पशुपतिनगर । लघु जलविद्युत आयोजना बिग्रिएर आर्थिक भार थपिएपछि पश्चिमि इलामका बासिन्दाले केन्द्रिय विद्युत प्रशारण लाइन विस्तारको माग गरेका छन् । दुर्गमका गाउँ उज्यालो बनाउन स्थापना भएका लघु जलविद्युत पटक पटक बिग्रने र प्राविधिक टोली काठमाडौँ र बुटवलबाट बोलाउनुपर्ने बाध्यता रहेको छ । दुर्गमका साना खोलाबाट विद्युत उत्पादन गरि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट निर्माण गरिएको लघु जलविद्युत आयोजना बिग्रने क्रम बढेपछि उपभोक्तालाई समस्या भएको हो ।
इलामको पश्चिमि फाकफोकथुम र माङ्सेबुङ्ग गाउँपालिकामा केन्द्रिय विद्युत प्रसारण लाइन विस्तार नभएपछि उपभोत्ताको पहलमा लघु जलविद्युत अयोजना संचालनमा आएका थिए । संचालन आएका आयोजनाको मेसिनरि सामग्री पटक पटक बिग्रने र बनाउनका लागि उपभोक्ताले अर्थ संकलन गर्दा हैरान भएको फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लि सुवेलीले बताउनुभयो ।
फाकफोकथुम गाउँपालिकाको थावाखोला लघु जलविद्युत आयोजनामा प्राविधिक समस्या आउँदा पछिल्लो पटक उपभोक्ताले २ हप्तासम्म अध्यारोमा बस्नुपर्यो । आयोजनाको सवस्टेनमा समस्या आउँदा उज्यालो दिने बल्ब मात्रै पड्किएन धेरै उपभोक्ताको टिभि र मोवाइल चार्जरमा ठुलो क्षति पुर्याएको भेसराज पराजुलीले बताउनुभयो । केन्द्रिय प्रशारण नजोडिएका गाउँमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा संचालित आयोजनाबाट उपभोक्ताले सुविधाको सट्टा हैरानी बहोर्नुपरेको हो ।
७ हजार देखि ६० हजारसम्म लगानी गरि घरमा उज्यालो भित्र्याएका उपभोक्ताका लागि आयोजनामा देखिने प्राविधिक समस्याले लघु जलविद्युत आयोजना पाउनु भन्दा धाउनुमा नै सास्ति रहेको छ । लघु जलविद्युत अयोजना निर्माणपछि आउने प्राविधिक समस्या र उपकरण खरिद गर्ने कोष नहुँदा जतिपटक बिग्रन्छ त्यति नै पटक उपभोक्ताले अर्थ संकलन गर्नपर्दा ऋणमाथि ऋणको भार थपिँदै गएको हो । निर्माण हुँदा उज्यालोका लागि ऋण काढेरै रकम बुझाएका उपभोक्ताले प्राविधिक समस्या आएपिच्छे अर्थ संकलन सँगै प्राविधिक टोली काटमाडौँ र बुटवलबाट बोलाउनु पर्र्दा आयोजनामा ऋण थपिदै गएको भेसराज पराजुलीले बताउनुभयो ।
लघु जलविद्युत आयोजना स्थापना गर्दा एक सय वाट विद्युत बाल्ने उपभोक्ताले १५ हजारसम्म समितिलाई बुझाएका छन् । फाकफोकथुम गाउँपालिकामा ४ सय वाट जिद्युत बाल्ने उपभोक्ता समेत रहेका छन् । इलामको फाकफोक थुम र माङ्सेबुङ्ग गाउँपालिमा लघु जलविद्युत आयोजनाबाट एक हजार बढी परिवारले विद्युत उपभोग गर्दै आएका छन् ।
लघु जलविद्युत आयोजनाबाट विद्युत विस्तार भएका गाउँमा चिलाउने, उत्तिस, मलाँतो लगायका स्थानीय जातको रुखका बिरुवाको पोल बनाएकाले अहिले धेरैजसो मक्किएर फेरिरहुनुपर्ने समस्या रहेको छ । लघु जलविद्युत आयोजना निर्माणपछि मर्मत गर्ने कोष नहुने र सामान्य प्राविधिक समस्याका लागि जिल्ला बाहिरबाट प्राविधिक बोलाउनुपर्ने भएकाले ठुलो मर्मत खर्च लाग्दा समस्या भएको उपभोक्ताको गुानासो रहेको छ ।
निर्माण पछि पूर्णरुपमा उपभोक्ताले मर्मत सम्भार गर्न नसक्ने भएकाले केन्द्रिय प्रशारण लाइन विस्तार गर्नुपर्ने स्थानीयको माग छ ।