माईः इलामको माई नगरपालिकामा राष्ट्रपति रनिङ् शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएकोछ । नगर क्षेत्रका १३ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगितामा १५ वटा इभेन्टमा छात्र र छात्राको सहभागीता रहेको थियो । १२ स्वर्णका साथ कन्काई मावि माई नगरपालिका–२ सितली प्रथम भएको छ । ६ स्वर्णका साथ न्युलाइट मावि माई नगरपालिका–२ दोश्रो, ५ स्वर्णका साथ हिमालयन मावि माई नगरपालिका–१० तेश्रो भएको छ । त्यसैगरी ४ स्वर्णका साथ जनता मावि माई नगरपालिका–१० चौथो भएको छ ।
लक्ष्मी आर्दश मावि माई नगरपालिका–८, सरस्वती मावि माई नगरपालिका–५ र नेपाल एकाडेमी माई नगरपालिका–४ ले १÷१ स्वर्ण प्राप्त गरेका छन । प्रतियोगितामा बिजयी बनेका विद्यालय र विद्यार्थीहरुले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्नेछन । असार २ र ३ गते संचालन भएको प्रतियोगिताको माई नगर प्रमुख दिपककुमार थेवेले भलिबल सर्भिस गर्दै उद्धघाटन गरे ।
राष्ट्रपति रनिङ शिल्ड मुल व्यवस्थापन समितीको आयोजनामा भएको प्रतियोगितालाई व्यवस्थित बनाउन डिल्लीराम मगरको संयोजकत्वमा खेलकुद संचालन उपसमिती बनाइएको थियो । भलिबल खेलमा राजकुमार खाती र बिजय लामाले निर्णायकको भुमिका निर्वाह गरेका थिए । त्यसैगरी कवड्डीलाई रोम राई र डिल्लीराम मगरले निर्णायक बनेर संचालन गरेका थिए ।
प्रतियोगिताको सवै इभेन्टमा सहभागी खेलाडीहरुलाई आयोजक समितीले खाजाको व्यवस्था गरिदिएको मुल आयोजक समितीका सहसचिव एवम कन्काई माविका प्रधानाध्यापक हरिप्रसाद पौडलेले जानकारी दिए । जुनियर रेडक्रस सर्कलले प्राथमिक उपचार र स्वयमसेवकको भुमिका निर्वाह गरेको थियो ।

