फिक्कल । जागृती दुग्द्य उत्पादक सहकारी संस्था सुर्योदय नगरपालिका–१० आहालेको २० औ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । डिल्लीप्रसाद भट्टराईको अध्यक्षतामा भएको साधारणसभामा वडाध्यक्ष पेमा उगेन लामाको प्रमुख आतिथ्यता र दुग्द्य सहकारी संघ इलामका अध्यक्ष हेमप्रसाद कट्टेलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको अतिथीहरुमा पशु प्राविधिक लक्ष्मीकान्त घिमिरे, वडा सदस्य कालिका थुलुङ, किरात समाज सेवा समितीका अध्यक्ष चित्रबहादुर निहाङ रहेका थिए । प्रारम्भिक सहकारी संस्थाहरुले खेल्नुपर्ने भुमिका तथा नगर र वडाले सहकारीहरुलाई लिन र दिन सक्ने कार्यक्रमहरुको बारेमा प्रमुख अतिथी लामाले प्रष्ट पारेका थिए ।
कार्यक्रमका विशेष अतिथी कट्टेलले सहकारीहरु एकिकरण हुने अवस्था, गुणस्तरिय दुध उत्पादन, मिल्क होलिडे, दुधको उत्पादन मुल्य समायोजनको बिषयमा आफनो धारणा राखेका थिए । भरखरै भारतको गुजरातमा सार्क स्तरिय दुग्द्य तालिम लिएर आएका कट्टेलले नेपाल र अन्य सार्क मुलुकको सहकारीको अवस्थाको बारेमा चर्चा गरे । पशु विमा, पशुलाई लाग्ने रोगहरु तथा त्यसको निराकरणको बारेमा पशु प्राविधिक लक्ष्मीकान्त घिमिरेले प्रष्ट पारेका थिए । कार्यक्रममा सेयर सदस्य तारा घिमिरे र संजोग घिमिरेले समेत आ–आफनो धारणा राखेका थिए ।
२ लाख ५० हजार ७ सय रुपैया सेयर पुँजी रहेको सहकारीले गत आार्थिक बर्षमा ७५ लाख ५५ हजार ७६२ रुपैयाको कारोबार गरी ३२ हजार १ सय ८९ रुपैया नाफा आर्जन गरेको बार्षिक प्रतिवेदन व्यवस्थापक लोकबहादुर चाम्लिङले प्रस्तुत गरेका थिए भने लेखा संयोजक निरबहादुर कुलुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बार्षिक उत्सव समारोहमा गुणस्तर दुध उत्पादन गर्ने खेमबहादुर थुलुङ, सवैभन्दा बढी दुध उत्पादन गर्ने प्रेमबहादुर लिङखिम, नियमित दुध विक्री गर्ने इश्वर ताकुछा, उत्कृष्ट बचतकर्ता शुभकान्त भट्टराई, असल गोठ सुधार तर्फ धिरेन कट्टेल, दुध ढुवानी सहायक विक्रम थुलुङ र सहायक कर्मचारी याम बहादुर निहाङलाई प्रशंसापत्रले सम्मानित गरिएको छ ।