काँकडभिट्टा । टाइव्रेकरमा जित निकाल्दै नेपाल पुलिस क्लब काँकडभिट्टामा जारी मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । पुलिसले सिएमजी संकटाको चुनौती ४–३ गोल अन्तरले पन्छाएको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएको थियो । पुलिसका मानबहादुर तामाङले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ७२ औँ मिनेटमा संकटाका गोलरक्षक राजाबाबु थापाबाट रिबाउण्ड भएको बललाई उनले जाली चुमाए । अन्तिम ५ मिनेटमा पुलिसले अग्रता जोगाउन नसक्दा जितका लागी टाइव्रेकरसम्म पुग्नुप¥यो । खेल ८७ औँ मिनेटमा संकटाका लागी फोफोना फोडेले हेडरबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । काउण्टर एटेक बललाई हेड मार्फत फोडेले जाली चुमाएका हुन ।
टाइव्रेकरमा पुलिसको जितका अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका गोलरक्षक रोशन खडका नायक बने । उनले संकटाका २ प्रहारलाई बचाएक थिए । फाइनलको यात्रा तय गर्न टाइब्रेकरमा प्रहरीका तर्फबाट अजित भण्डारी, भरत शाह, तिर्थबहादुर राना र हरि कठायतले गोल गरेका थिए । प्रहरीकै सुमन लामाको प्रहारलाई गोलरक्षक राजाबाबु थापाले बचाए ।
यता संकटाका अमित तामाङ, टम्पी अर्नेस्ट , दिपेश आले मगरले गोल गरे । रोमन लिम्बू र लक्ष्मण रुचालको प्रहारलाई गोलरक्षक खड्काले ंउत्कृष्ट बचाउ गरेपछि संकटाको फाइनल पुग्ने सपना अधुरै रहयो । जितसंगै पुलिसले कम्तीमा ५ लाख १ हजार रुपैया सुरक्षित गरेको छ । खेलमा दुवै टिमले पाएका केही राम्रा अवसरहरु सदुपयोग गर्न सकेनन् । खेलको ५ औँ मिनेटमा संकटाका सुबास गुरुङले पाएको पहिलो अवसर गोलपोष्ट नजिकबाट बाहिरियो । १७ औँ मिनेटमा विदेशी खेलाडी इकेने क्रिशियनको बाइसाइकल किक पोष्ट माथिबाट बाहिरियो । ४१ औँ मिनेटमा फोफोना फोडेको हेडर गोलरक्षक शत्रुधन चौधरीको हातबाट फुत्एिको बललाई क्रिसियनले सदुपयोग गर्न सकेनन् ।
खेलको १९ औँ मिनेटमा संकटाका गोलरक्षक राजाबाबु थापाको हातबाट फुत्किएको बललाई पुलिसका सुमन लामा सदुपयोग गर्न सकेनन् । २१ औँ मिनेट प्रहरीका रवि पासवानको क्रस रेजिन सुब्बाले भेटन नसक्दा अग्रता बनाउने मौका गुमायो । २५ औँ मिनेटमा रेजिनको प्रहार संकटाका गोलरक्षकले मुस्किलले बचाए । ५९ औ मिनेटमा रविको प्रहार संकटाका गोलरक्षक राजाबाबुले पञ्च गरेर बाहिर पठाइदिए । ६० औँ मिनेटमा सुमन लामालाई फाउल हानेपछि संकटाका क्रिसियनले पहेँलो कार्ड पाए । ७९ औ मिनेटमा संकटाका दिपेश आले मगरले पहेलो कार्ड पाए । पुलिसका मानबहादुर परियार खेलको म्यान अफ दि म्याच चुनिदै नगद ११ हजार प्राप्त गरे । बिहिवारको अन्तिम सेमीफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन विभागिय टिम त्रिभूवन आर्मी र रुस्लान थ्रीस्टारबिच प्रतिस्पर्धा हुुदैँछ ।