इटहरी : आयोजकको चुनौती २–१ ले पन्छाउँदै मनाङ मस्याङदी क्लब दोश्रो मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको अग्रता मनाङले लिएको थियो । पहिलो हाफको ३४ औ मिनेटमा एडेलिया सोमिडेको क्रस पासमा सुजल श्रेष्ठले आफनो टिमको अग्रता कायम राखेका थिए । लिग लिडर मनाङको पोष्टमा निरन्तर आक्रमण बुनेको आयोजकले दोश्रो हाफको १८ औ मिनेटमा खेल बराबरीमा ल्यायो । आयोजकका उमेश राईको हेडर बल क्रस बारमा लागेर गोल भएको थियो । तर दोश्रो हाफको २९ औ मिनेटमा कमल श्रेष्ठले देव्रेबार च्याप्दै गरेको प्रहार गोल भएपछि मनाङ २–१ को स्पष्ट जित निकाल्दै सेमीफाइनल पुग्यो । खेलमा दुवै टिमले केही राम्रा मुभहरु बनाए पनि सदुपयोग गर्न सकेनन् । खेलको पहिलो हाफमा अन्जन विष्टको प्रहारले पोष्टको दिशा लिन सकेन । १३ औ मिनेटमा सोमिडेको बल राइट बार नजिकैबाट बाहिरीयो । ४१ औ मिनेटमा सोमिडेको हेडर बल बारमा लागेर बाहिरिएको थियो । दोश्रो हाफमा समेत मनाङले आयोजकमाथी दवाव कायम राख्दै पोष्ट आक्रमण बुनिरहयो । दोश्रो हाफको ९ औ मिनेटमा मनाङका खेलाडीको प्रहार गोलरक्षक किशोर गिरीले बचाएका थिए । २५ औ मिनेटमा गोलरक्षक किशोर गिरी विट भएको अवस्था सुजल गोल गर्नबाट चुके ।
६ जना राष्ट्रिय खेलाडी सम्मिलित मनाङ बिरुद्ध आयोजकले समेत केही राम्रा मुभहरु बनाएको थियो । खेलको ५ औ मिनेटमा तिर्थ बस्नेतको क्रसलाई उमेश राईले बललाई पोष्टको दिशा दिन सकेनन् । २४ औ मिनेटमा रमेश राजवंशीको प्रहार गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बाहिर पठाइदिएका थिए । ३७ औ मिनेटमा तिर्थ बस्नेत वान भर्सेस वानको अवस्थामा गोल गर्नबाट चुके । दोश्रो हाफको १६ औ मिनेटमा काउन्टरमा टंक बस्नेतको प्रहारलाई गोलरक्षक विशालले निष्तेज बनाइ दिएका थिए ।
खेलपछि प्रतिक्रिया दिँदै आयोजकका टिम मेनेजर कोविदजंग कार्कीले राम्रो खेल्दा खेल्दै पनि पराजित भएको बताए । उनले ए डिभिजन क्लबका २ जना खेलाडीहरुलाई प्रतियोगिताको लागी कलअप गरिएको भएपनि रिलिज नपाउँदा भने जस्तो खेल नभएको बताए । लिग विजेता टोलीसंगको खेलको नतिजाबाट सन्तुष्ट रहेको उनले प्रतिक्रिया दिए । मनाङका प्रशिक्षक फुजा टोपेले टिमको तालमेलका कारणले घरेलु टोली विरुद्ध जित निस्किएको बताए । ‘ नेपाली राष्ट्रिय टोलीका ६ जना खेलाडीहरु हाम्रो टिममा छन । उनीहरुको अपासी तालमेलका कारण जित निकाल्न सक्यो तर अपेक्षा गरिए जस्तो चाही भएन ।’ उनले भने । खेलमैदानका कारण सोचे अनुरुप खेल्न नसकिएको बताउँदै टोपले भने ‘हामीसंग उच्च स्तरका खेलाडी छन तर मैदानका कठिनाइले खेल्न असहज भयो ।’ घरेलु टिम विरुद्ध पहिलो हाफमा अपेक्षा अनुरुपको खेल नभएपनि दोश्रो हाफको प्रर्दशनले जित निस्किएको उनले बताए । आयोजक यसअघि गत संस्करणमा समेत क्वारटफाइनलबाटै बाहिरिएको थियो ।
मनाङ यसअघि शहिद स्मारक लिग र भारतको सिक्किममा सम्पन्न ३८ औ गर्भनर्स गोल्डकपको बिजेता टिम समेत हो । मदन भण्डारीमा लगातार सहभागीत जनाएको मनाङ अघिल्लो संस्करणमा थ्रीस्टारसंग १–० ले पराजित बनेको थियो । प्रतियोगिता अन्र्ततग भोली तेश्रो क्वाटरफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी र डिफेन्डिङ च्याम्पियन थ्रीस्टार आमनेसामने हुँदैछ । यि दुई टोली यसअघि गत संस्करणमा भिडेका थिए । जस्मा टाइव्रेकरमा आर्मी ५–३ ले पराजित बनेको थियो ।