ताप्लेजुङ : ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकप अन्र्तगत पहिलो क्वाटरफाइनलमा रेडहर्ष क्लब इलामले फिदिम स्पाेर्टिङ क्लब पाँचथरको सामना गर्दैछ । खेल अपराहन्न २ बजे हुनेछ । प्रतियोगिता अन्र्तगत शुक्रबार भएको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । टाई बेकरमा घरेलु टिम ताप्लेजुङ ११ (आयोजक) लाई ५–४ को गोल अन्तरले पराजित गर्दै पाहुना टिम मोरङ विजयी भएको हो । निर्धारित समय दुवै टिमले गोलरहित वरावरी खेलेका थिए ।
टाइव्रेकरमा ताप्लेजुङका विकास शेर्पा गोल गर्न चुक्दा आयोजकको यात्रा प्रि–क्वाटरबाटै अन्त्य भयो । घरेलु टिमका लागि क्रिस राई, सन्तोष लिम्बू, मनिराज लिम्बू र सुशिल लिम्बूले गोल गरे । मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र शंकर राईले गोल गरे । खेलको म्यान अफ दि म्याच मोरङका खेल क्याप्टेन सूर्य श्रेष्ठ घोषित भएका छन ।
शुक्रबारको खेलमा आयोजक टिम पराजित भएसँगै ताप्लेजुङका दुवै टोली पहिलो चरणबाटै बाहिरिएका छन । यसअघि बिहीबार भएको खेलमा रेडहर्स इलामसँग पोमू केछाङ ताप्लेजुङ ३–० गोल अन्तरले पराजित भएको थियो ।