इलाम । संखुवासभाको सदरमुकाम चैनपुरमा जारी प्रदेश नं १ स्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगितामा सुर्योदय नगरपालिका इलामले बिजयी सुरुवात गरेको छ । अन्तिम क्वाटरफाइनल खेलमा तेह्रथुमको म्याङलुङ नगरपालिकालाई २–० गोल अन्तरले हराउँदै सुर्योदयले सेमीफाइनलमा स्थान बनाएको हो । सुर्योदयको जितमा खेलको ५४ औ र ७४ औ मिनेटमा शेखर राईले गोल गरेका थिए । फाइनल प्रवेशका लागी सुर्योदय नगरपालिकाले संखुवासभाको चैनपुर नगरपालिकाको सामना गर्नेछ ।
चैनपुरले पाचखप्पन नगरपालिकलाई हराउँदै सेमीफाइनलमा स्थान बनाएको छ । त्यसैगरी हिजो नै सम्पन्न अर्को खेलमा मोरङको उर्लाबारी नगरपालिकाले मादी नगरपालिकालाई टाइव्रेकरमा ३–१ गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ । चैनपुर रङ्गशालामा जारी प्रतियोगितामा प्रदेश १ का १३ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५, द्वितीय हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३ र तृतीय हुने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कृष्ट गोल रक्षकलाई १० हजार म्यान अफ द म्याच घोषित खेलाडीलाई प्रत्येक खेलमा ५ हजारका दरले पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ ।