियो ।
एन्फाले सो समयमा अन्यत्र प्रतियोगिता भएको हुनाले समय दिन नसकेपछि कात्तिक १६ को मिति तय भएको हो । एन्फासँग भएको सहमतिसँगै कात्तिक २५ गते फाइनल हुने गरी प्रतियोगिता हुन लागेको छ । प्रतियोगिताका लागि लगभग ५ हजार दर्शक बस्न मिल्ने बाँसको प्यारापिट निर्माण गरिएको आयोजक क्लबका खेल संयोजक अभिनाश राईले जानकारी दिए । उनले १० हजार दर्शकले खेल अवलोकन गर्न सक्ने गरी व्यवस्थापन गरिएको बताए ।
उद्धघाटन खेलमा आयोजक र सिक्किम भिडदै
डोमालाल राजवंशी रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र सिक्किम आक्रामक एफसी आमने–सामने हुने भएका छन् । यसअघि पहिलो पटक तय गरिएको प्रतियोगिताको मिती र खेल तालिकामा आयोजक टोली थिएन् । प्रतियोगितामा आयोजक जायोन स्पोर्टस क्लब, सिक्किम आक्रामक, संकटा क्लब, मोलवे आसाम, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देहीको सहभागिता रहनेछ ।
थ्रीस्टारको स्थानमा हिमालयन शेर्पा खेलाउन परामर्श
यसअघि थ्री स्टार क्लबले सहभागिता जनाउने प्रतिवद्धता जनाए पनि शेख कमाल गोल्डकपको लागी भनेर सहभागीता फिर्ता लिएको थियो । तर शेख कमालमा समेत थ्रीस्टारले सहभागीता जनाएन । थ्री स्टारको ठाउँमा हिमालयन शेर्पा क्लबसँग परामर्श भइरहेको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले बताए । प्रतियोगिताको लागी हिमालयन शेर्पाको सहभागीता न्युन रहेको देखिन्छ । शेर्पाको तयारी कम भएको कारण प्रतियोगितामा सहभागीता अन्यौल रहेको क्लब हेर्दै आएका बिजेन्द्र पुडासैनीले बताए ।
नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्कालाई आयोजक क्लबले ब्राण्ड एम्बेसेडर बनाएको छ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही १५ हजार रुपैंयाँ नगद पुरस्कार पाउँने छन् । गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ ।
झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ र बिर्तामोडका युवा व्यवसायी सजेश सिवाकोटीले उक्त मोटरसाइकल प्रायोजन गरेका हुन् । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपविजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए ।