बिर्तामोड । झापा गोल्डकपको चौथो संस्करणको तयारी अन्तिम भएको छ । फागुन १८ गतेदेखि सुरु हुने प्रतियोगिताको मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम पुगेको जनाएको हो ।काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हबको रुपमा विकसित गराउन आयोजक लागिपरेको दाबी गरिएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने फुटबल प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ ।
गोल्डकपलाई मग मगको साथ
चौथो संस्करणमा आइपुगेको झापा गोल्डकपको यसपटक मुख्य प्रायोजक मनषा थाइ फुडको उत्पादन मग मग तयारी चाउचाउ रहेको छ । पत्रकार सम्मेलनमै मग मगसँग सम्झौता गरिएको थियो । मनषा थाइ फुडका तर्फबाट बुद्धि घिमिरे, झापा गोल्डकपका तर्फबाट अध्यक्ष महेन्द्रकुमार गिरी र झापा ११ एफसीका अध्यक्ष जलकुमार गिरीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।मग मगले यसपटक गोल्डकपलाई नगद ८ लाख र झापा ११ एफसीलाई नगद ५ लाखसहित एक लाखबराबरको खेल सामग्री प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख छ । घरेलु उत्पादन मग मगले गोल्डकप र खेलकुदको विकासका लागि सक्दो सहयोग गर्ने बताइएको छ ।पुरस्कारमा २५ लाख
गोल्डकपको चौथो संस्करण सम्पन्न गर्दा पुरस्कारमा मात्र २५ लाखभन्दा बढी खर्च हुने आयोजकले अनुमान गरेको छ । जसमा मगमग झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने सर्वाधिक गोलकर्तालाई नगद २५ हजार दिइनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १५ हजार रुपैयाँ पाउने गोल्डकपका अध्यक्ष गिरीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यस वर्ष पनि एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।हङकङसहित १० टिम
प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ९ र हङकङको एक गरी १० वटा टिमको सहभागिता रहनेछ । तीन विभागीय टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल र नेपाल पुलिसका साथै मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, मोरङ ११ फुटबल क्लब, रुपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङ नेप्लिज एकाडेमीले सहभागिता जनाउनेछन् ।दुई पुराना खेलाडीलाई सम्मान
अघिल्लो वर्षजस्तै चौथो संस्करणको उद्घाटन समारोहमा पनि झापा जिल्लाका दुई जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने भएको छ । यो सम्मान कार्यक्रमलाई गोल्डकपको हरेक संस्करणमा निरन्तरता दिइने बताइएको छ ।
राजवंशी परिवारलाई नगद
यस वर्षदेखि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । यो रकम प्रत्येक वर्ष गोल्डकप उद्घाटनको दिन प्रदान गरिने अध्यक्ष गिरीले बताए ।
अनलाइन टिकट
गोल्डकपको चौथो संस्करणमा आयोजक समितिले अनलाइन टिकटको व्यवस्था गरेको छ । इ—सेवासँग सहकार्य गरेर आयोजकले एक सय, दुई सय र तीन सय दरका टिकटको व्यवस्था गरेको हो । इलेक्ट्रोनिक्स टिकटको व्यवस्था हुने भएपछि अघिल्लो संस्करणमा जस्तो टिकटको नक्कली प्रतिको अवस्था नआउने आयोजकको विश्वास छ । यो वर्ष पार्किङ र प्रवेशद्वारलाई पनि अझ व्यवस्थित बताइएको छ । टिकट बिक्रीबाट मात्र आयोजकले ३५ लाख संकलन गर्ने लक्ष्य लिएको छ ।
खर्च १ करोड ५ लाख
गोल्डकप सम्पन्न गर्न आयोजकले कम्तिमा एक करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । सर्वाधिक खर्च टिम खर्चमा ३६ लाख रुपैयाँ हुने आयोजकले जनाएको छ ।बचत २५ लाख
गोल्डकपको सम्पूर्ण खर्च कटाएर कम्तिमा २५ लाख रुपैयाँ यसपटक बचत गर्ने आयोजकको लक्ष्य छ । जसमा नयाँ सदस्यबाट ६ लाख २५ हजार र सदस्यता सहयोग शुल्कबाट ८ लाख ७५ हजार संकलन गर्ने बताइएको छ ।
८० लाखको प्रतिवद्धता
झापा गोल्डकपलाई भव्य र सभ्य बनाउन स्थानीय संघसंस्थाहरुले अहिलेसम्म ८० लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको आयोजकले यसअघि नै जानकारी गराएको थियो । अन्य संघसंस्थाले पनि सहयोग गर्ने बचन दिने क्रम जारी रहेको अध्यक्ष गिरीले जानकारी दिए ।