काठमाडौं । भारतीय टेलिभिजन जी टिभीको संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ को फाइनल आइतबार राति हुँदैछ । फाइनलमा नेपाली दुई बालक आयुष केसी र प्रितम आचार्यले भारतीय चारजनासँग प्रतिस्पर्धा गर्दैछन् । आयुष केसी सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ ठोकर्पा स्थायी घर भई भक्तपुरको ठिमीमा अस्थायी रुपमा बस्छन् भने प्रितम आचार्य सुनसरीको इटहरी उपमहानगरपालिका–५ का बासिन्दा हुन् ।
प्रतिस्पर्धीहरूको सांगीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा एक साताअघि केसी र आचार्यसहित ६ जना फाइनलका लागि चयन भएका हुन् । आयुष र प्रितमका साथमा भारतीय बालिकाहरू अनुष्का पात्रा, सुगन्धा दाते, आस्था दास तथा भारतीय बालक महम्मद फैज प्रतिस्पर्धामा छन् । सेमिफाइनलमा नौजना सहभागी थिए । गत फेब्रुअरी ९ बाट सुरु भएको सांगीतिक प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकालाई सहभागी गराइएको छ । उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिसन, मेगा अडिसन हुँदै अहिले फाइनल राउन्डमा पुगेका हुन् ।
सेमिफाइनल राउन्डमा निर्णायक शानले फाइनल राउन्डका लागि सबैभन्दा पहिला प्रितमको नाम लिएका थिए भने निर्णायक अमाल मल्लिकले आयुषको नाम अन्तिममा लिएका थिए ।