इलाम । डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालको एन्फा यू–२१ टोलीले आज छिरिङ गुरुङको नेतृत्वमा भारतको मेघालयसंग प्रतिस्पर्धा गर्दैछ । मेघालयविरुद्ध एन्फा यू–२१ टोलीको नेतृत्व इलामका छिरिङ गुरुङले गर्नेछन ।एलएनआईपी रंगशालामा मेघालयविरुद्ध प्रतिस्पर्धा गर्ने एन्फा यू–२१ टोलीको सुरुवाती–११ को घोषणा भएको छ । मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भारतीय टोलीविरुद्धको खेलका लागि प्लेईङ सेट निकालेका हुन ।
खेल भारतको गुवाहाटीस्थित एलएनआइपी रंगशालामा नेपाली समयअनुसार पौने २ बजेबाट शुरु हुनेछ । पहिलो खेलमा मेघालयसँग खेल्न लागेको एन्फा टोली रहेको पोल ‘बी’ मा एन्फासहित मेघालय, मोजरुम, मनिपुर, त्रिपुरा र नागाल्याण्ड रहेका छन् । प्रतियोगिताका लागि अभ्यास गर्न पर्याप्त समय नभए पनि टोली लयमा रहेको एन्फा टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले बताए ।“समय छोटो भए पनि प्रतियोगिताका लागि तयारी राम्रो छ । सबै खेलाडीहरुले लिग खेलिराखेको भएर खेलमा कुनै समस्या छैन् । तर, टिम सेट हुन पाएका छैन,” उनले अगाडि भने, “। हामीले पाँच खेल खेल्नु छ । पहिलो र दोस्रो खेलमा सेट नभए पनि तेस्रो खेलदेखि राम्रो टिम बन्छ ।”
११ टिमले प्रतिसपर्धा गर्ने प्रतियोगितामा एन्फा टोलीको लक्ष्य ट्रफी उचाल्ने नै रहेको उनले बताएका छन् । ‘डा टी आओ’ प्रतियोगितामा एन्फा टोलीमा विभिन्न उमेरसमूहमा राष्ट्रिय टोलीमा स्थान बनाइसकेका अनुभवी खेलाडी रहेकाले एन्फा टोलीले ट्रफी उचाल्न सक्ने सम्भावना बलियो रहेको छ । टोलीको बलियो डिफेन्डरका रुपमा कप्तान छिरिङ गुरुङ र असिम भुषाल रहेका छन् । यस्तै, मिडफिल्डिरमा अभिषेक रिजाल र एरिक बिष्ट तथा फरवार्डमा रेजिन सुब्बा रहँदा गोलकिपरमा सोजित गुरुङले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । त्यस्तै, अर्का फरवार्ड राजिव लोप्चनले तथा डिफेन्डर असिम भुषल लगायतले पनि उमेर समूह बाट खेलिसकेकाले अवसर पाउँदा उनीहरुले आफूलाई प्रमाणित गर्ने प्रशिक्षक श्रेष्ठ बताउँछन् ।
नेपाली टोली
गोलकिपर : सोजित गुरुङ
डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, छिरिङ गुरुङ (कप्तान)
मिडफिल्डर : अनिल महर्जन, एरिक विष्ट, नितिन थापा, अभिषेक रिजाल
फरवार्ड : रेजिन सुब्बा, राजिव लोप्चन