Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

केरा खेतीमा गम्भारो रोगका कारण किसान चिन्तामा

केरा खेतीमा गम्भारो रोगका कारण किसान चिन्तामा

  • गंगा पराजुली
  • शनिबार, बैशाख २८ २०७६


केरा खेतीमा गम्भारो रोगका कारण किसान चिन्तामा

पशुपतिनगर । व्यावसायिक केरा खेती हुँदै आएको इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा रोगको प्रकोप फैलिएपछि किसान चिन्तित भएका छन् । कालिखोलाको केरा नाम लिएपछि काठमाडौँको कालिमाटि तरकारी बजारमा पनि लोकप्रिय रहेको खेतीमा गम्भारो रोग फैलिएपछि किसान समस्यामा परेका हुन् । सरकारी क्षेत्रबाट प्राविधिक सहयोगको अभावमा किसानले समस्या भोग्नुपरेको माई नगरपालिका ३ मुसेटारका तेजबाहादूर घिमिरेले बताउनुभयो ।
दक्ष प्राविधिकको अभावमा किसानका केरा बगानहरु गम्भारो रोगले सखाप हुँदै गएको र केरा बिक्रि गर्दा पनि सन्डिकेटको समस्या भोग्नु परेको माई नगरपालिका २ का प्रविण ढाकालले बताउनुभयो । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । माईनगरपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाको तल्लो क्षेत्रमा बढी केरा खेती हुँदै आएको छ । तर, प्राविधिक सहयोग नपाउँदा यसलाई व्यावसायिक रूप दिन नसकिएको त्यहाँका किसानको गुनासो छ । त्यस क्षेत्रमा तीन हजार बढी किसानले केरा खेती गर्ने गरेका छन् । त्यहाँ उत्पादित केरा दिनहुँ झापाको बिर्तामोड, दमक हुँदै काठमाडौंको कालिमाटी बजारमा पुग्ने गरेको हो । यहाँ उत्पादित अधिकासं केरा झापाको अर्जुनधारा नगरपालिका स्थित शनिश्चरेमा संकलन भई काठमाडौँ पठाउने गरिएको माई नगरपालिकाका मेयर दिपक थेवेले बताउनुभयो । दक्षिणि क्षेत्रमा उत्पादित केरा माईनगरपालिका–५ ‘कालीखोलाको केरा’ नामले राजधानीमा पनि लोकप्रिय बनेको छ ।
केरा खेती गर्दा आम्दानीका साथसाथै अन्य बोट विरुवाको संरक्षणसमेत हुने भएकाले किसान केरा खेतीमा आर्कषण हुँदै गएका छन् । मलजल र प्राविधिक सेवा नपाउँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । स्थानीय किसानले चिनीचम्पा, मालभोग, धुस्रे, झप्री, जहाजी जातका केरा मिश्रित रूपमा खेती गर्ने गरेका छन् । तर, सरकारीस्तरबाट प्राविधिक सहयोग नपाउँदा केराको बोट नै सुक्ने र गम्भारो रोगका कारण मिहिनेत अनुसारको आम्दानी लिन नसकेको किसान सन्तराम योङ्हाङ्गले बताउनुभयो । तत्कालिन जिल्ला कृषि विकास कार्यालयले २ वर्षअघि मोरङको कानेपोखरीबाट २ हजार उन्नत जातको रोबेस्ट्रा जातको केराका विरुवा ल्याएर किसानलाई वितरण गरे पनि त्यसपछि मलजल र केरा खेती प्रवद्र्धनको कार्यक्रम नल्याएकाले समस्या उत्पन्न भएको कृषि सेवा केन्द्र माई नगरपालिकाका प्रमुख अनिलकुमार तिम्सिनाले बताउनुभयो ।
चुरे क्षेत्रमा केरा खेतीको उच्च सम्भावना भएपछि चालु आर्थिक वर्षदेखि माई नगरपालिकाले आफ्नो नगरपालिकाको तस्रो खेतीमा केरालाई राखेको छ । केरा खेतीलाई नगरपालिकाका किसानको तस्रो आम्दानीको श्रोतमा राखेर चालु आर्थिक वर्षदेखि प्रवद्र्धनको काम शुरु भएको माई नगरपालिकाका प्रमुख दिपक थेवेले बताउनुभयो । दक्षिणि क्षेत्रको माटो हावापानी केरा खेतीका लागि अत्यन्तै राम्रो छ , वहाँले भन्नुभयो–‘ हामी ८ सय मिटर माथि कफि, तल्लो क्षेत्रमा सुपारीसँगै केरा खेतीको प्रवद्र्धनका लागि विज्ञको टोली बनाएर अध्ययन गरिरहेका छौँ । प्रारम्भिक अध्ययनबाट केरा खेतीमा गम्भारो रोग नियन्त्रण गर्नुपर्ने र झापाको शनिश्चिरेमा रहेका व्यपारीबाट भएको बजारीकणको सेन्डिकेट अन्त्यका लागि आफै अक्सन मार्केट खोल्ने योजना बनाएको प्रमुख दिपक थेवेले जानकारी दिनुभयो ।
माई नगरपालिकाले वडा नम्बर ४ स्थित शुक्रबारेमा कृषि बजारको अक्सन मार्केट बनाउने र प्रशोधन केन्द्र खोलेर प्याकेजिङ्ग सम्मको काम गर्ने योजना बनाएको छ । झापाको अर्जुनधारा स्थित शनिश्चिरेमा व्यपारीहरुको सेन्डिकेट तोड्न जिआई जेटको सहयोगमा अक्सन बजार खोल्ने र ड्रायर बनाउने काम चालु आर्थिक वर्षमा हुने प्रमुख दिपक थेवेको भनाइ छ ।
शनिश्चिरेमा व्यपारीले भनेको दाममा केरा दिएन भने कुहिने अवस्था आउँछ वहाँले भन्नुभयो व्यापारीको सेन्डिकेट तोड्ने काम यसै आर्थिक वर्षदेखि गर्छौँ ।
केरा खेती गर्दै आएका किसानहरुले भने उन्नत जातको बिरुवा, मलजल, प्राविधिक सहयोग र केरा खेती प्रवद्र्धनको कार्यक्रम ल्याउन आग्रह गरेका छन् । केरामा लाग्ने विभिन्न रोगका कारण किसानले भनेजस्तो आम्दानी नगरेका कारण रोग नियन्त्रणको काम तत्काल हुनुपर्ने किसान तेजबहादूर घिमिरेले बताउनुभयो । पानी पर्याप्त नभएका झोडा क्षेत्रमा जंगलसरह केराका बगान दक्षिणि क्षेत्रमा प्रशस्त भेटिने गरेका छन् । केराखेतीलाई पानीसमेत त्यति आवश्यक नपर्ने भएकाले केरा खेती दक्षिणि इलामका ३ स्थानीय तहमा फस्टाउने गरेको छ । यहाँको केराले तराईका सहरमा पनि बजार पाउने गरेका छन् । स्थानीय सरकार गठन भएपछि झापाको खुदुनाबारीबाट दानाबारी सम्मको सडक ग्राभेल भएपछि नियमित सवारीसाधन चल्न थालेकाले उत्पादन राजधानी र तराईका बजारमा पु¥याउन सहज भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार